उनी मिर्गौलाको खोजीमा छन्
उनी वेलावेला नयाँ तस्वीरसँगै ‘दबङ’ लेखेर झुल्कन्छन्, आफ्नो फेसबुकको भित्तामा। उनी साँच्चिकै साहसी र निडर छन्। यी साहसी साथी हुन्, कञ्चनपुर जिल्लाका धीरेन्द्र सिनाल।
उनी लामो समयदेखि सुदूरपश्चिमको आवाजलाई रेडियो र पत्रिकामार्फत राजधानीसम्म पुर्याउँथे। पत्रकारिता गर्दागर्दै प्रेममा परे। उनको प्रेमले २०६८ सालमा आइपुग्दा विवाहको लाइसेन्स पायो। प्रेमिका सोनु दुलही भएर धीरेन्द्रको जीवनमा भित्रिइन्।
अब उनीहरूलाई नयाँ संसार बनाउनु थियो, जहाँ प्रेमको निशानी उज्यालो किरण लिएर भित्रियोस् र दुवैको जीवनमा खुशीको रङ छरोस्। सोनु आमा बन्न पाउने खुशीले पुलकित थिइन्। धीरेन्द्र सोनुको गर्भमा बढ्दै गरेको आकृति देखेर दंग थिए। उनीहरू विश्वस्त थिए, त्यो आकृतिले परिवारमा खुशीको चमक भर्नेछ।
कुरा २०६९ साल कात्तिक महीनाकोे हो, जतिवेला सोनुको गर्भमा सात महीनाको शिशु हुर्कंदै थियो। अचानक रक्तचाप बढेर उनलाई असहज भयो। नियमित जाँच गरिरहेको कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा जँचाउन पुगिन्। त्यहाँ स्त्रीरोग विशेषज्ञ नभएकोले अन्य प्राइभेट क्लिनिकमा गए। तर, न चित्त बुझ्दो जवाफ आउन सक्यो न त ठीक नै भयो।
उपचारकै लागि यताउता भौंतारिए। अन्तमा धीरेन्द्रले सोनुलाई लिएर भारतको बरेलीस्थित राममूर्ति स्मृति मेडिकल कलेज पुगे। त्यतिवेलासम्म समय निकै घर्किसकेको थियो। सोनु बेहोशी अवस्थामा थिइन्। प्रविधिले आफ्नो देशको भन्दा सम्पन्न अस्पतालमा पुगेकाले सोनु र उनको गर्भको बच्चा सकुशल रहनेमा धीरेन्द्र विश्वस्त थिए।
तर, त्यो विश्वासको धरहरा गल्र्याम्म ढल्यो। अस्पतालले सोनुको दुवै मिर्गौलाले काम गर्न छोडेको दुखद् खबर दियो। सोनुलाई खासमा प्रिक्लाम्सिया (उच्च रक्तचापको कारण गर्भ अवस्थामा देखिने एक प्रकारको समस्या) भएको रहेछ।
त्यतिवेलासम्म उनको गर्भको बच्चाले पनि प्राण त्यागिसकेको थियो। अब जतिसक्दो छिटो गर्भबाट मृत बच्चा ननिकालेमा सोनुको पनि जीवनको अन्त्य निश्चित जस्तै थियो। चार दिनको अथक् प्रयासपछि डाक्टरले मृत बच्चा निकाल्न सफल त भए तर, बच्चासँगै पाठेघर पनि निकालियो। सोनुको आमा बन्ने ‘भाग्य’ खोसियो। जे जस्तो भए पनि सोनु बाँचेकी थिइन्, त्यसैमा धीरेन्द्र खुशी थिए।
यति उपचार गर्दासम्म साढे सात लाख भारु अर्थात् नेपाली रु.१३ लाख सकियो। धीरेन्द्र रेडियो शुक्लाफाँटामा म्यानेजरको रूपमा कार्यरत थिए। नेपालमा पत्रकारको कमाइ राम्रो छैन। त्यसमाथि उनी मोफसलमा बसेर काम गर्ने।
