‘कोरोना हटस्पट’ काठमाडौंका स्थानीय सरकार के गर्दैछन् ? यस्तो छ १० नगरपालिकाको तयारी र व्यवस्था
आफ्नो क्षेत्रभित्र ठूला अस्पताल नहुने नगरपालिकालाई आईसीयू र भेन्टिलेटरको सुविधासहितको आइसोलेसन कक्ष व्यवस्थापनमा समस्या परेको छ भने ठूला अस्पताल भएका नगरपालिकाहरूले सकेसम्म नगरवासीलाई प्राथमिकता दिन थालेका छन्।
आज शुक्रबार, १९ भदौसम्म काठमाडौं जिल्लामा कोरोना संक्रमितको संख्या ६ हजार ८ जना पुगेको छ। जसमध्ये पुरुषको संख्या चार हजार ३२ र महिलाको संख्या एक हजार ९७६ छ। देशभरमै अहिलेसम्म सबभन्दा धेरै कोरोना संक्रमित रहेको जिल्ला पनि हो काठमाडौं। काठमाडौंमा १९ भदौसम्म २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौंका एक महानगरपालिका र १० वटा नगरपालिकामध्ये आधाभन्दा धेरै संक्रमित महानगरपालिकामै छन्। काठमाडौं महानगरपालिकामा बढिरहेको संक्रमितको संख्या देखेर यहाँका अन्य नगरपालिकाहरू ठूलो जोखिमको आकलन गरिएको र त्यही अनुसार तयारी गरिरहेको बताउँछन्।
होम आइसोलेसनमा बस्न प्रेरित, भत्तादेखि भेटघाटसम्म
सबैजसो नगरपालिकाले अब संक्रमितलाई होम आइसोलेसनमा बस्न प्रेरित गर्ने रणनीति अपनाएका छन्। होम आइसोलेसनमा बस्ने संक्रमितलाई भत्ता दिनेदेखि उनीहरूलाई भेट्न जनप्रतिनिधि नै पुग्ने समेत गरिरहेका छन्।
होम आइसोलेसनमा बस्न प्रेरित गर्दै त्यस अनुसारको कोठा, शौचालयको व्यवस्थापन गर्न पनि आग्रह गरिरहेका छन्। लक्षण नदेखिएकालाई होम आइसोलेसनमै बस्न, संक्रमित भइनसकेको घरपरिवारले पनि सम्भावित जोखिमलाई मध्यनजर गर्दै घरमा छुट्टै बस्ने व्यवस्था गर्न समेत भनिरहेका छन्।
यसका लागि जनचेतना मात्रै होइन कतिपय नगरपालिकाले होम आइसोलेसनमा बस्ने संक्रमितहरूको पोषण भत्ता दिने निर्णय समेत गरिसकेका छन्। कतिपय नगरपालिकाले भने संक्रमितलाई प्रमुख, उपप्रमुख र अन्य जनप्रतिनिधिहरू भेट्न जाने, निको हुनेलाई अस्पताल, आइसोलेसन सेन्टरबाट विदाइ गर्ने लगायतका काम पनि गरिरहेका छन्।
मुख्यतः संक्रमित र उसको परिवारलाई सबैले सहयोग गरेर हौसला दिने र चाँडै संक्रमणमुक्त हुने वातावरण बनाउन खोजिएको जनप्रतिनिधिहरूको भनाइ छ। त्यति मात्र होइन संक्रमितप्रति टोल छिमेकबाट दुर्व्यवहार हुने अवस्था नआउने विश्वास पनि नगरका जनप्रतिनिधिहरूको छ।
