अस्पतालको आकस्मिक कक्षमै यसरी भयो दुई युवा समूहबीच झडप
गएराति काठमाडाैं स्वयम्भूको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको आकस्मिक कक्षमा झडप भएको भन्दै अस्पतालले प्रेस विज्ञप्ति जारी गर्यो। अस्पतालले विज्ञप्ति जारी गर्दै अज्ञात समूहले गुन्डागर्दी शैलीमा अस्पतालको आकस्मिक कक्षमा भिडन्त गरेको बतायो।
अस्पतालका अनुसार उक्त समूहले त्यहाँ उपचाररत अर्का घाइते बिरामीलाई सख्त घाइते हुनेगरि आक्रमण गरेको थियो। झडपपछि आकस्मिक कक्ष रक्ताम्य भएको र आकस्मिक कक्षमा काम गर्ने चिकित्सक, नर्स, प्यारामेडिक्स र सुरक्षा गार्डमाथि समेत हातपात भएको अस्पतालले जनाएको छ।
उनीहरूले आकस्मिक कक्षको ईसीजी मेसिन, ड्रेसिङ ड्रम, बस्ने टुल, टिचल फोर्बेस, एम्बु ब्यागसहितका सामग्रीमाथि तोडफोड गरेर क्षति पुर्याएको अस्पतालले जनाएको छ।
आखिर को थिए उनीहरू ? किन त्यसरी अस्पतालको आकस्मिक कक्षमै प्रवेश गरेर झडपमा उत्रिए ?
महानगरीय प्रही वृत्त स्वयम्भुका डीएसपी निरन्जन भट्टका अनुसार त्यसरी झडप गर्ने ढुङ्गेधारा र रानीवनका युवा हुन्। उनका अनुसार ढुङ्गेधारा र रानीवनका युवा समूहबीच १८ भदौ साँझ करीब ६ बजे झडप भएको थियो। दुई समूहबीच रानीवनमा झडप भएको थियो। उक्त झडपमा घाइते भएकालाई उपचारका लागि मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको थियो। घाइतेहरूको त्यहाँ उपचार भइरहेको थाहा पाएपछि अर्को समूह अस्पताल प्रवेश गरी कुटपिटमा उत्रिएको डीएसपी भट्टले बताए।
“उनीहरूबीच शुरूमा फुटबल खेल्ने विषयमा सामान्य झगडा भएको देखिन्छ,” डीएसपी भट्टले भने, “त्यही झगडाले ठूलो रूप लिएर राति अस्पतालमै भिडन्तको स्थिति निम्तिएको देखिन्छ।” उनीहरूको कुनै ठूलो गुन्डा समूहसँग सम्बन्ध नदेखिए पनि सामान्य टोले गुन्डा भएको प्रहरीले बताएको छ।
स्वयम्भु प्रहरी वृत्तले घटनामा संलग्न भएको आरोपमा ढुगेंधारा समूहका दुई जनालाई पक्राउ गरिसकेको छ भने अन्य व्यक्तिको पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको जनाएको छ।
मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका सुरक्षा प्रखुम महेन्द्र पाठकका अनुसार झडपका क्रममा घाइते रानीवन क्षेत्रका चार जना युवाको विहीबार साँझ अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको थियो। त्यही बेला झडपमा संलग्न भएको आरोपमा स्वयम्भु प्रहरीले ढुंगेधारा समूहका एक युवकलाई पक्राउ गरेर उनको स्वास्थ्य जाँचका लागि अस्पतालमा पुर्यायो।
“ढुंगेधारा समूहका करीब ३० जनाको समूह मोटरसाइकलमा अस्पतालतिर आइरहेको थियो,” अस्पतालका सेक्युरिटी इन्चार्ज पाठक भन्छन्, “जब प्रहरीले ढुंगेधारा समूहका एक युवकको स्वास्थ्य जाँच गरेर अस्पतालबाट बाहिरियो, त्यसपछि उनीहरूको समूह अस्पतालको आकस्मिक कक्षभित्र प्रवेश गरेर उपचाररत घाइते रानीवन समूहका चार जनामाथि आक्रमण गर्न थाले ।”
आक्रमणका कारण उपचाररत चार घाइते थप सख्त घाइते भए। उनीहरु मात्र होइन उपचारमा संलग्न दुई जना चिकित्सक र एक जना सेक्युरिटी गार्ड पनि त्यसक्रममा घाइते भए। घटनालगत्तै अस्पतालले आकस्मिक कक्षमा उपचाररत बिरामीलाई अन्य वार्डमा सारेको छ। अहिले आकस्मिक कक्षको सेवा केही समयका लागि बन्द गरिएको अस्पतालका निर्देशक डा. धर्मदत्त सुवेदीले बताए।