नेपालमा कोभिड-१९: निरन्तर बढ्दो छ मृत्युदर (इन्फाेग्राफिक्स)
नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको र मृतकको संख्या सँगै संक्रमितको अनुपातमा मृत्युदर पनि पछिल्लो पटक निरन्तर बढ्दो देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रूपमा सार्वजनिक गर्ने तथ्यांक केलाउँदा पछिल्लो एक सातामै मृत्युदरसमेत बढ्दै गएको देखिन्छ।
आज थप १४ जनाको कोभिड-१९ का कारण मृत्यु भएसँगै देशैभर मृतकको संख्या २७१ पुगेको छ। जुन् देशभरको संक्रमित ४४ हजार २३६ को ०.६१ प्रतिशत हुन आउँछ। अर्थात्, आज १०० जना संक्रमित हुँदा ०.६१ जनाको मृत्यु हुन्छ। यस्तो मृत्यदर एकसाता अघि मात्रै ०.५५ प्रतिशत थियो। १३ भदौमा ३७ हजार ३४० जना संक्रमित हुँदा २०७ जनाको मृत्यु भएको थियो।
३ जेठमा २८१ जना संक्रमित हुँदा नेपालमा कोभिड-१९ बाट पहिलो मृत्यु भएको थियो। जुन् ०.३५ प्रतिशत हुन आउँथ्यो। पछिल्ला दिनमा मृतकको संख्या बढ्दै जाँदा मृत्युदर पनि बढ्दै गएको छ। यद्यपि, नेपालमा कोरोना संक्रमणबाट भएको मृत्युदर भने विश्वव्यापी दर भन्दा कम नै छ। विश्यव्यापी मृत्युदर ३.३ प्रतिशत छ।
दक्षिण एशियाली देशहरूमा अफगानिस्तानको मृत्युदर विश्वव्यापी दर भन्दा बढी ३.७ प्रतिशत छ। त्यसपछि क्रमश: पाकिस्तानमा २.१ प्रतिशत र भारतमा १.७ प्रतिशत छ। बाङ्लादेशको मृत्युदर पनि नेपालको भन्दा बढी १.४ प्रतिशत छ। दक्षिण एशियामा नेपाल भन्दा कम मृत्युदर भएका देशहरूमा श्रीलङ्का, माल्दिभ्स र भुटान छन्।