१० महीनादेखि भारतमा बन्धक बनाइएका चार वर्षीया बालिकासहित दुई युवतीको उद्धार
दश महीनादेखि भारतमा बन्धक बनाइएका एक बालिकासहित दुई जना युवतीलाई उद्धार गरी नेपाल ल्याइएको छ। आफन्त नेपाल संस्थाको पहलमा बेचबिखन हुन लागेका उनीहरूलाई उद्धार गरिएको हो।
नवलपरासी पश्चिमस्थित् आफन्त नेपाल महेशपुर शाखाले नेपाल र भारतीय प्रहरी तथा स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट ती उनीहरूलाई उद्धार गरी नवलपरासी ल्याएको हो।
चितवनका २२ र १७ वर्षीया युवती र ४ वर्षीया बालिकालाई उद्धार गरी सुरक्षित रूपमा नेपाल ल्याइएको संस्थाकी शाखा प्रमुख पद्मा आचार्यले बताइन्। जागिर र विवाहको प्रलोभनमा परी उनीहरू भारत पुगेका थिए। त्यहाँ पुगेको केही महीनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरूलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई जानकारी गराएको उद्धार गरिएका युवतीले बताएका छन्।
उद्धार गरिएकामध्ये २२ वर्षीया महिलालाई भारतमै काम गर्दै आएकी उनकी बहिनीको मोबाइलबाट एक व्यक्तिले विवाह गर्छु भनी बोलाएका थिए। तर, उनकी बहिनी अहिले बेपत्ता छिन। अर्की एक युवतीलाई पनि जागिर लगाईदिने प्रलोभन देखाएर बोलाएको तर, एक महीनापछि भारतको विहारका तीन जना व्यक्तिलाई रू. एक लाखमा बिक्री गर्न लागेपछि आफूहरूले प्रतिकार गरेको युवतीले बयान दिएको आफन्त नेपाल महेशपुरकी प्रमुख आचार्यले बताइन्।
चार वर्षीया बालिका भने २२ वर्षीया महिलाकी छोरी हुन्। विदेशमा रहेका आफ्नो दाजुलाई फोनमार्फत जानकारी गराएपछि युवतीका आफन्तहरूले चितवनस्थित आफन्त नेपालको माडी शाखामा खोजतलासका लागि निवेदन दिएपछि खोजी कार्य शुरू भएको थियो।