स्थानीय सरकारले नै संक्रमित र उनीहरूका परिवारलाई भेट्न जाँदा राम्रो सन्देश गएको र त्यसपछि समुदायले सहयोग गर्ने गरेको बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद पोखरेल बताउँछन्। “आइसोलेसन र अस्पतालमा बस्नेलाई सरकारले खर्च व्यहोर्ने गरेको छ, घरमा बस्नेले त राज्यलाई नै सहयोग गरेको हो” उनले भने, “त्यही भएर हामीले प्रोत्साहित गरेका हौं। अर्को कुरा, आइसोलेसन र अस्पतालमा ठाउँ पनि छैन। फेरि, घरमै पनि सुरक्षित बस्न सकिन्छ।”
बढ्दो संक्रमण र त्यसबाट निम्तिने जोखिमसँग जुध्न काठमाडौंका १० नगरपालिकाको तयारी र अवस्था कस्तो छ ? हामीले नगरपालिकाका प्रमुख र उपप्रमुखहरूसँग यसबारे कुराकानी गरेका छौं। प्रस्तुत छ, कुराकानीको सारसंक्षेप उनीहरूकै शब्दमा :
‘वडास्तरीय समिति सक्रिय बनाएका छौं’
१ वैशाखमा वागमती प्रदेशमै पहिलो कोरोना संक्रमण हाम्रै नगरपालिकामा देखिएको थियो। साउनको पहिलो हप्तासम्म १२ जना देखिएकोमा त्यसपछिको एक महीनामा बढेर १०० नाघ्यो। नगरपालिकाले कोभिड बाहेकका बिरामीको लागि पनि चौबीसै घण्टा सेवा पाउने गरी नगरभित्रकै र विभिन्न अस्पतालसँग समन्वय गरेको छ।
नगरले १०० बेडको आइसोलेसन कक्ष तयार गरेको छ, अक्सिजनका सिलिण्डरहरू पनि व्यवस्थापन गरिरहेको छ। जोखिमपूर्ण क्षेत्रका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूलाई हप्ताको दुई पटक सोमबार र शुक्रबार स्वाब लिने गर्दै आएको छ। हरेक वडामा राजनीतिक दल, शिक्षक, प्याब्सन/एनप्याब्सन, सामाजिक संघसंस्था, हरेक टोल विकास तथा अन्य समूह, क्लबका प्रतिनिधिहरू सम्मिलित वडास्तरीय समिति गठन भइरहेको छ।
वडाका ५०/६० जना यस्ता प्रतिनिधिहरूको भर्चुअल बैठक गरेर जनचेतनादेखि आवश्यकता अनुसारको सबै काम गर्न परिचालन हुने गरेका छौँ। जुन प्रभावकारी पनि देखिएको छ। कुनै कुरा समुदायसम्म पुर्याउनुपर्दा पनि यो समितिको माध्यमबाट गर्दा प्रभावकारी हुँदै गएको छ। पछिल्ला दिनमा संक्रमितको संख्या घट्दै आएको छ। पहिले एउटै वडामा ४४ जनासम्मलाई संक्रमण देखिएको थियो। बाहिरबाट आउने र सानोतिनो बजार भएको ठाउँ भएकाले यस्तो देखिएको होला भन्ने हाम्रो बुझाइ छ। सकेसम्म यस्तो क्षेत्रमा केन्द्रित भएर काम गरिरहेका छौँ।
‘केही दिनयता नदेखिएकाले बढ्न नदिने रणनीतिमा छौं’
शंखरापुर नगरपालिकामा भदौ लागेपछि मात्रै संक्रमित देखिएका हुन्। अहिलेसम्म २० जना भएको र ३/४ दिन यता कसैमा पनि पोजिटिभ नदेखिएकाले यसैलाई नियन्त्रण गर्ने रणनीतिमा छौं। मुख्यतः घर बाहिर निस्किन नदिनकै लागि माइकिङ र जनचेतनामा बढी ध्यान दिने गरेका छौं। धेरैले बुझिसक्नुभयो, डराउनु पनि भएको छ।
