सात दिन, १४ सामग्री
११ चैतदेखि शुरु कोभिड–१९ विरुद्धको बन्दाबन्दी लगत्तै साप्ताहिक 'हिमाल खबरपत्रिका'ले आफ्नो छापा संस्करण स्थगन गरी अनलाइन पोर्टल मार्फत अझ बढी सक्रिय, सचेत, सत्य र विश्वसनीय पत्रकारिता अभ्यासको प्रयत्न गरिरहेको छ। 'सम्पादकको सिफारिश: सात दिन १४ सामग्री' त्यसैमध्येको एक साप्ताहिक स्तम्भ हो, जसमा हामी बितेको साताका उल्लेख्य घटना, सर्वाधिक पढिएका र पढिनुपर्ने समाचार, विचार, विश्लेषणलाई समयक्रम अनुसार प्रस्तुत गरिरहेका छौं।
हिजोका यी सामग्रीहरुप्रतिको तपाईंको आजको मूल्यांकनले भोलिको आकलन गर्न सहज हुने हाम्रो विश्वास छ।
१. योनी चियाउँदा देखिएको कुरुप समाज
योनी चियाउँदा देखिएको समाज वास्तवमै ‘भयानक’ छ। स्वयम् आफ्नो मात्रै नभएर सम्पूर्ण परिवाररसमाजकै इज्जतको भारी बोकेर दोब्रिएको उल्टो त्रिभुजाकारको योनी समाजको कुरुप अनुहार उतार्न पर्याप्त छ। आफ्नै यौनाङ्ग हेरेर योनीप्रति महिलाहरू कमै धारणा बनाउने गर्छन्। वैवाहिक वा शारीरिक सम्बन्धपश्चात् पार्टनर या श्रीमान्ले दिएको प्रतिक्रियाको आधारमा मात्रै अधिकांश महिलाहरू आफ्नो योनीको परिभाषा पाउने गर्छन्। – सविना देवकोटाको टिप्पणी।
२. गिद्ध संरक्षणको नेपाली गाथा
चराहरूलाई प्रायः सुन्दर वा सुमधुर आवाजका लागि चिनिने गरिन्छ । तर गिद्ध भने अपवादमा पर्छ । पन्छीहरुमा गिद्ध मात्र यस्तो चरा हो जुन कतिपयलाई हिंस्रक र घिनलाग्दो लाग्दछ । सिनो र फोहोरको डङ्गुरमा देखिने यो चरालाई समाजमा फोहोरीका साथै अशुभ संकेतका रूपमा चित्रित गरिन्छ । गिद्ध यतिसम्म अपहेलित छ कि हामीमै आपसमा ‘गिद्धे’, ‘गिद्ध दृष्टि’, ‘गिद्ध संस्कृति’ जस्ता अपशब्द प्रचलनमा छन् । बजार र समीक्षकको नाम कमाएको चलचित्र 'लुट' मा काठमाडौंमाथि संवाद नै छ– ‘गिद्धै गिद्धको शहर’ । विश्व बन्यजन्तु कोष नेपालसँग आवद्ध करुण देवानको जानकारीमुलक टिप्पणी।
चिनौं जोगाउनैपर्ने गिद्ध
३. आउँदा आम–स्वीकार्य बनेका अर्थमन्त्रीको निराशाजनक बहिर्गमन
बलियो र स्थिर सरकार, जनमानसमा बनेको आम–स्वीकार्य छवि, अनि अर्थतन्त्रमा खारिएको आफ्नै ज्ञान। यो सबै अनुकूलता आर्थिक सुधार र अर्थतन्त्रलाई नयाँ गति दिने अवसरका रुपमा सदुपयोग गर्न चुक्दा अर्थमन्त्री खतिवडाको अढाइ वर्षे कार्यकाल सम्झनलायक बन्न सकेन। – रमेश कुमारको टिप्पणी।
४. रथ तान्न खोज्दा कसरी भयो पुल्चोकमा यस्तो घटना?
