कोरोना अपडेट: ६ जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार मुलुकभर कोरोना संक्रमित हुने व्यक्तिको संख्या ४४२३६ पुगेको छ। यीमध्ये २५५६१ जना निको भएका छन्, भने सक्रिय संक्रमितको संख्या १८४०४ छ। कुल संक्रमितमध्ये २७१ जनाको मृत्यु भइसकेको छ।
कोरोना संक्रमणका कारण मुलुकका सबैजसो जिल्ला प्रभावित बनेका छन्। तर, स्वास्थ्य मन्त्रालयको १९ भदौको तथ्यांक अनुसार मुलुकका ६ जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य रहेको छ।
६ जिल्लामा कोरोना संक्रमित भेटिए पनि उपचारपछि निको भएका कारण ती जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या शून्य देखिएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला गरि ६ जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य छ।
१५ भदौसम्ममा मुस्ताङ र हुम्ला गरी दुई जिल्लामा मात्र कोरोनाका सक्रिय संक्रमितको सख्या शून्य थियो।
स्वास्थ्य मन्त्रालयले ७ भदौमा सार्वजनिक गरेको तथ्यांक अनुसार धनकुटा, मुुस्ताङ, म्याग्दी र हुम्ला जिल्लामा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य थियो।
संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा १ भदौसम्ममा कोरोनाका सक्रिय संक्रमितको संख्या शून्य थियो।
यसअघि २५ साउनसम्मको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार कोरोना सक्रिय संक्रमित संख्या खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला गरि सात जिल्लामा शून्य थियो।