भलपहिरोबाट यसकारण हुँदैछ ठूलो मानवीय क्षति
सामाजिक तथा आर्थिक परिवर्तनले बढ्दै गएको अव्यवस्थित बसोबास र बदलिंदो जलवायुकै कारण पहाडी क्षेत्रमा मानवीय क्षति हुने गरी भलपहिरोका घटना बढेका छन्।
गएको बुधबार राति भुजी खोलामा आएको बाढी–पहिरोले बागलुङ्ग जिल्लाको ढोरपाटन नगरपालिकाका वार्ड नम्वर ९, ८ र ७ मा ठूलो क्षति पु¥याएको छ। राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म १४ जनाको शव प्राप्त भएको छ भने अझै २४ जना वेपत्ता छन्।
यो वर्ष बाग्लुङ्ग, पर्वत, सिन्धुपाल्चोक, अछामको रामारोसन र बझाङमा गएको पहिरोबाट ठूलो धनजनको क्षति भयो। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार रामारोसनको कैलास खोलामा ३ भदौमा आएको बाढीले बगाउँदा आठ जनाको मृत्यु भयो। नौ जना अझै वेपत्ता छन्।
त्यसैगरी बझाङको केदाररस्यु गाउँपालिका–८ मा गएको पहिरोमा परी नौ जनाको मृत्यु भयो। पहिरोले १८ घर बगायो।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेलका अनुसार सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदिमा गएको पहिरो बाहेक बाग्लुङ्ग, अछामको रामारोसन र बझाङको प्राकृतिक प्रकोप एकै प्रकारका छन्।
ती ठाउँमा भलपहिरो गएको पोखरेल बताउँछन्। भारी वर्षासँगै बगेको भलले गेग्रान र माटो बगाउँदै लगेपछि पहिरोको रुप लिन्छ। त्यसलाई भलपहिरो भनिन्छ। देशका सबै स्थानमा भएका विपदका मुख्य घटनामा पुगेका पोखरेल भन्छन्, “छोटो समयमा परेको मुसलधारे वर्षाले बगाउने पहाडको गेग्रयानबाट ठूलो क्षति भएको देखिन्छ।”
उनका अनुसार ढोरपाटनको भूजी खोलाको जलाधार क्षेत्रमा मुसलधारे वर्षा भएको थियो। उक्त वर्षाले गेग्रयान र ढुँगा सहितको पहिरो गएपछि खोला थुनियो। अनि खोला एकै पटक ब्लाष्ट हुँदा तल्लो तटीय क्षेत्रमा क्षति पु¥याएको हो।
“बाहिर आएका तस्वीर र समाचारभन्दा अवस्था भयावह छ,” घटनास्थल पुगेर फर्किएका पोखरेल भन्छन्, “एउटा मान्छेभन्दा ठूलो गोलाई र लम्बाई भएका ढुँगाहरु बाढीले बगाएर ल्याएको छ।”
जलवायूविज्ञ ङमिन्द्र दाहालका अनुसार जलवायुमा आएको परिवर्तनले ‘क्लाउड ब्रष्ट’ भएर एकै पटक ठूलो वर्षा हुने क्रममा पनि वृद्धि भएको छ। जसले गर्दा छोटो समयमा परेको पानीले पहाडको गेग्रयान र माटो बगाएर ल्याउँछ र ठूलो क्षति हुन्छ।
जलवायु विज्ञ दाहाल मौसमसंगै भौगोलिक, भौगर्विक, सामाजिक तथा आर्थिक अवस्थालाई पनि विपदसँग जोडेर हेर्नुपर्ने बताउँछन्। “भौगोलिक, भौगर्भिक तथा सामाजिक र आर्थिक अवस्थामा आएको परिर्वतनले जोखिम बढाउँछ र त्यसलाई विपदमा परिणत गर्ने कारण वर्षा भइदिन्छ,” उनी भन्छन्।
कुटो कोदालोको सट्टा मेसिनरी औजारको प्रयोगमार्फत स्थिर रहेको भौगर्भिक अवस्थामा परिवर्तन आयो भने मानिसको सामाजिक र आर्थिक अवस्थामा आएको परिवर्तनले जोखिमको पूर्वमूल्याङ्कन नै नगरी जस्तो पायो त्यस्तो ठाउँमा बस्तीहरु बसे। ऋनि विश्वव्यापी तापमान वृद्धिसंगै जलवायूमा आएको परिवर्तनले हुने मुसलधार वर्षा विपदको कारण बन्न पुगे।
पहाडमा पहिरोका घटना हुनु र त्यसले ठूलो क्षति निम्ताउनुको कारण क्लाउड ब्रष्ट भएको उनको भनाइ छ। “क्लाउड व्रष्ट पहाडमा बढेको छ। अहिले वस्ती बगाउने क्लाउड ब्रष्टकै परिणाम हुन्,” उनी भन्छन्। भूकम्पबाहेक अन्य दृष्टिकोणले पनि वस्तीहरुको जोखिम अध्ययन गर्नुपर्ने दाहाल बताउँछन्।
विपदका प्रमुख घटनाहरुलाई नजिकबाट हेरिरहेका प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेल पनि खोला किनारमा सडक पुग्ने वित्तिकै त्यसको छेउछाउमा बस्ती बसेका कारण ठूलो मानवीय क्षति भएको बताउँछन्। अछामको रामारोसन र बाग्लुङ्गको ढोरपाटनमा बढी मानवीय क्षति हुनुको कारण पनि यही हो।
“खोलाको बगरमा बाटो बन्दा वित्तिकै अन्धाधुन्ध घरहरु बनायौं। एउटै घटनाबाट ठूलो क्षति हुन थाल्यो । यो डर लाग्दो ट्रेण्ड हो,” पोखरेल भन्छन्।