कोरोनापछि कर्णालीमा थपिए ४५ आईसीयू र २० भेन्टिलेटर
कोरोनाभाइरसको महामारी शुरू भएपछि कर्णाली प्रदेशका विभिन्न स्वास्थ्य संस्थामा पूर्वाधार विकास गरिएको छ। यो अवधिमा ४५ वटा आईसीयू र २० वटा भेन्टिलेटर थप गरिएको छ।
कोरोनाभाइरसको महामारी शुरू हुनुअघि कर्णाली प्रदेशका जुम्ला र सुर्खेतमा गरी सघन उपचार कक्ष (आईसीयू) १७ शय्या र भेन्टिलेटर ६ वटा मात्रै थिए। प्रदेश मातहतको एक मात्र ठूलो अस्पताल प्रदेश अस्पतालमै पर्याप्त आईसीयू र भेन्टिलेटर सेवा थिएन।
अहिले प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका साथै विभिन्न जिल्ला अस्पतालहरूमा गरी ६२ शय्या आईसीयू र २६ वटा भेन्टिलेटर थपिएको छ।
सुर्खेतको कालागाउँस्थित् प्रदेश अस्पतालमा हाल २० शय्या आईसीयू र सात वटा भेन्टिलेटर जडान गरिएको छ। योसँगै अस्पतालमा आईसीयूको सङ्ख्या २५ र भेन्टिलेटरको सङ्ख्या १० पुर्याइएको छ। सङ्घअन्तर्गत सञ्चालित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि प्रदेश सरकारको सहयोगमा पूर्वाधार थप गरिएको छ। यसअघि आईसीयू तीन शय्या र भेन्टिलेटर पाँच रहेकामा कोरोना महामारी बढेसँगै त्यहाँ आईसीयू शय्या १० र भेन्टिलेटर ६ पुर्याइएको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना महामारीअघि जुम्ला र सुर्खेतबाहेक कर्णालीका अन्य जिल्लामा आईसीयू र भेन्टिलेटर सेवा थिएन। सामान्य बिरामीलाई समेत सुर्खेत पठाउनुपर्ने बाध्यता थियो। हाल डोल्पाबाहेक सबै जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर जडान गरिएको छ। डोल्पामा पनि छिटै जडान गर्ने प्रदेश सरकारको तयारी छ।
मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले कोरोना महामारीकै अवधिमा प्रदेश अस्पताललाई स्तरोन्नति गरी ३०० शय्याको पूर्वाधार विकास गरिएको जनाएको छ। त्यस्तै, हरेक जिल्ला अस्पताललाई कम्तीमा ५० शय्याको लागि भौतिक व्यवस्था हुने गरी स्रोत साधनको व्यवस्थापन गरिएको छ।
सामाजिक विकासमन्त्री दल रावलले कोरोनाले चुनौती मात्र नभई स्वास्थ्य क्षेत्रमा लगानी गर्ने विशेष अवसर दिएको बताए। “स्थापनाको वर्षौंसम्म आईसीयू र भेन्टिलेटर नदेखेका अस्पतालले पाँच महीनामै ती सेवा सञ्चालन गरेका छन्,” उनले भने, “गम्भीर बिरामीलाई पनि जिल्लामै उपचार गर्न सकिने वातावरण सिर्जना गरिएको छ, यो ठूलो उपलब्धि हो।”
मन्त्री रावलले पूर्वाधार निर्माण, औषधि उपकरणसँगै जनशक्ति व्यवस्थापनमा समेत महत्वपूर्ण उपलब्धि हासिल भएको बताए। आईसीयू र भेन्टिलेटर पुगेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई तालिम दिएर छिटै सेवा सञ्चालन गर्ने मन्त्रालयको तयारी छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका २७ स्थानमा विशेषज्ञ उपचार सेवा शुरू गरिएको छ। प्रदेश अस्पताल सुर्खेतमा २५ शय्या आईसीयू, सात भेन्टिलेटर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १० आईसीयू र ६ भेन्टिलेटर, मुगु जिल्ला अस्पतालमा दुई आईसीयू र एक भेन्टिलेटर, हुम्लामा पाँच आईसीयू र दुई भेन्टिलेटर थप गरिएको छ।
त्यस्तै, कालीकोटमा पाँच आईसीयू र दुई भेन्टिलेटर, दैलेखमा पाँच आईसीयू र दुई भेन्टिलेटर, जाजरकोटमा दुई आईसीयू र एक भेन्टिलेटर र रुकुमपश्चिम मुसीकोट जिल्ला अस्पतालमा दुई आईसीयू र एक भेन्टिलेटर सेवा थपिएको छ।
सल्यानमा दुई आईसीयू, एक भेन्टिलेटर, रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पतालमा चार आईसीयू र तीन भेन्टिलेटर सेवा सञ्चालनमा ल्याइएको छ। प्रदेशमा हाल २० अस्पताल, १४ प्राथमिक स्वास्थ्य केन्द्र, ३३५ स्वास्थ्य चौकी, एक आयुर्वेद औषधालय र ३०४ बर्थिङ सेन्टर सञ्चालित छन्।