सेमिफाइनल पुगिसकेको सन्दीपको टीम बार्बाडोसविरुद्ध भिड्दै
क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा आज दुई खेल हुँदैछन्। पहिलो खेल अंक तालिकाको शीर्ष स्थानमा रहेको ट्रिबागो नाइट राइडर विरुद्ध तेस्रो स्थानको सेन्ट लुसिया भिड्दैछ।
सेमिफाइनल पुगिसकेको यी दुवै टीम बीचको खेल साँझ पौने आठ बजे शुरु हुनेछ। दोस्रो खेल भने नेपालका लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तल्लाहवाजले बार्बाडोस ट्रिडेन्ट्ससँग मध्यराति १२ बाट खेल्दैछ। सन्दीप आवद्ध टीम जमैकाले दुई खेल अगाडि नै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ।
बार्बाडोस् भने लिगबाट बाहिरिसकेको छ। गुएना अमाजोन वारिवर्ससँग स्तब्ध हुँदै लिगबाट बाहिरिसकेको बार्बाडोस अन्तिम खेल खेल्दैछ।
जमैकाले आठ खेलबाट सात अंक जोडेको छ भने बार्बाडोसले नवौं खेलबाट चार अंक जोडेको छ। नाइट राइडरले अपराजित रहँदै आठ खेलबाट १६ अंक जोडेको छ भने दोस्रो स्थानको गुएनाले दश खेलबाट १२ अंक जोडेको छ। सेन्ट लुसियाले आठ खेलबाट १० अंक जोडेको छ भने अन्तिम स्थानमा रहेको सेन्ट किट्स एण्डा नाभिस पेट्रोइट्सले ९ खेलबाट तीन अंक जोडेको छ।
आठ खेल सकिएको जमैकाको खेलमा सन्दीपले सात खेलमा बलिङ गरेका छन्। एक खेल भने वर्षाका कारण अंक बाडिएको थियो।
सातौं खेलबाट सन्दीपले १० विकेट लिएका छन्। उनी लिगमै धेरै विकेट लिने बलरमा छैटौं स्थानमा छन् भने किफायती बलरमा पाँचौं स्थानमा छन्। सन्दीपले २८ ओभरमा १३६ रन खर्चिएर ४.८५ को इकोनोमी बनाएका छन्।