एकातर्फ कोरोना महामारीले रातो मत्स्येन्द्रनाथको रथ तान्ने कार्य अनिश्चित भइरहेको थियो भने अर्कोतर्फ २ असोज अघि नै मत्स्येन्द्रनाथलाई बुङमती पुर्याउनुपर्ने परम्पराको दवाव थियो। कोरोनाभाइरस संक्रमणको महामारी फैलिँदै जाँदा त्यसको विस्तार रोक्न भन्दै प्रशासनले लगाएको कर्फ्युसरहको निषेधाज्ञाबीच बिहीबार दिउँसो ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्न सयौंको संख्यामा स्थानीय भेला भए। प्रहरीले उनीहरूलाई रोकेपछि झडप भयो। –तुफान न्यौपानेको रिपाेर्ट।
इन्द्र नभेटिने ‘इन्द्रजात्रा’
५. स्टेशन मेनेजर सोना भन्छिन्– ‘अरु रेडियोले कामै छैन भनेको बन्दाबन्दीमा हामीले गजब आम्दानी गर्यौं’
कोरोनाभाइरस संक्रमण महामारीपछि देशका ठूला सञ्चारमाध्यमहरू थलिएर पत्रकार/कर्मचारीले जागिर गुमाएका छन्। सामुदायिक रेडियो कपिलवस्तुका लागि भने यो महामारी व्यावसायिक रूपमा संकटभन्दा पनि अवसर बनेर आयो। कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा रहेको जिल्लाकै पहिलो रेडियोको नेतृत्व गरिरहेकी छिन्, सोना खटिकले। बन्दाबन्दीले धेरै सञ्चार माध्यमहरू बन्द हुने अवस्था आउँदा यो रेडियोले भने गजब आम्दानी गर्यो। स्टेशन मेनेजर सोना खटिकको अनुभव।
६. वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्न सिफारिश गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सकिएको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको हो।
७. यसरी सुक्दैछ टोनी हागनले देखेको त्यो हिमनदी
हिंडेरै नेपालका डाँडाकाँडा चहारेका स्वीस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा मनाङमा खिचेको एउटा तस्वीर यतिबेला हिमनदीको हालत पत्ता लगाउने प्रमाण बनेको छ। टोनी हागनले खिचेकै ठाउँमा सन् १९७९ मा चेक रिपब्लिकका डेनेक थोमाले पनि गंगापूर्ण हिमनदीको तस्वीर खिचेका थिए। सन् २०१६ मा सोही स्थानमा नेपालका शालिकराम सिग्देलले अर्को तस्वीर खिचे। यी तीन तस्वीरको तुलनात्मक अध्ययनबाट सिग्देलको समूहले उक्त हिमनदी सुक्दै गरेको तथ्य पत्ता लगाएको छ। – तुफान न्यौपानेको रिपोर्ट।
८. के नेपालमै रासायनिक मल उत्पादन गर्न सम्भव छ ?
किसानको मागअनुसार मल आयात नहुने कारणले बालीनाली लगाउने बेला रासायनिक मलको अभाव हरेक वर्ष दोहोरिन्छ। नेपालमा रासायनिक मल उत्पादन हुँदैन र भन्नेबित्तिकै विदेशबाट मल आयात गर्न पनि सजिलो छैन। कतिपयले वर्षेनि दोहोरिने मलको यही अभावलाई सम्बोधन गर्न स्वदेशमै रासायनिक मल कारखाना स्थापना गर्नुपर्ने तर्क गर्दै आएका छन्। सरकार आफैंले पनि कैयौं नीति र बजेटमा रासायनिक मल कारखाना स्थापना गर्ने घोषणा गर्दै आएको छ। तर, के नेपालमा रासायनिक मल उत्पादन गर्ने कारखाना सञ्चालन गर्न सकिन्छ त ? – रमेश कुमारको रिपोर्ट।
रासायनिक मल माग्न प्रधानमन्त्री ओलीले गरे बांग्लादेशी समकक्षीलाई टेलिफोन
महामारीबीच किसानलाई मल अभावको पिरलो, जोखिम मोल्दै लाम लागे पनि पाउँदैनन्
९. कृषि अनुदानमा लूट: किसानको नाममा कर्मचारी, परामर्शदाता र नक्कली किसानको यो हदको रजाइँ
विपन्न किसानको जीवनस्तर उकास्न भन्दै आकर्षक परियोजना देखाएर दाताबाट ल्याएको रकम टाठाबाठाले कसरी हडप्छन् भन्ने नमूना हो, व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट)। एक दशक सञ्चालन भएको यो आयोजनामा चरम स्तरको अनियमितता भएकोबारे विश्व ब्यांककै छानबिनले खुलासा गरे पनि सरकारी निकायले कारबाही अगाडि बढाएको छैन। – रमेश कुमारको रिपोर्ट।
