''सञ्चारमाध्यममा आउँदैनन् 'मनोरञ्जन क्षेत्र'का महिला र बालिकाको वास्तविक अवस्था''
अस्मिता संस्थाले २१ दिनसम्म दैनिक पत्रिका, अनलाइन पोर्टल, रेडियो र टेलिभिजनमा रेष्टुरेन्ट, दोहोरी साँझ लगायत मनोरञ्जन क्षेत्र सम्बन्धी समाचारबारे गरेको अध्ययनले यस्ता समाचार नै कम आउने र आए पनि महिला केन्द्रित नहुने देखाएको छ।
मनोरञ्जनको क्षेत्रमा काम गर्ने महिला तथा बालिकाहरुको बारेमा मूलधारका सञ्चारमाध्यमहरुले न्यून मात्र स्थान दिने गरेको एक अध्ययनले देखाएको छ। अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा श्रोत संस्था (अस्मिता) ले क्यानडास्थित एसोसिएसन फर कम्युनिकेसनसँगको सहकार्यमा गरेको अनुगमनमा विभिन्न १२ वटा पत्रपत्रिका तथा अनलाइन पोर्टल, टेलिभिजन र रेडियोहरुमा प्रकाशित/प्रसारित समाचार हेरिएको थियो। अस्मिताले महिला सवालमा सञ्चारमाध्यममा प्रकाशित÷प्रसारित विषयवस्तुको बारेमा विभिन्न दृष्टिकोणबाट अनुगमन एवं अध्ययन गर्दै आएको छ।
संस्थाले होटल, रेष्टुरेन्ट, दोहोरी साँझ, खाजाघर, मसाज सेन्टरमा कार्यरत महिला, बालिका तथा किशोरीमाथि हुने यौन हिंसा, आर्थिक तथा श्रम शोषण लगायत अवस्थाबारे सञ्चारमाध्यममा आउने समाचारको अध्ययन गरेको हो। ५-२५ माघ २०७६ सम्म काठमाडौं र कास्कीबाट प्रकाशित भएका नेपाली र अंग्रेजी भाषाका १२ वटा दैनिक, तीन वटा अनलाइन, तीन वटा रेडियो र तीन वटा टेलिभिजनका समाचार अनुगमन गर्दा जम्मा ७४ वटा समाचार प्रकाशित/प्रसारित भएको पाइयो।
उक्त समाचार सामग्री विश्लेषण गर्दा मनोरञ्जन क्षेत्रका महिला र बालिकाको विषयमा सञ्चारमाध्यमले उचित ठाउँ नदिएको देखिएको हो।
२१ दिनको अवधिमा सञ्चारमाध्यममा प्रकाशित/प्रसारित ७४ वटा समाचारमध्ये ५५ वटा पत्रपत्रिकामा थिए भने रेडियोमा ७ तथा टेलिभिजन र अनलाइन पोर्टलमा ६/६ वटा थिए। यी समाचारमध्ये महिला केन्द्रित समाचार पत्रपत्रिकामा १५.१ र अनलाइन पोर्टलमा १६.७ छन्। रेडियो र टेलिभिजनमा प्रसारित कुनै पनि समाचार महिला केन्द्रित नपाइएको उल्लेख छ।
अंग्रेजी भाषाका तीनसहित कुल ९ वटा दैनिक र तीन वटा साप्ताहिक पत्रिकामा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित ५५ वटा समाचार प्रकाशित भएकोमा ३२.७ प्रतिशत (१८ वटा) समाचार पहिलो पृष्ठमा आए भने बाँकी भित्री पृष्ठमा प्रकाशित भएको पाइएको छ। टेलिभिजनमा आएका मनोरञ्जन क्षेत्रका समाचारमध्ये अधिकांश (करीब ८३ प्रतिशत) पहिलो हेडलाइनमै आए। तर, कुनै पनि समाचार महिलाका मुद्दालाई केन्द्रित नगरिएको अध्ययनको निष्कर्ष छ। अनलाइन र रेडियोमा भने कुनै पनि समाचार मुख्य प्राथमिकतामा नपरेको अध्ययनको निष्कर्ष छ।