कोरोनाको जोखिम बुझ्दै जाँदा संक्रमितप्रति गरिने टोल–छिमेकको व्यवहार सकारात्मक बन्दै गएको छ, संक्रमितलाई सबैले सहयोग गरौं भन्ने भावना विकास भएको छ। होम आइसोलेसनमा बसेकाहरूलाई आफन्त, टोल छिमेकले सहयोग गरिरहेको पाएका छौं। नगरपालिकाले संक्रमितहरूसँग नियमित सम्पर्क गर्छ, समुदायले गर्ने व्यवहारको निगरानी गरिरहेका छौं। नगरकै स्वास्थ्य चौकीलाई नगर अस्पताल बनाएका छौं भने सुष्मा कोइराला मेमोरियल, पिल्स लाइफ अस्पतालमा समेत गरी करीब ४० बेडको आइसोलेसन तयार छ। कोरोना संक्रमितहरूकै लागि ‘डेडिकेटेड’ एम्बुलेन्स हालसम्म एउटा छ।
काठमाडौंका अरु स्थानीय तहमा जस्तो हाम्रोमा जोखिम देखिएको त छैन तर, थप जोखिम आउन सक्नेतर्फ सचेत छौं। त्यही अुनसार तयारी गरेका छौं। अस्पताल, एम्बुलेन्स, आइसोलेसन आदि कुरालाई प्राथमिकतामा राखेर जनचेतना जगाउँदै नगरवासीको ‘मुभमेन्ट’मा निगरानी गरिरहेका छौं।
‘होम आइसोलेसनमा बस्नेलाई पोषण भत्ता दिन्छौं, प्रमुख-उपप्रमुख नै भेट्न जान्छौं’
टोखा नगरपालिकाले संक्रमितहरूलाई होम आइसाेलेसनमा बस्न प्रेरित गर्ने र सहयोग गर्ने गरेको छ। हामी भेट्न जाने र दैनिक भत्ता समेत दिने गरेका छाैं। नगर कार्यपालिकाको बैठकले निर्णय गरेर होम आइसोलेसनमा बस्नेलाई पोषण भत्ताका रूपमा दैनिक रू.३५० दिने निर्णय गरेका हौं। स्वास्थ्य मापदण्ड अपनाउँदै पौष्टिक खानेकुरा लिएर नगर प्रमुख र उपप्रमुख घरमै भेट्न जाने तथा नियमित टेलिफोन सम्पर्क गर्ने गरेका छौं। नगरकै आइसोलेसनमा बसेर निको भएर घर जानेलाई बिदाइ गरेर आवश्यक सल्लाह सुझावसहित पठाइन्छ।
स्वास्थ्यकर्मीहरूले स्वास्थ्य अवस्था बुझ्ने र परामर्श दिने गर्छन्। घरभित्रै बस्नुस् मात्रै भन्नु भन्दा पनि टोलटोलमा कति जना संक्रमित भए भन्ने बारेमा सम्बन्धित टोलमै गएर भन्दिने गरिएको छ, जसले गर्दा व्यक्तिहरू आफैं बाहिर निस्किन डराउने हुँदा रहेछन्।
हरेक वडामा जनचेतना जगाउन तथा संक्रमित र उनीहरूको परिवारलाई सहयोग गर्न २०/२० जनाको स्वयंसेवक टोली नै गठन गरेर खटाइएको छ। नगरभित्रको सूचना दैनिक नगरपालिकाले वेबसाइट र फेसबुक तथा सबै जनप्रतिनिधिहरूले आ–आफ्नो सामाजिक सञ्जालमा पनि अपडेट गर्ने गरेका छौं।
वेबसाइटमा अपडेट गर्ने विवरणमा वडागत नयाँ संक्रमितदेखि निको भएको तथा पीसीआर परीक्षण गरेको सबै राख्ने गरेका छौं। स्वास्थ्य मन्त्रालयले जस्तै हरेक दिन कोरोना सम्बन्धी अपडेट प्रत्यक्ष प्रसारण नै गर्ने गरी प्राविधिक कर्मचारीहरूले तयारी गरिरहेका छन्।
