सशस्त्र प्रहरीले प्रदेश २ को भारतसँगको सीमामा सुरक्षा पोष्ट बढाउने
कोरोनाभाइरस सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ। भारतीय सीमा क्षेत्रमा ७३ वटा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बीओपी) थपिनेछ।
अहिले ५० वटा बीओपी छन्। बीओपीको संख्या १२३ पुर्याउन लागिएको सशस्त्र प्रहरी बल प्रदेश–२ छिन्नमस्ता बाहिनी कार्यालय बर्दिवास (महोत्तरी) ले जनाएको छ।
प्रदेश–२ को भारतसँग सीमा जोडिएको ४६४ किलोमिटर दूरीभित्र बिओपी थप्न थालिएको बाहिनी कार्यालयले जनाएको छ । अहिले तत्काल पहिलो चरणमा थप १२ वटा बीओपी सञ्चालनमा ल्याइहालिने सशस्त्र प्रहरी बलका प्रदेश–२ प्रमुख (बाहिनीपति) तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यले बताए। केही नयाँ पोष्ट सञ्चालनमा पनि आइसकेका छन्।
त्यसपछि क्रमशः दोस्रो चरणमा २४ र तेस्रो चरणमा ३७ बीओपी स्थापना गरिने छ। सशस्त्र प्रहरी सीमा पोष्टमा अहिले प्रदेशभरिमा तीनहजार ५०० जनशक्ति परिचालित छन्।
कोभिड–१९ सङ्क्रमण शुरु भएदेखि सशस्त्र प्रहरीले प्रदेश–२ का नाकाहरुमा ५९ वटा ‘फरवार्ड अपरेटिङ बेस’ (एफओबी) समेत स्थापना गरेको छ। भारतबाट अवैधरूपमा भित्रिने व्यक्तिलाई रोक्ने र क्वारेन्टिन केन्द्रमा पठाउने काम एफओबीले गर्दै आएको बाहिनीपति ब्रह्मचार्यको भनाइ छ।
कोभिड–१९ सङ्क्रमण रोकथामका लागि प्रदेशभित्र सशस्त्र प्रहरीले २० ठाउँमा ५५१ शय्याका क्वारेन्टिन केन्द्र सञ्चालनमा ल्याएको छ। प्रदेशभित्र सञ्चालनका लागि आठवटा ‘ड्रोन’ तयार अवस्थामा राखिएका छन्।