कोरोना संक्रमित एक भारतीय मजदुरको धनुषामा मृत्यु
धनुषामा एक भारतीय मजदुरको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ। यससमेत गरी धनुषामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।
क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित् लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनमका ६५ वर्षीय ती मजदुरको बिहीबार बिहान मृत्यु भएको थियो। उनमा आज कोरोना संक्रमण पुष्टि भएको हो।
तीन दिनदेखि ज्वरो र पखालाको समस्या देखिएर मृत्युपछि पीसीआर परीक्षणका लागि उनको स्वाबको नमूना सङ्कलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो।
ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले बताए। नेपाली सेनाको टोलीले बिहीबार नै उनको शव व्यवस्थापन गरिसकेको छ।