नगरपालिकाको प्रसूति सेवा दिने चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन बनाएकाले प्रसूति सेवाका लागि प्रसूति गृह थापाथली अस्पतालमा पठाउने व्यवस्था मिलाएका छौं। त्यसको समन्वय नगरपालिकाले पनि गरिदिने गरेको छ। केही समस्या परेमा सम्पर्क गर्न जनप्रतिनिधि तथा स्वास्थ्यका कर्मचारीहरूको मोबाइल नम्बर वेबसाइट, फेसबुकदेखि विभिन्न माध्यमबाट नगरवासीलाई जानकारी दिएका छौं।
‘कोभिड र नन्कोभिड कसैले पनि उपचार नपाउने समस्या छैन’
हामी एक हप्ताभित्र कोरोनामुक्त नगरपालिका बनाउने अभियानमा छौं। नगरमा देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा रहेकाहरूको पनि सबैको पीसीआर परीक्षण भइसकेको र पछिल्लो समय संक्रमित कम हुँदै गएकाले थप नबढ्ने अनुमान छ। सक्रिय संक्रमितहरूको स्वास्थ्य अवस्था सबैको सामान्य रहेको छ। नेपाल मेडिकल कलेजमा १०० र शंखरापुर अस्पतालमा ७५ बेडको आइसोलेसन तयार छ भने कोरोना संक्रमितहरूकै लागि छुट्टै र अन्य बिरामी तथा प्रसूति सेवाका लागि पनि अर्को एम्बुलेन्स छ। अन्य बिरामीका लागि पनि एम्बुलेन्स निःशुल्क गरेका छौं।
नेपाल मेडिकल कलेज, शंखरापुर अस्पताल, खाङ्ग्री इन्टरनेशनल अस्पताल जस्ता ठूला अस्पतालका साथै वडा नै पिच्छे स्वास्थ्य चौकी समेत भएकाले कोभिड र नन्कोभिड कोही पनि बिरामीले उपचार नपाउने अवस्था छैन। चिकित्सकसहितको ‘र्यापिड रेस्पोन्स टीम’, स्वास्थ्य शाखाको प्रमुखको संयोजकत्वमा वडाध्यक्ष, प्रहरी, सेना रहेको ‘क्वीक रेस्पोन्स टीम’का साथै हरेक वडामा तालिमप्राप्त स्वयंसेवकहरूको टीम चौबीसै घण्टा खटिने व्यवस्था मिलाएका छौं।
नगरभित्र कोरोना सम्बन्धी अवस्था जानकारी होस् भनेर नगरको वेबसाइट र फेसबुक पेजमा अपडेट हुन्छ भने जनप्रतिनिधिहरूले पनि हरेक गतिविधि अपडेट गर्ने गरेका छौं। संक्रमित भएकाहरू निको भएर घर नफर्केसम्म हरेक दिन फोन गर्ने र उनीहरूको स्वास्थ्य अवस्थाको विवरणको रेकर्ड राख्न छुट्टै कर्मचारीलाई जिम्मा दिइएको छ। हाम्रो तयारी प्रायः सबैको भन्दा राम्रो र व्यवस्थित छ भन्ने लाग्छ।
‘विपन्न र सामाजिक सुरक्षा भत्ता पाउनेहरूको बीमा गर्दैछौं’
हामीले विपन्न, ज्येष्ठ नागरिक, अपांगता भएकाहरूको रु.१ लाखको कोरोना बीमा गरिदिन थालेका छौँ। १३ भदौमा बसेको नगर कार्यपालिकाको बैठकले निर्णय गरेर हरेक वडामा कोरोना विरुद्धको काममा खटिने स्वयंसेवक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने तथा ६० वर्ष नाघेका दीर्घ रोगी र विपन्न, दलितहरूको निःशुल्क एक लाख रूपैयाँको कोरोना बीमा गरिदिने भनेका छौं। नगरपालिकाका १० वटा वडामध्ये स्थानीय नगरवासी ७४ जना संक्रमित भएका छन्। अन्य सशस्त्र प्रहरीको हेडक्वार्टरका संक्रमित हुन्।
