बढी संक्रमित हुने यी दश जिल्ला, देशभरमै बढी संक्रमित काठमाडौंमा
शनिबार देशभर एक हजार ४१ संक्रमित थपिएकोमा काठमाडौंमा मात्रै ३२६ जनामा संक्रमण पुष्टि भएको छ। शनिबार थपिएको सहित काठमाडौंमा संक्रमित संख्या ६ हजार पाँच पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार, काठमाडौ जिल्लामा चार हजार ३२ पुरुष र एक हजार ९७३ महिलामा संक्रमण पुष्टि भएको छ। काठमाडौं देशभरमै बढी संक्रमित पुष्टि हुने जिल्ला हो।
दोस्रो बढी संक्रमण पर्सामा देखिएको छ। पर्सामा दुई हजार ४५१ जनामा संक्रमण पुष्टि भएको छ भने तेस्रोमा सर्लाही बढी प्रभावित बनेको छ। सर्लाहीमा एक हजार ७४७ पुरुष र ३२२ महिलामा संक्रमण पुष्टि भएको छ।
चौथौंमा रहेको रौतहटमा एक हजार ९१०, पाँचौ स्थानमा रहेको मोरङमा एक हजार ८१२ मा संक्रमण पुष्टि भएको छ। छैटौंमा धनुषा (एक हजार ७५५), सातौंमा कैलाली (एक हजार ७१६), आठौंमा महोत्तरी (एक हजार ३७१), नवौंमा रुपन्देही (एक हजार २२८) र दशैंमा कपिलवस्तु (एक हजार १५४) प्रभावित बनेको छ।
राजधानी उपत्यकाकै ललितपुर १८औं बढी प्रभावित जिल्ला बनेको छ। ललितपुरमा एक हजार ५० संक्रमित छन् भने २४औं स्थानमा रहेको भक्तपुरमा ६३४ जनामा संक्रमण पुष्टि भएको छ। बन्दाबन्दी खुलेपछि संक्रमण अत्याधिक बढेको राजधानी उपत्यकामा संक्रमित संख्या सात हजार ६८९ पुगेको छ। देशभर संक्रमित मध्ये याे १७ प्रतिशत हो।
७७ वटै जिल्लामा संक्रमण पुगिसक्दा हिमाली जिल्लाहरुमा भने थोरै संख्यामा संक्रमण देखिएको छ। मन्त्रालयका अनुसार, मुस्ताङमा एक, मनाङमा तीन, हुम्लामा चार, डोल्पामा छ, सोलुखम्बुमा नौ र मुगुमा १२ जनामा संक्रमण पुष्टि भएको छ।