स्वास्थ्य मापदण्ड पालना गरेर हिमाल आरोहण गर्न पाइने, पर्वतारोहण अनुमति जारी
कोभिड-१९ का कारण यो वर्षको वसन्त ऋणमा हुने सबै पर्वतारोहण गतिविधि रोकिएको भएपनि शरद् ऋतुको लागि पहिलो अनुमति जारी भएको छ। सरकारले बसन्त ऋतुमा हुने सबै पर्वतारोहण गतिविधि रोक लगाएका कारण सन् २०१९ मा कुनै पनि हिमाली गतिविधि भएन।
अब शरद ऋतुका लागि भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पहिलो अनुमति जारी गरेको छ। सरकारले १५ साउनदेखि पर्वतारोहण गतिविधि खुला गरेकोले शरद ऋतुमा हुने पर्वतारोहण गतिविधिमा जान अनुमति दिन सुरु गरेको पर्यटन विभागकी प्रवक्ता मिरा आचार्यले जानकारी दिइन्।
आचार्यले भनिन्, ‘‘७१२९ मिटरको बरुणत्से हिमाल आरोहणका लागि एक टोलीलाई अनुमति दिइएको छ।’’
यो हिमाल आरोहण गर्न एक टोलीका ६ जना पुरुषलाई अनुमति दिइएको छ। सरकारले पर्वतारोहण खुला गरेकाले प्रक्रिया पुराएर आउने टोलीलाई अनुमति दिन सकिने आचार्य बताउँछिन्।
स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गरी हिमाल आरोहणमा जान पाउने व्यवस्था विभागले गरेको छ। सोही मापदण्ड अनुसार नेपाली र विदेशी दुबैले हिमाल आरोहणको अनुमति पाउने आचार्यको भनाइ छ।
सरकारले शरद ऋतुका लागि नै बहराइनका राजकुमारसहित १८ जनालाई हिमाल आरोहणकै लागि नेपाल आउने अनुमति दिइसकेको छ। यो टोलीलाई निजी विमानबाट चार्टर्ड उडानमार्फत नेपाल आउन र पर्वतारोहणमा जान दिने निर्णय सरकारले गरेको छ।
सरकारले ३० भदौपछि बहराइनका राजकुमारसहितको टोलीलाई अनुमति दिएको हो। यो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गर्ने भएको छ। टोलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्नेछ।
यद्यपि यो टोलीले पर्यटन विभागबाट अनुमति लिइसकेको छैन। आरोहण टोली आएर औपचारिक प्रक्रिया पूरा गरेर आवेदन दिएपछि मात्रै पर्वतारोहण अनुमित पाउने पर्यटन विभागले जानकारी दिएको छ।