रानीवनमा पहिले सरकारले सुकुम्वासी वस्तीमा बस्नेहरूलाई राख्नका लागि बनाएको भवनलाई ५५० बेडको क्षमताको आइसोलेसन सेन्टरको रूपमा व्यवस्थित गर्दैछौं। पूरै भवनलाई व्यवस्थित गरिसक्न बाँकी छ। तर, संक्रमितलाई त्यहाँ राख्न शुरू गरिसकेका छौं। संघीय सरकारसँगको समन्वयमा वागमती प्रदेश सरकार, नगरपालिका भएर आइसाेलेसनलाई पूर्णता दिंदैछौं। ‘एटेच बाथरूम’सहितको कोठा रहेकाले यो एकदमै सुरक्षित र राम्रो हुन्छ।
वडा नै पिच्छे होल्डिङ सेन्टर बनाउने अवधारणा पनि अघि सारेका छौं। संक्रमित बढ्दै गएमा आइसोलेसन सेन्टर बनाउने छुट्टै मापदण्ड भएकाले लक्षण नभएका र घरमा बस्न समस्या भएकालाई राख्नका लागि यस किसिमको व्यवस्था वडा नै पिच्छे बनाउने तयारी छ। आइसोलेसनमा बस्नेहरूको हेरविचार स्वास्थ्यकर्मीहरूले गर्ने भएकाले होम आइसोलेसनमा बसेकाहरूलाई एक/दुई दिन बिराएर फोन गर्ने र समस्या बुझ्ने, परामर्श दिने गरिरहेका छौं।
दैनिक ज्याला–मजदूरी गरेर खानेहरू धेरै भएकाले राहत कसरी, कुन प्रक्रियाबाट बाँड्ने भन्ने आन्तरिक छलफल पनि शुरू गरेका छौं। तर, राहत वितरणमा संघीय सरकारको निर्णय पर्खिरहेका छौं।
‘ठूला अस्पतालहरू पनि भएकाले भेन्टिलेटर समेतको व्यवस्था छ’
नगरमा पछिल्लो केही दिनयता संक्रमित बढ्दै गएका छन्। वडा नम्बर २ बाहेक सबै वडा संक्रमित छन्। सबैको स्वास्थ्य अवस्था सामान्य छ। सतर्कता अपनाउनका लागि नगरपालिका र वडा कार्यालयहरू सबै बन्द छन्। जोखिमको तयारीका रूपमा भन्नुपर्दा नगरभित्र सशस्त्र प्रहरी अस्पताल बलम्बु र मनमोहन अस्पताल गरी दुई ठूला अस्पताल छन्।
नगर क्षेत्रभित्रका संक्रमितलाई उपचारमा प्राथमिकता दिने गरी सहमति भएको छ। नगरपालिकाकै १० वटा एम्बुलेन्स र चालकहरू चौबीसै घण्टा तयारी अवस्थामा हुन्छन्। अस्पतालमा जान केही दिन होल्डिङ गर्नुपर्ने अवस्था आयो भने, पनि नगरकै अर्को अस्पतालका बेडलाई तयारी अवस्थामा राखेका छौं।
काठमाडौं बाहिरबाट आएकालाई लकडाउन हुँदैदेखि क्वारेन्टिनमा राख्दै आएका छौं। नगरपालिकाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी र कर्मचारी, १० वटा एम्बुलेन्स चालकहरूको १० लाखको बीमा गरेका छौं। फ्रन्टलाइनर, मासुपसल र तरकारी पसल सञ्चालकलगायत जोखिमपूर्ण समूहको पहिचान गरेर पीसीआर परीक्षण गर्ने गरिएको छ। अहिलेसम्म करीब एक हजार जनाको पीसीआर परीक्षण भयो। नगरपालिकाको वेबसाइट र फेसबुकबाट हरेक दिन साँझ ५ बजे नगरवासीलाई भएका सूचना र संक्रमितको अवस्थाबारे जानकारी दिने गरेका छौं।
