ललितपुर प्रवेशमा कडाई, मत्स्येन्द्रनाथको रथ रहेको क्षेत्र आसपास सिल
रातो मत्स्येन्द्रनाथको रथ तान्ने भएपछि प्रशासनले ललितपुर प्रवेशमा कडाई गरेको छ। चोक-चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको छ।
मानिसहरूको भीडभाड र कुनै अप्रिय घटना नहोस् भनेर ललितपुर प्रवेश गर्ने सबै नाकामा कडाई गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।
“पूजारीहरूले पनि भीडभाड नगरेर पूजा गर्छौं भन्नुभएको छ, सांतेतिक रूपमा रथ तान्ने कुरा छ”, बस्नेतले भने, “मानिसको भीडभाड भएर कुनै अवाञ्छित गतिविधि नहोस्, अरू कसैको घुसपैठ नहोस् भनेर प्रवेशमा कडाई गरिएको हो।”
उनका अनुसार मत्स्येन्द्रनाथको रथ रहेको क्षेत्र आसपास सिल गरिएको छ। पूर्वमा मदन स्मारक विद्यालयको चोक अगाडि, पश्चिममा ललितपुर महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक (अल्का मोड) र उत्तरमा बखुण्डोल चोकसम्म सिल गरिएको छ। पाँच जना भन्दा बढी मानिस भेला हुन नपाउनेगरी प्रशासनले आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए।
यस्तै, मिननाथको रथ रहेको आसपास क्षेत्र अन्तर्गत पूर्वमा मंगलबार चोक, पश्चिममा मदन स्मारक विद्यालय अगाडिको चोक, दक्षिणमा पूर्णचण्डि मन्दिर र उत्तरमा पिमवहालसम्म सिल गरिएको छ। २६ भदौसम्म यी क्षेत्रमा बिहान पाँच बजेदेखि राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको बस्नेतले बताए।
रातो मत्स्येन्द्रनाथको रथलाई आज रथ भएको स्थानबाट १५ देखि २० मिटर टाढा ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राखिनेछ। कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा ६ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तान्ने रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताएका छन्।
गाःबहालबाट महानगरपालिकाको ढोकासम्म करीब ५०० मिटर मीननाथको रथ पनि तानिने महर्जनले बताए। लोकनाथ र मीननाथका दुवै रथ तान्न १९ जातीय खलःका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए।