रातो मत्स्येन्द्रनाथको रथ दिउँसो ३ बजे तानिने
‘वर्षा र सहकालका देवता’ मानिने रातो मत्स्येन्द्रनाथको रथ आज दिउँसो ३ बजे तानिने भएको छ। यस वर्ष मत्स्येन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएपछि रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो।
आज बिहानैदेखि १९ जातीय समूह (खलः पुचः) का ५०१ स्वयंसेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थासमेत गरिएको पुचःका संयोजक चन्द्र महर्जनले बताए। “मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा ६ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तान्ने भएका छौं”, उनले भने, “हाल रथ भएको स्थानबाट मात्र १५ देखि २० मिटर पर सोह्रखुट्टे पाटी भएकाले धेरै परसम्म रथ तान्नुपर्ने छैन।”
गाःबहालबाट महानगरपालिकाको ढोकासम्म करीब ५०० मिटर मीननाथको रथ पनि तानिने महर्जनले बताए। लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए।
उनले भने, “रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड-१९ को मापदण्ड अपनाउन लगाउने छौं।” रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउनेछन्।
विगतका वर्षझैँ यस वर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो।