भक्तपुरमा संक्रमित प्रहरीका लागि छुट्टै आइसोलेसन सञ्चालनमा
कोभिड-१९ को सङ्क्रमण रोक्न अग्रभागमा खटिने प्रहरीका लागि छुट्टै आइसोलेसन सञ्चालनमा आएको छ। अग्रभागमा खटिने प्रहरीमा कोरोना सङ्क्रमण बढ्न थालेपछि प्रहरीले आफ्ना जनशक्तिका लागि आइसोलेशन तयार पारेको हो।
यसका लागि प्रहरीले मध्यपुरथिमिको पाठ्यक्रम विकास केन्द्रको एउटा ब्लकमा १८ शैयाको आइसोलेसन तयार पारेर सञ्चालनमा ल्याएको छ। महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता दीपक गिरीले प्रहरीमा पनि कोरोना सङ्क्रमण देखिन थालेपछि सचेतना अपनाउने र आइसोलेसन तयार पार्ने काम भएको बताए।
भक्तपुरका प्रहरीमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर सचेतना अपनाएको, प्रहरीलाई फरक–फरक स्थान र विद्यालयमा समेत अस्थायी ब्यारेक बनाएर सुरक्षित राख्दै परिचालन गर्ने गरेको र सङ्क्रमितलाई खरिपाटीस्थित आइसोलेसनमा पठाउने गरिएको उनले बताए।
उनले प्रहरी परिसरका सङ्क्रमित एक प्रहरी निको भएर ड्युटीमा फर्किसकेको, जगाती प्रहरी वृत्तका प्रहरीमा सङ्क्रमण नभएको, नगरकोट प्रहरी प्रभागमा सङ्क्रमित एकलाई आइसोलेसनमा राखिएको जानकारी दिए। उनले परिसरमा रहेका दुई थुनुवालाई सङ्क्रमण भए पनि खरिपाटीस्थित आइसोलेसनमा राखिएको बताए।
महानगरीय प्रहरी वृत्त थिमिमा भने १३ प्रहरीमा कोरोना सङ्क्रमण भएको छ। जसमा तीन जना निको भएर काममा फर्किसकेका प्रहरी नायब उपरीक्षक ऋषिराम कट्टेलले जानकारी दिए। सङ्क्रमित १० जना पाठ्यक्रम विकास केन्द्रको आइसोलेसनमा रहेका र तीन सङ्क्रमित निको भएर काममा फर्किएका उनले जानकारी दिए।
बालकोट प्रहरी प्रभागमा सङ्क्रमित एक पनि निको भएर काममा फर्किसकेका छन्। प्रहरीका लागि पाठ्यक्रम विकास केन्द्रमा १८ शैया क्षमताको आइसोलेसन तयार पारेर सञ्चालनमा ल्याइएको छ। थिमि प्रहरी वृत्तमा रहेका सात जना थुनुवामा पनि सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा पठाइएको छ।