मन्त्रिपरिषद बैठक बस्दै, वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गरिने
मन्त्रिपरिषदको बैठक अहिले बस्दैछ। बिहीबारको नेकपा सचिवालय बैठकको निर्णयअनुसार, मन्त्रिपरिषदले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिस गरिने तयारी गरेको छ।
६ महीनादेखि रिक्त राष्ट्रियसभा सदस्यमा गौतमलाई पठाउने नेकपा सचिवालयले निर्णय गरेको छ। अर्थमन्त्री युवराज खतिवडाको दुई वर्षे कार्यकाल गएको २० फागुनमै सकिएको हो। तर, नेकपाभित्रको आन्तरिक विवादका कारण उक्त पदमा नेकपाले कसैलाई पनि मनोनित गरेको थिएन।
तर, बिहीबार बसेको सचिवालय बैठकले गएको २०७४ को निर्वाचनमा बर्दिया–१ बाट पराजित गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्ने निर्णय गरेको छ।
राष्ट्रपतिले मनोनित गर्ने कोटामा गौतमलाई पठाइने भएपछि भोलिबाट युवराज खतिवडा भने अर्थ र सञ्चार एवम् सूचना प्रविधि मन्त्रालयबाट स्वतः पदमुक्त हुँदैछन्।