‘फुड ब्यांकमार्फत विपन्नलाई घरघरमै खाद्यान्न पुर्याउँछौं’
साउन लागेपछि हाम्रो नगरपालिकामा कोरोना संक्रमित भेटिएका थिए। अहिलेसम्म २० जना संक्रमित भएका छन्। यो संख्या भन्दा बढ्न नदिने उपायमा लागिरहेका छौं। नगरमा एउटा पनि ठूलो अस्पताल नहुँदा भने समस्या छ। अन्य अस्पतालहरूसँग समन्वय गरिरहेका छौं। केही दिन अघि एकजना गम्भीर कोरोनाकै बिरामीलाई अस्पताल पठाउन सबै अस्पतालमा फोन गर्दा पनि पाएनौँ।
एउटा कोभिड ‘डेडिकेटेड’ र अर्को अन्य बिरामीका लागि एम्बुलेन्स छ। तर, अर्को एउटा एम्बुलेन्सले पुग्ने रहेनछ। कोरोना संक्रमितको लागि त त्यस्तो समस्या परेको छैन। तर, अन्य बिरामीका लागि एम्बुलेन्स अभाव भएको छ। दुर्गम ठाउँहरू छन्, एकठाउँ गएर अस्पताल पुर्याएर फर्किनै समय लाग्छ। त्यत्ति नै बेला अर्को बिरामी छट्पटाउने अवस्था भएकाले अर्को एम्बुलेन्स तत्कालै चाहिएको महसूस भएको छ।
हाम्रो नगरपालिकामा काम गरेर खानेहरू धेरै छन्। निषेधाज्ञा फेरि पनि बढ्दै ग्एको छ। अझै बढ्दै जाने सम्भावना समेतलाई मध्यनजर गर्दै ‘फुड ब्यांक’ स्थापना गरेर त्यस्ता विपन्नहरूका लागि घरघरमै पुर्याइदिने तयारी भइरहेको छ। स्थानीय युवा स्वयंसेवकहरूले त्यसको नेतृत्व लिएका छन्। फोन नम्बरहरू सार्वजनिक गरिएको छ। आवश्यक पर्नेले फोन गर्छन् र वडाहरूले त्यस्ता विपन्नहरूको पहिचान गरेर मोटरसाइकलबाट घरमै आवश्यक खाद्यान्न पुर्याइदिने तयारी गरेको छ।
हाम्रो नगरपालिकामा ९ वटा वडा छन्। कृषिको विभिन्न उत्पादनका लागि वडा-वडालाई पकेट क्षेत्र घोषणा गरिएकाले एउटा गाडी कृषकहरूको लागि उपयोग गर्दै आएका छौं र अर्को एउटा पनि कृषि उत्पादनकै लागि प्रयोग गर्ने गरी गाडी किन्ने सोच छ। अहिले नास्पाती बिक्रीमा समस्या भएको छ। वडा नम्बर ८ फर्पिङ नास्पातीको पकेट क्षेत्र हो। तर, नास्पाती टिप्नेहरूलाई नै कोरोना संक्रमण भएकाले अहिले त्यो वडा नै सिल गरिएको छ। नास्पाती टिप्न पनि जो पायो त्यहीले नजान्ने भएकाले समस्या भएको छ। गत वर्ष त्यहाँको नास्पाती भारत पठाएका थियौं। तर, यसपालि भने टिप्नै ढिलो भइसकेको छ।
नगरले पूर्ण अपांगता भएका, सुत्केरी, एकल महिला र ६० वर्षमाथिका ज्येष्ठ नागरिक र विपन्न व्यक्तिहरूको लागि एक लाखको कोरोना बीमा गरिदिने प्रक्रिया अघि बढाएका छौं। हाम्रो मकवानपुरसँग सीमा जोडिएको छ। तर पनि अहिलेसम्म धेरै जोखिम भने भइसकेको छ भन्न मिल्दैन। यो भन्दा बढ्न नदिने भनेर नगरपालिका लागिरहेको छ।
