नेपालका प्रमुख तीन नदी जलाधारका ४७ वटा हिमताल विस्फोटको जोखिममा
विश्वव्यापी तापक्रमका कारण नेपालको उच्च हिमाली क्षेत्रमा रहेका हिमताल पग्लिने क्रममा वृद्धि हुँदै गएको छ। जसकारण नेपालका प्रमुख तीन वटा नदी जलाधार क्षेत्रका ४७ वटा हिमताल सम्भावित विस्फाेटको जोखिममा छन्।
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोेड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले नेपालको कोशी, गण्डकी र कर्णाली नदी जलाधार क्षेत्रमा रहेका हिमताल र त्यसको जोखिमबारे गरेको अनुसन्धान प्रतिवेदनले विस्फाेटको जोखिम औँल्याएको हो। इसिमोडले सोमबार सार्वजनिक गर्ने तयारी गरेको उक्त प्रतिवेदन अनुसार सम्भावित खतरामा रहेका ४७ हिमतालमध्ये ४२ वटा कोशी जलाधार क्षेत्रमा छन्।
त्यसैगरी तीनवटा हिमताल गण्डकी र दुई वटा कर्णाली नदी जलाधार क्षेत्रमा पर्दछन्। ४७ हिमतालमध्ये २५ चीनको तिब्बत क्षेत्रमा छन् भने २१ वटा नेपाल र एउटा भारतमा पर्छन्।
कोशीको सहायक अरुण नदीको जलाधार क्षेत्रमा मात्र जोखिम पहिचान गरिएका १७ वटा हिमताल छन्। तीमध्ये १३ वटा चीनमा पर्छन् भने चारवटा नेपालमा छन् । त्यसैगरी दूधकोशी जलाधार क्षेत्रमा नौ र तमोर नदीको जलाधार क्षेत्रमा चार वटा हिमताल छन्।
गण्डकी नदीको सहायक नदी त्रिशूलीको जलाधार क्षेत्रमा दुई र मस्र्याङ्दी नदीमा एउटा हिमताललाई जोखिमका रुपमा पहिचान गरिएको छ। त्रिशूली जलाधार क्षेत्रमा रहेको एउटा हिमताल चीनतर्फ पर्छ।
त्यस्तै कर्णाली नदीको सहायक नदी काली र हुम्ला कर्णालीमा एक/एक वटा हिमताललाई जोखिमयुक्त पहिचान गरिएको छ। त्यसमध्ये एउटा नेपालतर्फ पर्छ भने अर्को भारततर्फ पर्छ।
उक्त अध्ययनले तीनवटा नदीका जलाधारमा तीन हजार ६२४ हिमतालहरु रहेको औँल्याएको छ। तीमध्ये २ हजार ७० हिमताल नेपालको राजनीतिक नक्शाभित्र पर्छन्। एक हजार ५०९ हिमताल चीनको तिब्बत र ४५ वटा भारतमा पर्छन्। प्रतिवेदनमा उल्लेख भएअनुसार एक हजार ४१० हिमताल ०.०२ वर्ग किलोमिटरभन्दा ठूलो क्षेत्रका छन्।
भौतिक मापदण्ड, बाँध र हिमताल वरपरको अवस्थालाई आधार मानेर जोखिमका आधारमा हिमताललाई तीन भागमा वर्गीकरण गरिएको छ। ४७ वटा हिमतालमध्ये ३१ वटालाई जोखिमको पहिलो सूचीमा राखिएको छ। त्यस्तै दोस्रो सूचीमा १२ र जोखिमको तेस्रो सूचीमा चार वटा हिमताल छन्।
हिमताल विस्फोट हुनुको प्रमुख कारण उच्च हिमाली क्षेत्रमा भइरहेको तापक्रम वृद्धि र हिउँ पग्लिने क्रमलाई मानिएको छ। जसकारण हिमतालको क्षेत्रफलमा वृद्धि हुँदै गइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली क्षेत्रको तापक्रम वृद्धिदर प्रतिवर्ष सरदर ०.०८६ डिग्री सेल्सियस छ।
हिउँ पग्लिने क्रमसँगै हिमतालको संख्या र क्षेत्रफलमा वृद्धि हुँदै गएको छ। सन् २००० मा तीनवटा नदी जलाधार क्षेत्रमा तीन हजार ६०१ हिमताल र त्यसले ओगटेको क्षेत्रफल १७९.५६ वर्ग किलोमिटर थियो। सन् २००५ मा हिमतालको संख्या तीन हजार ६९६ र क्षेत्रफल १८६.४४ वर्ग किलोमिटर थियो।
त्यस्तै सन् २०१५ मा हिमतालको संख्या तीन हजार ६२४ र त्यसले ओगटेको क्षेत्रफल १९५.३९ पुगेको थियो। सन् २००० देखि २०१५ सम्म २३ वटा हिमताल बढेका छन्। त्यसको क्षेत्रफल १५.८ वर्ग किलोमिटर बढेको छ।
सबैभन्दा रोचक पक्ष चाहिं कोशी जलाधार क्षेत्रका हिमतालको संख्या घटेको देखिन्छ भने क्षेत्रफल बढेको छ। सन् २००० मा उक्त क्षेत्रमा दुई हजार ११९ हिमताल रहेकोमा उक्त वेशिनमा अहिले २ हजार ६४ वटा हिमताल मात्र छन्।
तर, सन् २००० मा हिमतालले ओगटेको क्षेत्रफल ११८ वर्ग किलोमिटर रहेकोमा सन् २०१५ मा क्षेत्रफल १३२ वर्ग किलोमिटर पुगेको छ। अर्थात् झण्डै ११.७० प्रतिशतले क्षेत्रफल वृद्धि भएको छ।
यसो हुनुको प्रमुख कारण हिउँ पग्लिएर स–साना ताल एकआपसमा जोडिनु हो। तर, गण्डकी र कर्णाली जलाधार क्षेत्रमा हिमतालको संख्या र क्षेत्रफल दुवैमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ।
गण्डकी क्षेत्रमा सन् २००० मा हिमतालको संख्या ३७७ र त्यसले ओगटेको क्षेत्रफल १७.७६ वर्ग किलोमिटर थियो। सन् २०१५ मा हिमतालको संख्या ४३२ र क्षेत्रफल १९.१९ वर्ग किलोमिटर पुगेको छ। त्यसैगरी कर्णाली क्षेत्रमा सन् २००० मा एक हजार १०५ र त्यसले ओगटेको क्षेत्र ४३.३८ वर्ग किलोमिटर रहेकोमा संख्या १ हजार १२८ र क्षेत्रफल ४३.९३ वर्गकिलोमिटर पुगेको छ।
सन् १९७७ देखि अहिलेसम्म नेपालका तीन नदीका जलाधार क्षेत्रमा २६ वटा हिमताल विस्फोटका घटना भएका छन्। तीमध्ये १४ वटा नेपालतर्फ भएका हुन्।