कोरोनाबाट आत्तिएर अशान्ति मच्चाउने कि अनुशासित भएर बाँच्ने ?
संभाव्य कोरोना संक्रमणबाट डराउँदा नहुनुपर्ने व्यवहार र घटनाहरु भइरहेका छन्। काठमाडाैंको बानेश्वर, चितवनको रत्ननगर, बागलुङ, वीरगञ्ज वा ललितपुरमा स्वास्थ्यकर्मी र सर्वसाधारणमाथि भएका अप्रिय घटना डरबाटै सिर्जित भएका हुन्।
गएको साताको शनिबार स्वास्थ्यकर्मी अभिषेकराज सिंहको खाताबाट फोटोसहित एउटा ट्वीट पोष्ट भयो। सिंहको ट्वीटको विषयमा सर्वसाधारणदेखि समाजमा स्थापित नागरिकले धारणा राख्ने क्रम अहिलेसम्म जारी छ। ट्वीटमा कमेन्ट लेख्ने प्रायः सबैले फोटोमा देखिएका एक हूल मानिसहरुको व्यवहारमाथि प्रश्न गरेका छन्।
यो लेख तिनै अमिल्दा, कुवेलाका र देशैभरि कुनै न कुनै रुपमा प्रकट भएका अत्यन्तै निन्दनीय व्यवहारहरुमाथि प्रश्न हो। साथै अहिले मात्र हैन कुनै पनि संवेदनशील अवस्थामा जहिले पनि त्यसो नगरौं भन्ने आग्रह पनि हो।
सिंहको उक्त ट्वीट अनुसार नयाँबानेश्वरको नागरिक अस्पतालका स्वास्थ्यकर्मीहरु त्यतै नजिकको कुनै एकघरको एकान्तवासमा बसेका छन्। तर, स्थानीयहरु ती स्वास्थ्यकर्मीलाई आइसोलेसनमा बसेको घरबाट निकाल्न चाहन्छन्।
त्यसको कारण ट्वीटमा नखुलेको भए पनि अनुमान लगाउन सकिन्छ कि कोरोनाभाइरस संक्रमणबाट सबभन्दा बढी जोखिममा रहेका ती स्वास्थ्यकर्मीबाट टोलमा संक्रमण फैलन्छ भन्ने डरले काम गरेको छ। त्यति मात्र नभई भाइरसप्रतिको अल्पज्ञान, भीडको निर्णय र संवेदनाहीन आक्रोशले पनि काम गरेको छ।
यस्ता घटनाहरु नौला भने हैनन्। केही दिन पहिले चितवनमा अलिक फरक प्रकृतिको घटना भयो। चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वबन्धु बगालेको घरमा ‘कोरोना संक्रमितको घर’ लेखिएको ब्यानर टाँसियो। डा. बगाले र उनकी श्रीमतीलाई कोरोना पोजिटिभ भएपछि त्यहाँ त्यस्तो गरिएको थियो।
चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विश्वबन्धु बगालेको घरमा ‘कोरोना संक्रमितको घर’ लेखिएको ब्यानर टाँसियो। डा. बगाले र उनकी श्रीमतीलाई कोरोना पोजिटिभ भएपछि त्यहाँ त्यस्तो गरिएको थियो।
कोरोना संक्रमण फैलिरहेको बेला यस्ता घटनाहरु किन भइरहेका छन्? यस्ता घटना आफैं हराउँछन् भनेर पन्छिनुको साटो कारणको गहिराइमा पुग्नुपर्छ। यस्ता घटना नदोहोरिइने वातावरण बनाउनका लागि कोरोनाभाइरसप्रति हाम्रो बुझाइको दायरा फराकिलो पार्नुपर्छ। बितेका ६–७ महीनादेखि हामीले सुन्दै र बुझ्दै आएको कोरोनाप्रतिको कथनलाई अब पुनः परिभाषित र व्याख्याको जरुरी छ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको प्रभाव कम हुन दुई वर्ष लाग्न सक्ने बताइसकेको छ। त्यो दुई वर्ष अर्थात् २४ महीनाबाट बितेका आठ महीना घटाउँदा अबको १६ महीनापछि पनि स्थिति सामान्य नहुनसक्छ।
बितेका आठ महीनामा कोरोनाले के मात्र गरेन? ८ महीना अर्थात् २४० दिनदेखि संसारको मुख्य ध्यान कोरोनासँग लड्न र यसबाट मुक्त हुने उपायको खोजीमा केन्द्रित छ । औषधि र खोप अझै बन्न सकेको छैन । अझै १६ महीना? के होला अवस्था? संझदा नि डर लाग्छ!
