डाँका-चोरी मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ
कैलालीमा डाँका-चोरी मुद्दाका फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन्। गौरीगंगा नगरपालिका–२ बस्ने ५६ वर्षीय श्याम चौधरी र सोही ठाँउ बस्ने ५० वर्षीय फुलपाती चौधरीलाई प्रहरीले हिजो, १८ भदौमा धनगढीबाट पक्राउ गरेको हो।
उनीहरूलाई २ असार २०६६ मा कैलाली जिल्ला अदालतले ६ वर्ष कैद र चार हजार १४७ रूपैयाँ पैंसठ्ठी पैसा जरिवाना सुनाएको थियो। कैलाली जिल्ला अदालतको फैसलालाई तत्कालीन पुनरावेदन अदालत दिपायलले समेत सदर गरेको थियो।
गौरीगंगा नगरपालिका-२ स्थित स्थानीयको घरमा ४ माघ २०५८ को रातिमा हातहतियारसहित आएको समूहले नगद तथा धनमाल डाँका-चोरी गरी फरार भएको घटनामा संलग्न उनीहरूलाई पक्राउ गरिएको थियो।
यद्यपि, जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि कारागार पठाइएकोमा ७ माघ २०६१ मा उनीहरू कैलाली कारागारबाटै भागेको कैलालीका प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले बताए।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीका आज लागि कैलाली जिल्ला अदालत पेश गरिएको थियो। अदालतले कोरोनाभाइरस परीक्षण गरेर उपस्थित गराउन भन्दै उनीहरूलाई प्रहरीको जिम्मा लगाएको छ।
कोरोना परीक्षणको नतिजा नेगेटिभ आएपछि उनीहरूलाई अदालत पेश गरिने डीएसपी बिस्टले बताए। त्यसपछि उनीहरूलाई फैसला कार्यान्वयका लागि पुनः कारागार पठाइनेछ।