‘सेना’ गुमाएका सेनापति पुष्पकमल दाहाल
कुनैबेला सिङ्गो माओवादी दललाई केपी शर्मा ओली चुँडिएको चङ्गासँग तुलना गर्थे। अहिले भने तत्कालीन माओवादी सुप्रिमो पुष्पकमल दाहाल प्रधानमन्त्रीको राजीनामा मुद्दामा उनै ओलीबाट चेट् भएका छन्। र, त्यो चुँडिएको चङ्गा अब कहाँ खस्छ भन्ने चाहिं चुँडाल्ने अर्थात् ओलीकै ‘रहम–ओ–करम’ मा निर्भर छ।
२०६२/६३ को दोस्रो जनआन्दोलनको सफलतासँगै भूमिगत जीवनबाट खुला राजनीतिमा आउँदा पुष्पकमल दाहालको क्रेज कुनै चक्रवर्ती सम्राट भन्दा कम थिएन। दाहालको एक झलकका निम्ति स्वदेशी मात्र नभएर विदेशीसम्म लालायित रहन्थे। खुला राजनीतिमा प्रवेशपश्चात् दाहालको औपचारिक भारत भ्रमण दौरान भारतका पूर्व प्रधानमन्त्रीद्वय वीपी सिंह र आइके गुजरालले ‘आफूहरूले क्रान्ति बारे सुनेको, तर क्रान्ति के हो भन्ने कुरा दाहालले देखाइदिएको’ भन्दै उनको मुक्तकण्ठले प्रशंसा गरेका थिए।
तिनताका अग्रज पत्रकार किशोर नेपाल आफ्ना आलेख एवं बसिवियालोमा दाहाललाई सौर्यमण्डलको केन्द्रको रूपमा परिभाषित गर्दथे। नेपाली राजनीतिको मियो दाहाललाई अन्य नेतागणले सौर्यमण्डलका अरू ग्रहहरूले सूर्यलाई झैं परिक्रमा गर्ने उनको दलिल हुन्थ्यो। नेपालले भने झैं दाहाल एउटा कालखण्ड — जसलाई हामीले संक्रमणकाल भन्यौं — मा नेपाली राजनीतिको केन्द्रमा रहे पनि। नरहुन् पनि किन, शान्ति प्रक्रियामा प्रवेश गर्दै गर्दा उनी राजनीतिक दलका मूली मात्र नभएर एउटा सशस्त्र समूहका ‘सुप्रिम कमाण्डर’ समेत थिए।
दोस्रो जनआन्दोलनको सफलतासँगै मुलुकले दाहाल नेतृत्वकै माओवादी दलको राजनीतिक अजेण्डा वरण गरेको थियो। वामपन्थी घटकहरूको त कुरै रहेन, ६ दशकदेखि प्रजातान्त्रिक आन्दोलनको ‘पेटेन्ट राइट्स’ लिंदै आएको र संवैधानिक राजतन्त्रको पक्षपाती नेपाली कांग्रेसले माओवादी भन्दा एक कदम बढी र्याडिकल बन्दै गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको नीति अवलम्बन गरेको थियो। नेपाली राजनीतिको ‘ओभरआर्चिङ’ (मूल) सिद्धान्त संघीय गणतान्त्रिक लोकतन्त्र बन्नुको मूल रसायन नै पुष्पकमल दाहाल र उनका कमरेड–इन–आर्मस् रहेको देखियो।
तर नेपाली राजनीति न आम मानिसले अपेक्षा गरे जस्तो रह्यो न त समय दाहालले सोचे जस्तै अघि बढ्यो। दाहालका हतियार र बर्दीधारी लडाकूका हतियार राष्ट्रसंघ पर्यवेक्षणको कन्टेनरमा तालाबन्दी गरिए भने लडाकूहरू बर्दी उतार्दै नेपाली सेना, मध्यपूर्वको बलौटे भूमिदेखि स्वदेशमा छरिए। एक राष्ट्र दुई सेनाको स्थिति नरहेपछि दाहालको ‘सुप्रिम कमाण्डर’ को हैसियत स्वतः खारेजीमा पर्यो।
सशस्त्र फौज गुमाए पनि दाहालले मूलधारको राजनीतिको अभूतपूर्व अवसर प्राप्त गरे। २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा माओवादी दल सबैभन्दा ठूलो संसदीय पार्टी बनेपछि राज्य संचालनको अभिभारा दाहालको काँधमा आइपुग्यो। तर, हिंसा, प्रोपोगाण्डा र उपयोगिताको भूमिगत राजनीति गरेका दाहाल संसदीय अभ्यास र खासगरी ‘स्टेटक्राफ्ट’ अर्थात् राज्य संचालनमा चुके मात्र होइनन्, नराम्ररी पछारिए।
२०७४ सालको आमनिर्वाचनमा वाम गठबन्धनको सफलतापश्चात् एमाले र माओवादीबीच एकीकरण भइरहँदा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्षको व्यवस्थालाई बोइङ जेटको ‘को–पाइलट’ सँग तुलना गरेका थिए। तर, यथार्थ भने बोइङको नभएर बसको जस्तो थियो। ओली बसका चालक र दाहाल चाहिं सह–चालक। किनकि, ‘समान’ हैसियतले एकीकरणमा प्रवेश गरे पनि दाहालले पार्टीभित्र ओलीलाई टक्कर दिन ