महालक्ष्मी नगरपालिकाको श्रम ब्याङ्कः मजदूरलाई राहत पनि, विकास पनि
श्रम ब्याङ्कसँग जोडिएका मजदूरले दुई वा तीन दिन काम गरेपछि ३० केजी चामलको बोरा पाउँछन्। तर, उनीहरुले नियमित काम गर्न पाउँदैनन्। किनभने सबै मजदूरलाई आलोपालो प्रणाली लागू गरिएको छ।
अहिले सामान्य अवस्था थियो भने ललितपुरको महालक्ष्मी नगरपालिकास्थित लुभुमा पर्ने दाफा पुखु (पोखरी) मर्मत र सरसफाइका लागि लामो प्रक्रिया पूरा गर्नुपर्ने थियो। जसमा योजना बनाउने, पारित गर्नेदेखि ठेक्का दिनेसम्मका प्रक्रिया पर्छन्।
तर, महालक्ष्मी नगरपालिकाले कोरोना महामारीमा दाफा पुखु जस्तै धेरै पोखरी, राजकुलो, सडक, ढल मर्मत र सफाइ गरेको छ। जसकारण मजदूरले रोजगारी पाएका छन् भने नगरमा विकासका काम पनि रोकिएका छैनन्।
महालक्ष्मी नगरपालिकाले ‘श्रम ब्याङ्क सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०७७’ बनाएर राहतको आवश्यकता भएकालाई काम दिइरहेको छ। कोरोनाभाइरस संक्रमण फैलन नदिन सरकारले गरेको बन्दाबन्दीमा राहतस्वरुप दुई चरणको खाद्यान्न वितरण गरेपछि नगरपालिकाले श्रम ब्याङ्कको अवधारणा ल्याएको हो।
बन्दाबन्दी र निषेधाज्ञमा मजदूरलाई राहतको साटो काम दिन ललितपुरको नगरपालिकाले श्रम ब्याङ्क कार्यविधि बनाएको हो। नगरपालिकाका कोही पनि व्यक्ति कोरोनाभाइरसले निम्त्याएको अप्ठ्यारो अवस्थामा भोकै पर्न नपरोस् भनेर कार्यविधि ल्याइएको मेयर रामेश्वर श्रेष्ठ बताउँछन्।
राहतको आवश्यकता भएका १५०० जनालाई श्रम ब्याङकसँग जोडिएको छ। उनीहरुलाई विकास निर्माण, सार्वजनिक स्थानको सरसफाइ र व्यक्तिले लगाउने काममा समेत खटाउने गरिएको नगरपालिकाले जनाएको छ।
राहतको आवश्यकता भएका १५०० जनालाई श्रम ब्याङकसँग जोडिएको छ। उनीहरुलाई विकास निर्माण, सार्वजनिक स्थानको सरसफाइ र व्यक्तिले लगाउने काममा समेत खटाउने गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले विशेषगरी वडा नम्बर ५, ७, ८ र ९ मा कामका लागि खटाउने गरेको छ। मेयर रामेश्वर श्रेष्ठका अनुसार यी वडाहरुमा सार्वजनिक महत्वका क्षेत्र पर्ने र मुख्य शहरभन्दा भित्र पर्ने भएकोले कार्यक्रम संचालनका लागि सहज भएको छ।
श्रम ब्याङ्कसँग जोडिएका मजदूरले दुई अथवा तीन दिन काम गरेपछि ३० केजी चामलको बोरा पाउँछन्। तर, उनीहरुले नियमित काम गर्न पाउँदैनन्। किनभने सबै मजदूरलाई आलोपालो प्रणाली लागू गरिएको छ। निषेधाज्ञा जारी भएको अवस्थामा पनि नगरपालिकाको वडा नम्बर ८ मा रहेका पोखरी, राजकुलो, सडकको खाल्डाखुल्डी सरसफाइ गर्ने तथा पुर्ने काम भइरहेको छ।
मजदूरहरुलाई राहतभन्दा श्रमको मूल्य दिंदा नगरपालिकालाई सहज हुने र मजदूरको पनि आत्मसम्मान बढाउने भएकोले कार्यविधि नै निर्माण गरेर कार्यान्वयन गरिरहेको श्रेष्ठ बताउँछन्। उनी भन्छन्, “हामीले श्रम ब्याङ्क सञ्चालन नगरेको भए अहिले हाम्रा नागरिक भोकै बस्नुपर्ने थियो। वैलेमा कार्यविधि ल्याएर काम गरेकोले कोही भोकै बस्नु परेको छैन।”
स्वास्थ्यको सबै मापदन्डलाई ध्यानमा राखेर काम लगाइएको उनको भनाइ छ। नगरपालिकाले सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, अपाङ्गता भएका र बालबालिका भएका परिवारको काम गर्न सक्ने सदस्यलाई आवश्यकता अनुसार रोजगार दिन्छ। दैनिक ज्याला गर्ने र आर्थिक रुपले कमजोर अवस्थामा रहेका नगरपालिकाभित्रका सबै प्रकारका औद्याेगिक, सामाजिक एवं व्यापारिक संघसंस्थामा काम गर्ने श्रमिकलाई श्रम ब्याङ्कसँग जोडेको नगरपालिकाको दाबी छ।