समाचारको पहिलो पृष्ठ, अनलाइनको ब्यानर समाचार तथा रेडियो र टेलिभिजनको हेडलाइन र त्यसको समाचारमा दिने पूरा समयको आधारमा समाचारको प्राथमिकता सबैभन्दा बढी, दोस्रो प्राथमिकता र कम प्राथमिकता गरेर तीन वर्गमा छुट्याइएको थियो।
यस क्षेत्रसँग सम्बन्धित प्रकाशित/प्रसारित समाचारलाई महिला तथा बालिकामाथि हुने लैङ्गिक हिंसा, यौन हिंसा, शारीरिक, भावनात्मक तथा मनोवैज्ञानिक र आर्थिक हिंसा तथा श्रम शोषण र नीतिगत अवस्थाको दृष्टिकोणबाट अनुगमन गरी विश्लेषण गरिएको संस्थाले जनाएको छ। मनोरञ्जनका क्षेत्रहरु मानव बेचविखन हुने जोखिम क्षेत्र समेत भएको विभिन्न घटना तथा प्रहरी अनुसन्धानले देखाए पनि यस क्षेत्रका विषयले कम मात्र प्राथमिकता पाएको अध्ययनको निष्कर्ष छ।
अध्ययनको निष्कर्षमा भनिएको छ, ‘यस्ता ठाउँहरुमा महिला र अझ विशेष गरी किशोरी र बालिकामाथि भैरहने यौन शोषण, यौन दुर्व्यवहार, श्रम शोषण तथा मानव बेचबिखन समेत हुने देखिए पनि यो विषयका समाचार प्राथमिकतामा परेनन्। उनीहरुमाथि भइरहेको शोषणको कुरा झन् न्यून मात्र थिए। रेडियो र टेलिभिजनमा त छँदै छैन।’
प्रकाशित/प्रसारित समाचारमा यौन हिंसा, शारीरिक हिंसा, कुटपिट, ग्राहक (पुरुष) सँग बस्न बाध्य गर्ने, बन्धक बनाउने, हतोत्साहित गर्ने, उचित पारिश्रमिक नदिने तथा दिए पनि समयमा नदिने गरेको र यस्तो घटनामा पीडक (आरोपित) को रुपमा पुरुषहरु रहेको देखियो। जति समाचार आए, उनीहरुको संघर्षलाई भन्दा सफलताको कथालाई केन्द्रित गरिएको अध्ययनले औंल्याएको छ।
अनुगमन गरिएका सञ्चारमाध्यम
अध्ययनका क्रममा कूल २४ वटा नेपाली मूलधारका सञ्चारमाध्यममध्ये छापामा 'गोरखापत्र', 'कान्तिपुर', 'नयाँ पत्रिका', 'समाचारपत्र', 'नागरिक', 'आदर्श समाज' (पोखरा), अंग्रेजी भाषाका दैनिक पत्रिका 'द राइजिङ नेपाल', 'रिपब्लिका' र 'द हिमालयन टाइम्स' तथा साप्ताहिकहरुमा 'शुक्रबार', 'सम्पूर्ण' र 'साप्ताहिक' (कान्तिपुर साप्ताहिक) को सबै पृष्ठको अनुगमन गरिएको थियो।
त्यस्तै, रेडियोहरुमा 'रेडियो नेपाल', 'उज्यालो एफएम' र 'सीआईएन' (कम्युनिटी इन्फरमेसन नेटवर्क) तथा टेलिभिजनहरुमा 'नेपाल टेलिभिजन', 'एभिन्यूज' र 'न्यूज २४' बाट प्रसारित समाचार अनुगमन गरिएको थियो। अनलाइन पोर्टलहरुमा 'बाह्रखरी', 'सेतोपाटी' र 'रातोपाटी'लाई अध्ययनमा समेटिएको थियो।
पत्रिका र अनलाइनको हरेक दिन आउने सबै समाचारको अनुगमन गरिएको थियो भने रेडियो र टेलिभिजनको बेलुकाको मुख्य एक–एक समाचार बुलेटिनको अनुगमन विश्लेषण गरिएको संस्थाले जनाएको छ।
‘मनोरञ्जन क्षेत्रमा बालिका, किशोरीमाथि शोषण भइरहेको छ’