नागरिकको तर्फबाट हामीले हटाउनुपर्ने मुख्य कुरा नै डर हो। भोलि के हुन्छ भनेर अहिले डराउँदा नहुनुपर्ने व्यवहार र घटनाहरु हामीबाट भइरहेका छन्। काठमाडाैं बानेश्वरको होस् वा चितवन रत्ननगर अथवा बागलुङदेखि वीरगञ्ज वा ललितपुरमा स्वास्थ्यकर्मी र सर्वसाधारणमाथि भएका अप्रिय घटना यही डरबाट सिर्जित भएका हुन्।
कोरोनाभाइरसको प्रभाव कम हुन दुई वर्ष लाग्छ भन्नुको सरल अर्थ हो, अब हामीले भाइरससँगै बाँच्न सिक्नुपर्छ। डराउने हैन हाम्रो दैनिकी अनुशासित र संयमित हुनुपर्छ। भाइरसको संक्रमणबाट बच्न र थप फैलिन नदिन स्वास्थ्यकर्मी र विज्ञका सल्लाह विना शर्त र विना तर्क मान्नुपर्छ।
सुरक्षित एकान्तवास मार्फत हैन भीडभाड र हाम्रा अराजक गतिविधिबाट भाइरस संक्रमण दर बढ्छ। एकान्तवासमा बसेका स्वास्थ्यकर्मी वा बिरामीबाट हैन विज्ञका सुझाव, परिवार र सरकारको आग्रह अनुसार व्यवहार नगर्नेहरुबाट कोरोना फैलिन्छ। त्यसैले संयमता र अनुशासनमा बसेर भाइरसप्रतिको डर भगाउने हो भने भाइरससँगै दैनिकी अघि बढाउन अप्ठेरो हुँदैन।
कोरोनाभाइरस देखिने बित्तिकैदेखि विज्ञहरुले संसारभरि नै एउटै कुरा भनिरहेका छन् कि कोरोना एक प्रकारको भाइरस हो। यो नियन्त्रणमा आउँछ। अहिलेको परिस्थिति स्वास्थ्य संकटकाल हो।
कोरोनाभाइरस देखिने बित्तिकैदेखि विज्ञहरुले संसारभरि नै एउटै कुरा भनिरहेका छन् कि कोरोना एक प्रकारको भाइरस हो। यो नियन्त्रणमा आउँछ। अहिलेको परिस्थिति स्वास्थ्य संकटकाल हो।
जनस्वास्थ्यविज्ञहरु भन्छन्, भाइरसको संक्रमण हुनु अपराध हैन। त्यसैले संक्रमितलाई अपराधी जस्तो व्यवहार नगरौं। किनकि संक्रमित हुनु न उसको रहर हो, न त सबैलाई सार्दै हिंड्छ। त्यसकारण भाइरस र संक्रमित दुवैलाई हेर्ने नजरमा परिवर्तन गर्नैपर्छ।
संक्रमित र यसको उपचारमा संलग्न स्वास्थ्यकर्मीप्रति दुर्व्यवहार बढ्नुको कारण बुझ्न कोरोना उत्पत्तिदेखि नै कसरी यसलाई आतंकको रुपमा चित्रित भएर त्यही कथन समाजमा स्थापित भयो भन्ने बुझ्नु र बुझाइनु जरुरी छ।
सामाजिक गतिविधि पूर्णरुपमा ठप्प पारेर शुरु गरिएको भाइरस नियन्त्रण विधि अहिलेसम्म यतिसम्म डरलाग्दोसँग मनमा गढेर बसेको छ कि संक्रमण हुने वित्तिकै ‘सबै सकियो’ भन्ने कथन थाहै नपाई स्थापित भए। समाजको बुझाइ र व्यवहार त्यसरी नै निर्देशित भए।
तर, त्यसो हैन। तथ्यांकले नै भन्छ, संक्रमणबाट मृत्यु हुनेभन्दा बाँचेर घर फर्कनेहरु कैयौं गुणा बढी छन्। यसको सोझो अर्थ हो भाइरस लाग्ने बित्तिकै मरिंदैन। संक्रमितले अरुलाई सार्दै र मार्दै पनि हिंड्दैन।
भीडभाड र अस्वस्थ गतिविधिले भाइरस फैलिने मौका पाउँछ भने अनुशासित जीवनशैलीले संक्रमण फैलिन नदिन सहयोग पुग्छ। नागरिक संयमित बन्दा नियन्त्रणका लागि ध्यान दिन र काम गर्न नियमनकारी निकायलाई सजिलो हुन्छ। त्यसैले यो भाइरस विरुद्ध लकडाउनलाई शुरुदेखि नै प्रमुख विधि मानिएको हुनुपर्छ।
लकडाउनले निम्त्याउने चुनौती अनगिन्ती छन् भन्ने विषय कतैबाट लुकेको छैन। तथापि अहिले यो जरुरी छ। त्योभन्दा महत्वपूर्ण काम चाहिं बिरामी तथा स्वास्थ्यकर्मीप्रति हामी नागरिक तहबाट गर्नुपर्ने व्यवहार तथा दिनुपर्ने ढाडस र हौसला। हैन भने उनीहरुमाथिको दुव्र्यवहारको असर र त्यसबाट हुने परिणाम हामीले लामो समयसम्म भोग्न तयार हुनुपर्छ, जुन कदापि सुखद हुन सक्दैन।