उपचारका लागि उनले साथीभाइ, आफन्तसँग सहयोग मागे। ऋण गरे। ऋणबाट जतिसक्दो छिटो मुक्त हुनका लागि भएको गरगहना बेचिदिए। ऋणबाट केही हलुको त भयो तर, सोनुको जीवन बचाउने सिंगो जिम्मेवारीको धरहरा फेरि सामुन्ने ठिङ्ग उभिएको थियो।
पारिवारिक समस्याले गाँज्दै गरेको वेला उनको पेशागत जीवनमा पनि असहज परिस्थिति आउन थाल्यो। सोनुको उपचारको लागि पटकपटक भारत जानुपर्ने हुँदा विदा र पारिश्रमिकको कुरालाई लिएर उनका सहकर्मी साथीहरू असन्तुष्ट देखिन थाले। त्यही तनावबीच उनी रेडियोको जागीर छोड्न बाध्य भए।
त्यसपछि उनको जीवनले नयाँ मोड लियो।
उनले रेडियोकर्मीको रूपमा जति कमाउँथे त्योभन्दा राम्रै पारिश्रमिक पाउने गरी गैरसरकारी संस्थामा काम शुरू गरे। अस्थायी भए पनि आउने समस्याहरू जेनतेन टर्दै गए। तर सोनुको स्वास्थ्य अवस्था भने समयसँगै जटिल बन्दै गयो।
कि मिर्गौला प्रत्यारोपण अथवा जीवनभर डायलासिस, दुईमध्ये एउटा विकल्प रोज्नै पर्ने बाध्यता थियो। मिर्गाैला प्रत्यारोपणको लागि पहिला त अंगदाता चाहियो। त्यसपछि ठूलो मात्रामा पैसा। यी दुवै भए पनि स्वास्थ्य सेवा मेडिकल माफियाको हातमा भएको हाम्रो देशमा मिर्गौला प्रत्यारोपण प्रक्रिया पटक्कै सजिलो छैन।
हाम्रा प्रधानमन्त्री केपी ओलीको पनि दुई पटक मिर्गौला प्रत्यारोपण भएको हो। तर, सजिलै प्रत्यारोपण गरेका उनलाई कसरी थाहा होस् सामान्य नागरिकको भोक नीद सबै खोस्ने बिग्रेको मिर्गौलाको कथा।
केही समयअघि हाम्रै क्याफेको कर्मचारी पदम रसाइलीको १७ वर्षे भाइको पनि मिर्गौला प्रत्यारोपण हुनै नपाई मृत्यु भयो। डायलासिसको भरमा बाँचेका उनको लागि मिर्गौला दिन उनकै बुबा तयार थिए। प्रत्यारोपण र थप औषधि उपचारको लागि पैसा नपुग थियो।
देश–विदेशबाट उनको बचाउको लागि सहयोग रकम संकलन भइरहेको थियो। हामीले पनि क्याफेमै उनको सहयोगको लागि दृष्टिविहीन कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रम गरी सहयोग संकलन गरेका थियौं। पदम एक्लो थिए, जसको पाखुराको भरमा भाइको औषधि, खाना, खाजा र काठमाडौंको महँगो डेराको बसाइ चलिरहेको थियो।
त्यसमाथि उनकी आमा पनि बिरामी थिइन्। दुःखको भारी त कति हो कति। भाइलाई जसरी भए पनि बचाउँछु भनेर पदमले चालेको कदम एकाएक रोकियो । मिर्गौला प्रत्यारोपणको लागि रकम संकलन हुँदाहुँदै उनको मृत्यु भयो।
धीरेन्द्र पनि आफ्नी जीवनसँगिनी बचाउन मनमुटुले लागिरहेका छन्। उनको मिर्गौला ‘म्याच’ हुन्थ्यो भने उतिवेलै उनकी श्रीमती सोनुले नयाँ जीवन पाउँथिन्। अनि धीरेन्द्रजीको हातमा हात राख्दै जिन्दगीका जस्तासुकै बाधा अड्चनहरू मिलेर फुकाउँथे होला।
