चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु
चितवन मेडिकल कलेजमा उपचारका क्रममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि १२ भदौमा अस्पताल भर्ना भएका ती पुरुषमा १३ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएपछि अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो। उनको उपचारका क्रममा आज बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।
यससँगै चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २२ पुगेको छ। चितवनका १२, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका दुई, बारा, गोर्खा र कैलालीका एक/एक जना कोरोना संक्रमितको चिवतनमा मृत्यु भएको छ।
उपचार थप प्रभावकारी बनाउँदै भरतपुर अस्पताल
यस क्षेत्रको कोरोना उपचारको नेतृत्व गरिरहेको भरतपुर अस्पतालले कोरोना उपचार थप प्रभावकारी बनाउने भएको छ। ६ वटा भेन्टिलेटरसहितको सघन उपचार कक्ष रहेकामा भेन्टिलेटर संख्या १६ पुर्याएर उपचार प्रभावकारी बनाउन लागेको हो।
हाल अस्पतालको कोभिड सघन उपचार कक्षमा दुई र साधारण सघन उपचार कक्षमा चार भेन्टिलेटर भएकामा हिजो मात्रै तीन वटा भेन्टिलेटर थप गरिएको छ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार दातृ निकायबाट प्राप्त तीनवटा भेन्टिलेटर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएपछि जडान गरिएको छ। कोभिड सघन उपचार कक्ष १० शय्याबाट १६ पुर्याइने भएको छ।
तीनवटा भेन्टिलेटर साधारण सघन उपचार कक्षमा जडान गरिएको छ। कोभिडबाट साधारणमा लैजान नमिल्ने भएकाले साधारणमा जडान गरेर तयारी हालतमा राखिएको हो। थप पाँच भेन्टिलेटरका लागि शुक्रबार बोलपत्र आह्वान गरिएको छ।
यससँगै बिरामीलाई धेरै अक्सिजन दिन सक्ने तीनवटा उपकरण पनि खरिद गर्न लागिएको तिवारीले बताए। अस्पतालमा बिग्रिएका दुईवटा भेन्टिलेटर पनि मर्मत गरिँदैछ।
अस्पतालले १६ शय्याको कोभिड सघन उपचार कक्षमध्ये ६ वटामा शङ्कास्पद र १० वटामा प्रमाणित भएकाहरूलाई राख्नका लागि छुट्टाछुट्टै व्यवस्था मिलाएको छ।