सुदूरपश्चिममा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट उपचार शुरू
सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्लाज्मा थेरापी विधिबाट कोरोना भाइरस संक्रमणको उपचार शुरू भएको छ। सेती प्रादेशिक अस्पतालको कोभिड वार्डमा रहेकी धनगढी उपमहानगरपालिका ५ की ५७ वर्षीया महिलालाई प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरिएको सेती प्रदेशिक अस्पतालका सूचना अधिकारी दिलिप सिंह विष्टले जानकारी दिए।
विष्टका अनुसार उनको परिवारमा उनी लगायत ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। अरूको स्वास्थ्य सामान्य भएकाले घरमै आइसोलेसनमा बसिरहेका छन्। यही १९ भदौमा कोरोना संक्रमण पुष्टि भएका पाँचै जना सोही दिन अस्पताल भर्ना भएका थिए। उनीहरूको ट्राभाल हिस्ट्रि खुलेको छैन।
कोरोना संक्रमणपछि गम्भिर अवस्थामा पुगेकी महिलालाई सेती प्रादेशिक अस्पतालले प्लाज्मा थेरापी विधिबाट उपचार शुरू गरेको छ।
महिलालाई कोरोना संक्रमण मुक्त भएका धनगढी उप-महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले प्लाज्मा थेरापीका लागि रक्तदान गरेका छन्।
महिलाको प्लाज्मा थेरापीमा सेती प्रदेशिक अस्पतालका डा. शेरबहादुर कमर र डा. अशोक चौधरी खटिएका छन् ।