गत माघ–चैतको आर्थिक वृद्धिदर ०.८ प्रतिशतमा सीमित
बन्दाबन्दी शुरु भएको पहिलो महिनामैं देशको अर्थव्यवस्थामा गहिरो संक्रमण शुरु भइसकेको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासिक (माघ–चैतमसान्त) मा देशको आर्थिक वृद्धिदर अघिल्लो वर्षको यही अवधिका तुलनामा ०.८ प्रतिशतले मात्रै बढेको आँकडा केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको छ।
अर्थतन्त्रको यति थोरै वृद्धि पछिल्ला वर्षहरुमा भएको देखिएको थिएन । कोरोना भाइरसको संक्रमण विस्तार रोक्न सरकारले ११ चैतबाट बन्दाबन्दी शुरु गरेको थियो ।
बन्दाबन्दी शुरु हुनुअगाडि नै कोरोना भाइरसले सिर्जना गरेको अप्ठ्यारोका कारण पर्यटन, निर्माणसहितका क्षेत्रमा शिथिलता शुरु भइसकेको थियो। अघिल्लो आर्थिक वर्ष (२०७५/७६) को तेस्रो त्रैमासिकमा देशको आर्थिक वृद्धिदर ६.२ प्रतिशत भएकोसँग तुलना गर्दा गत माघ–चैतमा आर्थिक वृद्धिदर ह्वात्तै खस्किएको देखिएको छ। आर्थिक वृद्धिदर नहुनेको अर्थ आर्थिक क्रियाकलापहरु सुस्त हुनु हो, जसले मानिसहरुको आम्दानी खस्किएको हुनसक्ने देखाउँछ।
केन्द्रीय तथ्यांक विभागले हरेक तीन महिना (त्रैमासिक) मा अर्थतन्त्रको स्थिति कस्तो छ भनी अघिल्लो वर्षको सोही अवधिसँग तुलना गरी त्रैमासिक कुल गार्हस्थ उत्पादनको तथ्यांक निकाल्छ। अघिल्लो वर्षको सोही अवधिका तुलनामा अर्थतन्त्रका वस्तु र सेवाको कुल मूल्य बढेको देखिए आर्थिक वृद्धि देखिन्छ, नत्र आर्थिक वृद्धि ऋणात्मक भएको मानिन्छ। जसअनुसार, गत आर्थिक वर्षको पहिलो त्रैमासिक (साउन–असोज) मा आर्थिक वृद्धिदर ५.४ प्रतिशत थियो।
त्यस्तै, दोस्रो त्रैमासिक (कात्तिक–पुस) मा वृद्धिदर ४.२ प्रतिशत थियो। तर, तेस्रो त्रैमासिकसम्म आइपुग्दा वृद्धिदर ०.८ प्रतिशतमा सीमित भएको हो। पुस दोस्रो साता चीनको वुहानमा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालको वैदेशिक व्यापार, निर्माण, पर्यटन लगायतका क्षेत्रमा नकारात्मक प्रभाव पर्न शुरु गरिसकेको थियो।
चौथो त्रैमासिक (वैशाख–असार) को तथ्यांक भने आइसकेको छैन। तर, यो त्रैमासिकमा आर्थिक क्रियाकलाप ठप्पप्राय रहेकाले आर्थिक वृद्धिदर नकारात्मक भएको अनुमान गरिएको छ।
तथ्यांक विभागले गत वैशाखमा सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले गत आर्थिक वर्ष २०७६/७७ मा आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने आकलन गरेको थियो। तर, बन्दाबन्दी लगातार लम्बिएपछि सो वर्षको औसत आर्थिक वृद्धिदर सो अनुमानभन्दा निकै कम हुने अनुमानहरु गरिएका छन्। यद्यपि, विभागले परिमार्जित लेखा तथ्यांक सार्वजनिक गरेको छैन। जसले गर्दा गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर कति भयो भन्ने वास्तविक तथ्यांक उपलब्ध छैन।
विभागका एक उच्च अधिकारीका अनुसार, आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर शून्य प्रतिशतको वरिपरि छ। ती अधिकारीका अनुसार, आर्थिक वृद्धिदर १ प्रतिशत भन्दा तल हुने पक्का नै छ र तथ्यांकको अन्तिम विश्लेषण गर्दासम्ममा वृद्धिदर ऋणात्मक समेत हुनसक्छ। विगत कयौं वर्षमा नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको थिएन। तर, विभागले आधिकारिक तथ्यांक सार्वजनिक नगरीसकेकाले गत वर्ष आर्थिक वृद्धिदर ऋणात्मक नै भएको हो वा होइन् भन्ने एकीन गर्न सकिएको छैन।
विभागको अर्को तथ्यांकले बन्दाबन्दीको मारमा अर्थतन्त्र गहिरो गरी परेको देखाएको छ। आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासिक (माघ–चैतमसान्त) मा मौसमी प्रभाव समायोजित आर्थिक वृद्धिदर २.७२ प्रतिशतले नकारात्मक (–२.७२ प्रतिशत) भएको छ। यसको अर्थ, दोस्रो त्रैमासिकसँग तुलना गर्दा तेस्रो त्रैमासमा अर्थतन्त्र गहिरो ढंगमा ओरालो लागेको हो। पछिल्ला वर्षहरुमा कुनै त्रैमासिकमा पनि (सोही वर्षको अघिल्लो त्रैमासिको तुलनामा) अर्थतन्त्र यसरी नकारात्मक भएको थिएन।