वडा नम्बर ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठले आफ्नो वडामा ७०० भन्दा बढीले काम गरिसकेको र अहिले पनि काम भइरहेको बताए। मजदूरहरुलाई विद्यालयको वरिपरि, अस्पतालको वरिपरि, ढल, राजकुलो, पोखरी, मन्दिर, ढुंगेधारा, कुवा, सडकको खाल्डाखुल्डी, सरसफाइमा लगाएको उनको भनाइ छ।
“हाम्रो वडामा पर्ने राजकुलोहरु यसपटक एकदम सफा भएको छ। त्यस्तै विद्यालय, अस्पताल वरिपरि पनि सफा भएको छ”, उनले भने, “यो अभियानबाट सबै लाभान्वित भएका छौं। वडालाई पनि फाइदा भएको छ। मजदूरले भोकै बस्नु परेको छैन।”
बन्दाबन्दी अथवा निषेधाज्ञा नभएको भए वडामा रहेका राजकुलो, पोखरी, कुवा, धारा सफा गर्न योजना पास गर्नुपर्ने, बजेट विनियोजन गर्नुपर्ने हुन्थ्यो। त्यसको लागि एकै पटकमा काम गर्न सकिने अवस्था पनि थिएन। त्यसले गर्दा वडाको लागि बन्दाबन्दी र निषेधाज्ञा अवसर बनेको उनको भनाइ छ।
एक वडाबाट अर्को वडामा काम गर्न जान वडाध्यक्षको सिफारिश लिनुपर्ने व्यवस्था गरिएको छ। अहिले वडा नं. ८ मा सात जनाले काम गरिरहेको सुपरभाइजर कृष्णगोपाल श्रेष्ठ बताउँछन्।
उनी भन्छन्, “यो कार्यक्रमले गर्दा पुरिइसकेका कुवा, धारा, पोखरीहरु सफा भएका छन्।” वडाले बढीमा सात जना मजदूरलाई मात्र एउटै स्थानमा काममा लगाउँछ। त्यसैले भाैतिक दूरी कायम राख्न सकिएको उनको भनाइ छ।
वडा नं. ९ मा एक साताअघिसम्म काम भएको थियो। अहिले भने नगरपालिकाले दिएको खाद्यान्न मौज्दात नरहेकोले रोजगारी दिन रोकिएको वडाध्यक्ष वासुदेव शर्मा गौतमले जानकारी दिए। कार्यक्रम लागू हुँदा वडामा ३०० मजदूरले रोजगारी पाएका थिए। तीमध्ये ५० जनाभन्दा बढीलाई व्यक्तिगत निर्माण कम्पनीमा रोजगारी दिइएको थियो ।
“नगरपालिकाको श्रम ब्याङ्क कार्यक्रमले वडा लाभान्वित भएको छ। सामान्य समयमा वडाले गर्न नसक्ने काम बन्दाबन्दी र निषेधाज्ञाको समयमा भएको छ।”
यो वडामा मन्दिर सफा गर्ने, कच्ची सडकको खाल्डाखुल्डी पुर्ने र सडक किनारको नाली र ढल सफा गर्ने काम भएको अध्यक्ष शर्माले बताए। उनले भने “नगरपालिकाको श्रम ब्याङ्क कार्यक्रमले वडा लाभान्वित भएको छ। सामान्य समयमा वडाले गर्न नसक्ने काम बन्दाबन्दी र निषेधाज्ञाको समयमा भएको छ।”
मजदूरको स्वास्थ्य अवस्थालाई समेत ख्याल गरेर एक स्थानमा चार जना भन्दा बढीलाई काममा नलगाएको उनी बताउँछन्। वडामा अहिले पनि मजदूरहरु रोजगारी खोज्न आइरहेको उनी बताउँछन्। वडाले अहिले उनीहरुलाई व्यक्तिगत निर्माणको काममा पठाइरहेको छ।
महालक्ष्मी नगरपालिकाले कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा राहतका लागि विभिन्न संघ, संस्था र व्यक्तिहरुबाट सहयोग प्राप्त गरेको छ। नगरपालिकाका अनुसार अहिलेसम्म रु.४ लाख ५० हजारभन्दा बढी रकम र दाल, चामल, चिनी, तेल, नुन, चिउरा, मास्क, पीपीई, थर्मल गनलगायत सामग्री सहयोग आएको छ। प्राप्त सहयोगबाट नै जम्मा भएको खाद्यान्न राहत वितरण गरिएको र श्रम ब्याङ्कसँग जोडिएका मजदूरलाई पनि दिइएको नगरपालिकाले जनाएको छ।