कोरोना अपडेट: संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै
पछिल्लो समय मुलुकमा संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेहरूको संख्या बढीरहेको देखिएको छ। स्वास्थ्य मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १५६६ जना व्यक्ति निको भएका छन् भने १०४१ जना संक्रमित थपिएका छन्।
शनिबार ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। २० भदौको तथ्यांक अनुसार मुलुकमा कोरोनाबाट निको हुनेको कुल संख्या २७१२७ पुगेको छ। यस अनुसार मुलुकमा कोरोनाबाट निको हुने दर ५९.९ प्रतिशत छ।
शनिबारसम्म कुल संक्रमितको ४५२७७ मध्ये सक्रिय संक्रमितको संख्या १७८७० छ।
१९ भदौको तथ्यांक अनुसार उक्त दिन कोरोनाबाट १३५४ व्यक्ति निको भएका थिए भने १३५९ संक्रमित थपिएका थिए। सोही दिन निको हुने व्यक्तिको संख्या २५५६१ र निको हुने दर ५७.८ प्रतिशत थियो।
१६ भदौसम्ममा कोरोनाबाट निको हुने व्यक्तिको संख्या २२१७८ र निको हुने दर ५४.७ प्रतिशत थियो। स्वास्थ्य मन्त्रालयको १३ भदौसम्मको तथ्यांक अनुसार कोरोनाबाट निको हुने व्यक्तिको संख्या कुल २०५५५ थियो, भने निको हुने दर ५५ प्रतिशत थियो।
यसरी एक हप्ताको अन्तरमा कोरोनाबाट निको हुने व्यक्तिको संख्या ६५७२ ले बढेको देखिन्छ। कोरोनाबाट निको हुने दर भने एक हप्तामा ५५ प्रतिशतबाट बढेर ५९.९ प्रतिशतमा पुगेको छ।