‘संक्रमितहरूको सहयोगका लागि सहयोगी कार्यकर्ता खटाएका छौं’
काठमाडौं महानगरपालिकापछि धेरै जनसंख्या हाम्रै नगरपालिकामा छ। संक्रमितको संख्या पनि महानगरपछि दोस्रोमा छ। अहिलेसम्म २४५ जनामा संक्रमण देखिएको छ। चैतदेखि असारसम्म १५ जना मात्र थिए। अरु साउनयता थपिएका हुन्। संक्रमणको अध्ययन गर्दा अस्पतालमा कार्यरत कर्मचारीहरूबाट समुदायमा फैलिएको देखिन्छ।
हाम्रो नगर क्षेत्र र आसपासमा गरेर आधा दर्जन ठूला अस्पतालहरू छन्। मुख्यतः स्वास्थ्यकर्मी र बैंकका कर्मचारी, प्रहरी तथा बन्दका बेला पनि खोल्न पाइने पसलका सञ्चालकहरूबाट घरपरिवारमा र त्यसपछि समुदायमा फैलिएको पायौं। कतिपयको परिवारमा ७ जना, ५ जना सम्म पनि संक्रमित भएका छन्। शुरू शुरूमा कतिपयले लुकाएर बसेको, सामान्य रुघाखोकी त हो भनेर जाँच पनि नगर्ने र आइसोलेसनमा पनि नबस्ने गरेको पाइयो। यस्ता कुरा राम्रोसँग अध्ययन गरेपछि पीसीआर परीक्षणलाई व्यापक बनायौं। होम आइसोलेसनमा बसेर राज्यलाई सहयोग गरेको भनेर हामीले प्रोत्साहनस्वरूप एकमुष्ट चार हजार दिने निर्णय गरेका छौं।
साथै, उनीहरूलाई वडाध्यक्ष र स्वास्थ्यकर्मीहरू गएर भेटघाट गर्ने, परिवारलाई नै स्वास्थ्य कीट (बक्स) दिन्छौं। कसैलाई बाहिर निस्किन केही सामानहरू ल्याउन अप्ठ्यारो पर्ने भएकाले टोलछिमेककै अथवा उनीहरूले भनेकै सहयोग गर्ने व्यक्ति ‘सहयोगी कार्यकर्ता’ खटाइदिएका छौं। स्वयंसेवकका रूपमा खटिएका ती सहयोगी कार्यकर्ताले एक घर अथवा दुई/तीन घरमा भए उहाँहरूलाई पनि सहयोग गर्नुहुन्छ। १४ दिनको होम आइसोलेसन सकिएपछि उहाँहरूलाई रू.२ हजार प्रोत्साहन स्वरूप दिन्छौं।
नगरभित्र कोभिड बाहेकका बिरामीले हामीलाई भन्नुभयो भने इमर्जेन्सी अस्पताल जानुपर्ने भए गाडी, एम्बुलेन्सको व्यवस्था गर्दिन्छौं। सामान्य स्वास्थ्य समस्या भयो भने नगरकै स्वास्थ्यकर्मीहरू गएर जाँच गरिदिने, औषधि दिने गरेका छौं। ५० बेडको आइसोलेसन तयार गरेका छौं। परीक्षणलाई व्यापक त बनाएका छौं, तर मान्छेहरू आफू आफू सुरक्षित नगर्दा परीक्षण गर्दा नै देश टाट पल्टिने भयो। कोभिड विरुद्धको कामका लागि कार्यविधि बनाएका छौं।
‘आफ्नै नगरमा भेन्टिलेटरसहितको आइसोलेसन छैन’
