अमेरिकाले प्रवेशाज्ञा दिँदा नै अनुसन्धान नगर्ने वचन दिएको दाहालको भनाइ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले ‘प्रवेशाज्ञा दिने बेला नै अमेरिकी सरकारले आफ्नो बारे कुनै अनुसन्धान नगर्ने वचन दिएको’ बताएका छन्।
पत्नी सीता दाहालको स्वास्थ्योपचारपछि अमेरिकाबाट आज स्वदेश फर्केका दाहालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन्।
“त्यसैले पनि त्यस्तो केही हुने वाला थिएन”, अमेरिकाको मेरिल्याण्ड राज्यमा दाहालविरुद्ध ‘युद्ध अपराध’ सम्बन्धि उजुरी परेको सम्बन्धमा सञ्चारकर्मीको प्रश्नमा दाहालले भने।
पत्रकार सम्मेलनका क्रममा दाहालले अमेरिकामा उच्चस्तरीय राजनीतिक भेटसमेत भएको समेत बताए।
अमेरिकाकी दक्षिण तथा मध्यएशिया मामिलासम्बन्धी प्रमुख उपसहायकमन्त्री एलाइस जी वेल्ससँग आफ्नो भेट भएको बताउँदै दाहालले त्यसक्रममा आपसी सहयोग र राजनीतिक विषयमा कुरा भएको जानकारी दिए।
“तिब्बतीयन विषयमा नेपालले मानवाधिकारको विषयमा विगतदेखि गर्दै आएको काम गरोस् र उत्तर कोरियाका सम्बन्धमा पनि आफ्ना चासो नेपालले बुझिदिएहुन्थ्यो भन्ने उहाँको कुरा थियो”, दाहालले भने।
सञ्चारकर्मीको जिज्ञासामा दाहालले इण्डो-प्यासिफिक रणनीतिका सम्बन्धमा नेपालले धेरै चिन्ता लिनु नपर्ने र नेपाललाई अप्ठ्यारो पार्ने अमेरिकाको कुनै मनशाय नरहेको उपसहायकमन्त्री वेल्सको भनाइ रहेको पनि बताए।
अमेरिकामा केही नेपालीमा देशको बदनामी गरेर खुशी हुने प्रवृत्ति देखिएको बताउँदै दाहालले भने, “यो नेपालका धेरै नेताहरुले अनुभव गरेको विषय हो।”
दाहालले पत्नी सीताको जाँचपछि औषधि दिन शुरु गरिएको र प्रारम्भिक लक्षण राम्रो देखिएको पनि बताए।