- सरिता श्रेष्ठ, कार्यकारी निर्देशक, अस्मिता
अहिले कोरोना संक्रमण महामारीका कारण मनोरञ्जन क्षेत्रहरू बन्द भए पनि सामान्य अवस्थामा बढ्दै गएका छन्। पहिले काठमाडौं वा ठूला शहरहरुमा मात्रै भएका यी क्षेत्र शहरीकरणको वृद्धिसँगै जताततै फैलिएको र त्यहाँ काम गर्ने महिला र बालिकाहरु नै धेरै भएको राष्ट्रिय मानवअधिकार आयोग तथा यस क्षेत्रमा काम गर्ने अन्य संघसंस्थाको अध्ययनहरुले देखाएको छ।
यो क्षेत्रको विस्तार र बालिका र किशोरीलाई सञ्चालकहरुले कामका लागि रोज्ने प्रवृत्तिले यहाँ यौन शोषण र दुव्र्यवहारका घटना हुने, बन्धक बनाएर राखी पुरुष ग्राहकसँग पठाउने तथा उनीहरुलाई बेचबिखन गर्ने गिरोह नै हुने प्रहरीकै अनुसन्धानहरुले पनि देखाएका छन्।
हामीले मनोरञ्जनका प्रमुख क्षेत्र सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार र त्यसभित्र लैङ्गिक सवालको अध्ययन र अनुगमन गरेका हौं। विश्वभरि महिला र मिडियाका समाचार बारेमा अनुगमन गर्दै आएको संस्था जीएमपीपी (ग्लोबल मिडिया मनिटरिङ प्रोजेक्ट) को अनुगमन विधि अपनाएर २१ दिन अनुगमन गरेका हौं।
हामीले अध्ययनमा यौन हिंसा, शारीरिक सम्पर्कको लागि उत्प्रेरित गर्ने तथा धम्की दिने, मौखिक दुव्र्यवहार, बन्धक बनाउने, कुटपिट हुने, आर्थिक शोषण लगायत विषयका समाचार हेर्न खोजेका थियौं। तर, समग्रमा के देखियो भने, एक त समाचार नै कम आयो र आएको समाचार पनि महिला केन्द्रित न्यून भेटियो। महिला श्रमिकहरुको वास्तविक अवस्था दर्शाउने समाचार नगण्य मात्र पायौं।
मनोरञ्जन क्षेत्रका समाचार आए पनि पर्यटन, उद्योगसँग जोडेर समाचार बढी आए। अब सञ्चारमाध्यमले शहर–बजारका मनोरञ्जन क्षेत्रभित्र बालिका, किशोरीमाथि भइरहेको विविध खाले शोषणलाई बाहिर ल्याउनुपर्छ।
अध्ययन–अनुगमनको सारांश
- कुल समाचारमध्ये यौन हिंसाका २०.५ प्रतिशत र कानूनी अवस्थाका ६.८ प्रतिशत।
- १८.१ प्रतिशत समाचारले महिला श्रमिकको मुद्दा उठाएको। यस्तै, २२.२ प्रतिशतले मानवअधिकार र २३.६ प्रतिशतले भावनात्मक कुरा उठाएका।
- ८.५ प्रतिशत समाचारमा संघर्ष र ३७.५ प्रतिश समाचारमा सफलताका कथा।
- ५०.८ प्रतिशत समाचार इभेन्ट/केस रिपोर्टिङका।
- ८.३ प्रतिशत समाचारमा पीडक (आरोपित) बारे खुलाइएकोमा १९.४ प्रतिशत पीडक आफनै मालिक।
- प्रकाशित/प्रसारित कुल समाचारमध्ये १२.५ प्रतिशत मात्रै महिला केन्द्रित।
- समाचारमा उद्धृत गरिएका २४९ जनामध्ये पुरुष ६७.१ प्रतिशत (१६७ जना) र महिला २९ प्रतिशत (७४ जना)।
- समाचारका बाइलाइन वा प्रस्तोतामध्ये ४५.९ प्रतिशत पुरुष र १३.५ प्रतिशत महिला पत्रकार। अन्यमा बाइलाइन थिएन।