कोरोनाबाट काठमाडौंका ३ जनासहित देशभर ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो
पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० जना पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा मोरङकी ४३ वर्षीया, मकवानपुरकी ५२ वर्षीया र नवलपरासीकी ३७ वर्षीया महिला छन्। त्यसैगरी पर्साका ७५ वर्षीय, महोत्तरीका ७८ वर्षीय, रुपन्देहीका ४० वर्षीय र काठमाडौंका ४१, ५९ र ६५ वर्षीय गरी तीन जनाको मृत्यु भएको छ।
मुलुकमा कोरोनाका १९१ जना गम्भीर बिरामीको आइसोलेसन र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। कोरोना संक्रमण दिन प्रतिदिन बढेसँगै गम्भीर बिरामीको संख्या पनि बढ्दो क्रममा रहेको देखिएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार १६७ जनाको आइसोलेसन र २४ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।