भर्खर मात्र कोरोना संक्रमितहरु देखिन थालेका बेला बागलुङकी एक युवती लक्षण देखिएको कैयौँ दिनसम्म अस्पताल जान सकिनन्। परिवार तथा गाउँलेले उनलाई यतिसम्म भने कि, कोरोना संक्रमण भएको थाहा भयो भने उनको बिहे नै हुँदैन।
समाजमा व्याप्त यस्तै सोच र अफवाहकै कारण पूर्वी नेपालका एक चिकित्सकले आफू संक्रमित भएको कुरा केही दिनसम्म लुकाए। कहिलेकाहीं समाचारमा पढिन्छ कि कतिपय जनप्रतिनिधिहरु नै परीक्षणका लागि स्वाब दिन तयार हुँदैनन्। संक्रमण बढ्नुमा यस्ता कारणहरुले पनि भूमिका खेल्छ।
त्यसैले हामीले कोरोना संक्रमितलाई हेला र दुर्व्यवहार हैन माया गर्नुपर्छ। तिरस्कार र घृणा हैन उनीहरुलाई हौसला चाहिएको छ। कोरोनालाई अब अन्य मौसमी रुघाखोकी जस्तै ठानेर उपचारका लागि आफैं पहल गर्नुपर्छ।
स्वास्थ्यकर्मी जस्तै दिनरात नभनी नागरिकलाई सुसूचित र सरकारलाई खबरदारी गरिरहेका सञ्चारमाध्यमले कोरोनाभाइरस संक्रमणबारे रिपोर्टिङ गर्न अहिलेसम्म अभ्यास गरिएको शैलीलाई समीक्षा र परिमार्जन गर्नु जरुरी भइसकेको छ। संवेदनशील यस घडीमा राज्यलाई प्रश्न गर्ने र जवाफदेही बनाउनुको अतिरिक्त सञ्चारगृहले नागरिकलाई आतंकित हुन नदिने गरी सञ्चार सामग्री उत्पादन र वितरण गर्नुपर्छ।
उदाहरणका लागि संक्रमित हुने र मृत्यु हुनेको दैनिक संख्यालाई अनावश्यक रुपमा ठूलो स्वरमा वाचन गरिने रेडियो र टेलिभिजन शैलीले लकडाउनका बेला अभिभावकसँगै समाचार सुनिरहेका र हेरिरहेका बालबालिका मात्र हैन आफैँ बुझ्ने भइसकेकाहरुको मनमा पनि चिसो पस्छ। संक्रमितको संख्या १००/२०० नाघ्ने वित्तिकै ‘फलानो ठाउँ हटस्पट’ भन्ने शीर्षकका समाचारले पाठकलाई अनावश्यक तनावमा धकेल्छन्। सुन्दा झिनामसिना लाग्ने यस्ता कुरा मानसिक समस्या बढ्नमा ठूलो कारक हुन सक्छन्।
रेडियो र टिभीका समाचारमा संक्रमित र मृतकको संख्या अस्वाभाविक ठूलो स्वरमा भन्नुपर्ने खास कारण? के त्यसो गर्नु जरुरी छ? कोरोना संक्रमण हुने बित्तिकै प्रमुख समाचार बनाउनै पर्छ र?
झिनामसिना कुरा नै सही सञ्चारमाध्यमको सम्पादकीय नेतृत्व सबभन्दा पहिले प्रष्ट हुनुपर्छ कि हटस्पट बन्ने आधार के–के हुन्? जस्तै २० लाख जनसंख्या भएको शहरमा कति संक्रमित देखिए त्यो हटस्पट हुन्छ?
रेडियो र टिभीका समाचारमा संक्रमित र मृतकको संख्या अस्वाभाविक ठूलो स्वरमा भन्नुपर्ने खास कारण? के त्यसो गर्नु जरुरी छ? कोरोना संक्रमण हुने बित्तिकै प्रमुख समाचार बनाउनै पर्छ र? अथवा कोरोना जित्नेका कथाले बिरामी र जोखिमको संभावना रहेकालाई प्रेरणा पो दिन्छ कि? सरकारको जवाफदेहितासँगै नागरिकको दायित्व पनि बुझाउने कि? समाचार कक्षले एकदिन र एकपटक हैन हरेक दिन यी र यस्ता प्रश्न आफैंलाई सोध्नुपर्छ।
सञ्चारमाध्यमले बिरामीको हौसला बढाउने किसिमका उत्प्रेरक सामग्रीको उत्पादन र वितरण धेरै गर्नुपर्छ। स्वास्थ्यकर्मीमाथि भइरहेका वा हुनसक्ने दुर्व्यवहार विरुद्ध खबरदारी गरेन भने उसमाथि पनि मतियारको आरोप लाग्न सक्छ। सरकारका गलत काम कारबहीप्रति त सधैंभरि खबरदारी भइरहेकै छ, नागरिकप्रतिको जिम्मेवारी र जवाफदेहिताबाट सञ्चारमाध्यम अलग्गिन पाउँदैनन्।