विश्व ब्यांकको छानबिनको खुलासाः किसानका नाममा आएको अनुदानमा अर्बौं लूट
१०. ५० हजारबाट शुरू भएको सस्तोडिलको यसरी सम्भव भयो फ्लिपकार्ट यात्रा
भू-राजनीतिमा प्रभाव पारेका चीन र भारतका दुई ठूला ई–कमर्श कम्पनी नेपाली उपभोक्तालाई सरसामान बिक्री गर्ने प्रतिस्पर्धाको चरणमा प्रवेश गरेका छन्। दुई वर्षअघि चिनियाँ बहुराष्ट्रिय समूह अलिबाबा अनलाइन प्लेटफर्म दराज मार्फत नेपाल आएपछि ई कमर्शका लागि नयाँ नेपाली बजारमा अन्तर्राष्ट्रिय ठूला खेलाडी प्रवेशको बाटो फराकिलो भएको थियो। अहिले ठूलो मात्रामा अमेरिकी लगानीकर्ताहरूको संलग्नता रहेको फ्लिपकार्ट सस्तोडिलसँगको सहकार्यमा नेपाल आएको छ। नौ वर्षअघि अमेरिकाबाट फर्किएका अमुन थापासहितको समूहले शुरु गरेको अनलाइन किनमेलको प्लेटफर्म सस्तोडिलले फ्लिपकार्टसँगको यात्रा कसरी सम्भव बनायो ? – रमेश कुमारको रिपोर्ट।
११. सालिक भत्काउनु, सालिक ठड्याउनु
सडक र चौरस्तामा रहेका सालिकलाई ढाल्ने, भत्काउने होड छ। कतिपय पश्चिमा मुलुकमा आज भइरहेको जस्तो यसअघि पूर्वी यूरोपेली मुलुक र रूसमा स्टालिनका मूर्ति ढालिए, इराकमा सद्दाम हुसेनको र नेपालकै आन्दोलनमा कतै भानुभक्तका सालिक, कतै राजा महेन्द्रको, कतै बीपी कोइरालाको। यस्तो नहोस् कि हामीले कुनै सालिक भत्काउँदा पछिपछिसम्म सम्झिराख्नुपर्ने इतिहासका ज्यादती र तिनका खलपात्र बिर्सन मद्दत पुगोस्। त्यसैले पनि बँचेका सालिकहरु रहन दिऊँ, यिनीसँग सम्बन्धित असलरखराब चरित्र सम्झने कोशिश गरौं। – कनकमणि दीक्षितको स्तम्भ 'उकालो लाग्दा'।
१२. ‘नजिकैबाट मृत्यु देखेर फर्किएँ, कोरोनालाई सामान्य रुघाखोकी ठान्ने गल्ती नगरौं’
कोरोना महामारी के हो र यसको असर कतिसम्म हुन्छ भन्ने बारेमा अहिले पनि अनकौं अडकलबाजीहरू चलिरहेका छन्। संक्रमित भइसकेका कतिपय व्यक्तिले भन्ने गरेका छन्– यो सामान्य हो, आत्तिनु पर्दैन। कतिपय भन्छन्– यो भयंकर छ, सचेत बनौं। त्रिभुवन विश्वविद्यालय केन्द्रीय भूगर्भशास्त्र विभागका सह-प्राध्यापक डा. रञ्जनकुमार दाहाल संक्रमण भएपछि उपचार गरेर घर फर्किएका छन्। हिमालखबरकर्मी मुकेश पोखरेलले सह-प्राध्यापक दाहालसँग गरेको कुराकानीमा आधारित उनको अनुभव।
१३. सरकार, देश सञ्चालनलाई प्राथमिकता देऊ
हामीसँग कैयौं यस्ता संस्था, तिनको सञ्चालन गर्ने संरचना र सम्पर्कका अवयव छन् जसमार्फत कोरोनाभाइरस संक्रमणको महामारीकै बीच समाजका केही बाहेक धेरैजसो व्यवहार र कारोबार चलायमान राख्न सकिन्छ। तर, फेरि पनि सवाल त्यही उठ्छ – हाम्रा लागि यो संकटकै बीच ‘न्यू नर्मल’ अवस्था सिर्जना गर्ने यो कार्य सरकारको प्राथमिकतामा छ त ? – किरण नेपालको सम्पादकीय।
१४. फरक विचार राखेकै कारण उमा भुजेललाई थुनिएको सर्वोच्चको ठहर (आदेशसहित)
आठ महिनादेखि पक्राउ पर्दै र छुट्दै आएकी नेत्रविक्रम चन्द नेतृत्वको नकेपाकी केन्द्रीय सदस्य उमा भुजेललाई १२ साउनदेखि निरन्तर हिरासतमा राखिएको थियो। १२ पटकसम्म अदालतको आदशेबाट छुट्दै र अदालतकै गेटबाट पुन: पक्राउ पर्दै आएकी भुजेल अहिले हिरासतमुक्त भएकी छन्। सर्वोच्च अदालतले फरक राजनीतिक विचार राखेकै आधारमा पक्राउ गरी थुनिएको भन्दै मुक्त गर्न आदेश दिएको छ।
८ महीनामा १२ पटक पक्राउः अदालतलाई छल्दै उमा भुजेलमाथि भइरहेछ यस्तो ज्यादती