चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट उपचार शुरू
चितवनमा पनि कोरोना संक्रमितलाई प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ। चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ की ५२ वर्षीया कोरोना सङ्क्रमित महिलामा प्लाज्मा थेरापी गरिएको हो।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार ती महिलालाई हिजो राति दुई पोका ‘बी पोजिटिभ’ प्लाज्मा चढाइएको छ। हिजो नै केन्द्रमा सङ्क्रमणमुक्त भएका तीन जनाले प्लाज्मा दान गरेका थिए।
पौडेलका अनुसार भरतपुर र देवघाटका दुई पुरुषले प्लाज्मा दान गरेका हुन्। दान गरिएको रगतबाट प्लाज्मा निकालेर ती महिलालाई चढाइएको पौडेलले उनले बताए।
कोभिड सङ्क्रमित भएर आइसोलेसनबाट निको भई १४ दिन कटेकाहरूको रगत सङ्कलन गरेर रक्ततत्व छुट्याइन्छ। निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ। यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने चिकित्सकहरुको भनाइ छ।
पौडेलले भने, “प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो।” अठार वर्ष उमेरमाथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन्। कोरोना सङ्क्रमणमुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो। रगतबाट रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा भएको पौडेलको भनाइ छ।
चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. हरिशचन्द्र न्यौपानेले कोभिड सघन उपचार कक्षमा एक सातादेखि उपचाररत ती महिलामा प्लाज्मा थेरापी गरेर जिल्लामा पहिलोपटक उपचार थालिएको बताए। उनले क्रमशः अन्य बिरामीलाई पनि आवश्यकता र उपलब्धताअनुसार प्लाज्मा थेरापी गरिने बताए।
जिल्लामा गम्भीर रहेका धेरै सङ्क्रमितको चितवन मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए। चितवन मेडिकल कलेजले यसअघि नै कोभिड प्रयोगशालासमेत सञ्चालनमा ल्याइसकेको छ।