दुई महीने शिशुलाई कलेजो दिएर बचाउने बुबाको जीवनमा आधारित गीत 'जिन्दगी' सार्वजनिक
बैतडीका दुई महिने शिशु शिवाशं अवस्थीलाई कलेजो दान गर्ने बुबा महेश अवस्थीको वास्तविक जीवनमा आधारित गीत ‘जिन्दगी’ सार्वजनिक भएको छ।
संगीतकार कमला सापकोटाको शब्द, संगीत रहेको ‘जिन्दगी’मा गायक निशान भट्टराईले स्वर दिएका छन्। जन्मीएको १४औँ दिनदेखि बिरामी परेका शिवांसलाई महेशले दक्षिण भारत चेन्नईको 'डा. रेला इन्स्ट्टियुड एन्ड मेडिकल सेन्टर' मा पुगेर कलेजो प्रत्यारोपण गरेका थिए। नेपालमा एक महिनासम्म आईसीयूमा राखेर उपचार गर्दा पनि उपचार नभएपछि महेशले भारत पुगेर कारोड बढी खर्च गरि छोरालाई बचाएका थिए।
"महेश अवस्थीको मर्मस्पर्शी र कहालिलाग्दो संघर्षको कथाले आफूलाई गीत लेख्न उद्येलित बनाएको" संगीतकार कमलाले बताइन्। "गीतमा छोरालाई बचाउनको लागि बाबाले गरेको अकल्पनीय संघर्षलाई देखाएका छौँ", उनले भनिन्।
नेपाली समाजलाई उत्प्रेरणा दिने खालको गीतमा स्वर दिन पाएकोमा गर्वको अनुभुति गरेको गायक निशानले बताए। उनले भने, "स्टुडियोमा यो गीतको रेकर्ड गर्दा नै म निकै भावुक बनेको थिएँ। शब्द र संगीत उत्कृष्ट रहेकाले यो गीत गाउन पाउनुलाई एउटा अवसरको रुपमा पनि लिएको छु।"
गीत निशानको व्यक्तिगत युट्युव च्यानलबाट सार्वजनिक भएको छ। गीतबाट आउने सम्पूर्ण रोयल्टी शिवांसको उपचारको लागि सहयोग गर्ने गायक निशानले घोषणा गरेका छन्।
गीतको संगीत संयोजन हेमराज थापाले गरेका छन् भने युवराज वाइवाले म्युजिक भिडियो निर्देशन गरेका छन्। निर्देशक वाइवाले भने, "यो मेरो लागि अहिलेसम्मकै फरक काम हो। त्यसैले, कोरोना कहरको बेला पनि जोखिम मेलेर निशुल्क रुपमा यो भिडियो तयार परेका हौँ।" भिडियोमा निर्मला न्यौपाने र रेखा घिमिरेलाई फिचरिङ गरिएको छ।
बन्दाबन्दी अघि श्रीमति र उपचाररत छोरालाई अस्पतालमै छोडेर व्यवहार मिलाउन नेपाल आएका महेश अझैं फर्किन पाएका छैनन्।