एकैदिन १५६६ जना निको भए, १०४१ जनामा संक्रमण पुष्टि, ९ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १५६६ जना संक्रमित निको भएका छन्। शनिबार एकैदिन ठूलो संख्यामा संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २७ हजार १२७ जना संक्रमित निको भइसकेका छन्। यो संक्रमित संख्याको ६० प्रतिशत हो। निको हुने दर ५४ बाट बढेर ६० पुगेको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा एक हजार ४० जनामा संक्रमण पुष्टि भएको छ। ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। सवैभन्दा बढी आज पनि काठमाडौंमा नै संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३२६ जनामा संक्रमण देखिएको छ। ललितपुरमा ३७ र भक्तपुरमा ४५ गरी राजधानी उपत्यकामा ४०८ जनामा संक्रमण पुष्टि भएको छ।
राजधानी बाहेक रुपन्देहीमा धेरै संक्रमित थपिएका छन्। रुपन्देहीमा ७१, बाँकेमा ६२, सिरहामा ४१, मोरङमा ३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। शनिबार थपिएको सहित अहिले देशभर १७ हजार ८७० जना संक्रमित उपचारत छन्। त्यस मध्ये नौ हजार ८६६ संस्थागत र आठ हजार चार जना होम आइसोलेसनमा उपचारत छन्।
शनिबार थप ९ जनाको मृत्यु भएको छ। शनिबारसम्म देशभर संक्रमणबाट २८० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।