धीरेन्द्र वेलावेला भन्ने गर्छन्, “मिर्गौला एक्सचेञ्ज गर्ने सम्भव भयो भने त्यो पनि गर्न खोजिरहेछु मनीषाजी।” उनी सोनुलाई बचाउन आफ्नो मिर्गौला कोही मिल्नेलाई दिएर उताबाट सोनुको लागि मिल्ने मिर्गाैला खोज्दैछन्।
मिर्गाैला बिरामीलाई हप्ताको दुई पटक डायलासिस गर्नुपर्छ। सरकारले मिर्गौला बिरामीको लागि निःशुल्क डायलासिसको व्यवस्था शुरू गरेको छ। निःशुल्क भए पनि लगभग हप्तामै औषधि, खाना, यातायात गर्दा रु.१५ हजारदेखि २० हजार खर्च हुन्छ। सोनुको लागि यो सुविधा उपयोग गर्नु भनेको बाँच्न बाँकी आयु जानाजानी छोट्याउनु जस्तै हो भन्छन् धीरेन्द्र।
किनकि सोनुमा हेपाटाइटिस पोजिटिभ देखिएकोले मनलाई घोच्ने गरी अरू बिरामीमा हेपाटाइटिस सर्न सक्छ भन्ने मनसायका टिप्पणीहरू चिकित्सक तथा स्वास्थ्यकर्मीहरूबाट सुन्नुपर्छ। जबकि सोनु अहिले हेपाटाइटिसबाट मुक्त छिन्।
कतिपय अस्पतालले उनलाई डायलासिसको लागि नलिएको घटनाहरू पनि छन्। यसले उनलाई मानसिक तनाव त दिन्छ नै पालो कुर्नुपर्ने समय पनि लम्ब्याइदिन्छ। यी यस्ता झन्झटबाट पार लाउन सोनु महेन्द्रनगरबाट पारि भारत जान्छिन्। तर, अहिले कोरोनाभाइरसको कारण त्यो सुविधा लिन पनि चुनौतीपूर्ण भएको छ।
यतिवेला देश बन्दाबन्दीमा छ। जसको कारण केही दिनअघि मात्र धनुषा, सबैला नगरपालिकाका ३२ वर्षीय प्रमोद महतो डायलासिसको सुविधा नपाएर मृत्युवरण गर्न पुगे। पत्रपत्रिकामा बुढेसकाल लागेको आमाबाबुको काँधको आडमा बलैसँग उभिएका उनको तस्वीरले धेरैको मन दुखेको हुनुपर्छ। यसरी नै दुख्छ मन, जब साथी धीरेन्द्रको अवस्था देख्छु।
तर उनी निर्धक्क हाँस्दै भन्ने गर्छन्, “काम शुरू गर्ने होइन त मनीषाजी?” खासमा उनी र म सँगै एउटा रेडियो नाटक लेख्ने काम गर्दै थियौं। म र मेरो परिवारको गाँसबासको आवश्यक्ता केही पूरा होला भनेर म यो काममा जोडिएकी थिएँ। उनी यसबाट सोनुको डायलासिसको लागि थोरै भए पनि मदत पुग्ला भनेर जोडिएका थिए।
साँच्ची भन्दा उनको लागि काम यति महत्वपूर्ण भएको छ कि पाएसम्म हर काम गर्न सकूँ। उनी अहिले अस्थायी काम गर्दै आइरहेका छन्, जसको आयु क्षणभरमै सकिन्छ। आयु नभएका काम गर्दै भए पनि उनी आफ्नी जीवनसाथीको आयु लम्ब्याउन चाहन्छन्। भन्छन्, “सोनुलाई बचाउन पनि मैले काम त गर्नै पर्छ।”
यसो सोच्छु, कोरोना कहर त लामै जाला जस्तो छ तर, के धीरेन्द्र जस्ता प्रेमिल पतिहरूले मृत्युसँग लडिरहेका आफ्ना जीवनसाथीको आयु लम्ब्याउनकै लागि काम पाइरहलान्... ?