शेयर बजारमा 'युवराज खतिवडा भ्रम' तोडियो, दोहोरो अंकको गिरावट
आइतबार शेयर बजार परिसूचक नेप्से १०.४५ अंकले घटेको छ। निर्वतमान अर्थमन्त्री डा. युवराज खतिवडाका कारण शेयर बजार ओरालो लागेको भन्ने दाबी गरिदैँ आइएपनि आइतबारको कारोबारले त्यो दाबीलाई गलत सावित गरेको छ।
निवर्तमान अर्थमन्त्री खतिवडाले शुक्रबार राजीनामा दिएका थिए। खतिवडाले व्यक्त गरेको ‘शेयर बजार अनुत्पादक क्षेत्र हो’ भन्ने भनाइलाई आधार मानेर उनी शेयर बजार विरोधी भएको चर्चा चल्ने गरेको थियो। तर, खतिवडाको बगिर्मनपछि पनि लगानीकर्ताको मनोबल बढेको देखिएन। कतिपयले आज नेप्से परिसूचक ह्वात्तै उकालो चढ्ने अनुमान गरेका थिए।
आज व्यापार र म्युचुअल फण्डबाहेक सबै समूहका उपसूचक नकारात्मक भएका छन्। सबैभन्दा धेरै होटल समूह १.६६ प्रतिशतले ओरालो झरेको छ।
आजको कारोबारमा ९८ कम्पनीको शेयर मूल्य घटेको छ भने ५५ वटाको बढेको छ। १६ कम्पनीको शेयर मूल्य स्थिर छ। सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयर मूल्यमा ९.८७ प्रतिशतको गिरावट आएको छ। रसुवागढी जलविद्युतको शेयर मूल्यमा ५.२९ प्रतिशत गिरावट आएको छ। कारोबारमा सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्त, अरुण भ्याली हाइड्रोपावर, जोशी हाइड्रोपावरका लगानीकर्ताले झण्डै १० प्रतिशत नाफा कमाएका छन्। आजको कारोबारमा सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको रु. ४० करोड १३ लाख बराबरको शेयर कारोबार भएको छ।
आइतबार गिरावटसँगै शेयर बजार करिब १ हजार ५०० विन्दुमा ओर्लिएको छ। बजारमा १९१ कम्पनीका रु. २ अर्ब ७८ करोड मूल्यका शेयर किनबेच भएका छन्।