कोभिडविरुद्ध सरकारले जे गरिरहेको छ र, गर्ने भनेको छ हामीले पनि ती सबै काम गर्दै आएका छौं। विशेषगरी हामीले होम आइसोलेसनमा बस्नेहरूलाई सहयोग गर्ने, मुख्यतः आत्मबल दह्रो होस् भन्ने उद्देश्यले सहयोग गर्ने, नियमित फोन सम्पर्क र समय समयमा भेटघाट गर्ने गरिएको छ। नगरपालिकाले पनि कोरोना संक्रमित भएर होम आइसोलेसनमा बस्नेलाई एकमुष्ट रू.५ हजार दिने निर्णय गरेको छ भने परिवारका सदस्यलाई आधा लिटर स्यानिटाइजर, स्वास्थ्य चौकीमा पाइने औषधिहरू पुर्याइदिने गरेका छौं।
होम आइसोलेसनमा बस्न प्रेरित गरेका छौं। यसरी सरकारले उनीहरूलाई हेरविचार गरेपछि टोलछिमेकले पनि उनीहरूलाई सहयोग गर्छन् र सहयोग गर्नुपर्छ, दुर्व्यवहार गर्नुहुँदैन भन्ने बुझ्छन् र कतिपयलाई त यसले थप पौष्टिक आहार खान पनि सहयोग पुग्छ। आइसोलेसन सेन्टर बनाएका छौं। तर, भेन्टिलेटरसहितको आइसोलेसनको सुविधा भने छैन। अक्सिजनको व्यवस्था मात्रै छ।
कोभिड ‘डेडिकेटेड’ एउटा र अर्को एउटा एम्बुलेन्स छ। ११ वटै वडामा स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरू भएकाले अन्य बिरामीलाई त्यस्तो समस्या परिहाल्ने अवस्था छैन। नगरका सबै स्वास्थ्यकर्मीलाई ५० प्रतिशत भत्ता र फ्रन्टलाइनमा काम गर्नेलाई काम गरेको दिनको रू.१५०० भत्ता दिने व्यवस्था छ।
‘आफ्नै पीसीआर ल्याब शुरू गर्दैछौं’
पहिला भएको क्वारेन्टिनलाई आइसोलेसनमा अपग्रेड गरेका छौं। संक्रमितको संख्या बढ्दै गएपछि नगरपालिकाले यस्तो गरेको हो। कीर्तिपुरको आयुर्वेदिक अस्पताल पनि आइसोलेसन सेन्टर हो। नगरको भेन्टिलेटरसहितको आइसोलेसनको व्यवस्था पनि छ। कीर्तिपुरस्थित जनस्वास्थ्य केन्द्रीय कार्यालयमा रहेको २०० बेडको क्वारेन्टिनलाई आइसोलेसन बनाइसकिएको छ भने त्रिभुवन विश्वविद्यालयको रिसर्च सेन्टरमा पनि २०० बेडकै आइसोलेसन तयार पारेका छौं।
पीसीआरको दायरा फराकिलो पारिएकाले सकेसम्म आफ्नै नगरभित्र पीसीआर ल्याब सञ्चालनको तयारी गरेका छौं। होम आइसोलेसनमा बस्न प्रेरित गर्ने नीति पनि लिएका छौं। त्यसरी होम आइसोलेसनमा बस्नेहरूका लागि स्वास्थ्यकर्मीले निगरानी गर्ने र सरसल्लाह दिने व्यवस्था छ।
कडाइका साथ निषेधाज्ञाको परिपालना गराउँदै आएका छौं। कोभिडविरुद्ध विभिन्न काम गर्नका लागि स्वास्थ्यकर्मी तथा सामाजिक कार्यकर्ताहरूलाई स्वयंसेवकका रूपमा परिचालन गर्नका लागि आह्वान गरेका छौं। नगरभित्रको अद्यावधिक विवरणका लागि नगरपालिकाकै नगरसन्देश भन्ने फेसबुक पेजमार्फत सार्वजनिक गर्ने गरिएको छ। फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मीहरूलाई राख्नका लागि नगरले सूचना नै निकालेर भवन खोजिरहेको छ। छिट्टै नै त्यसको पनि व्यवस्थापन हुन्छ।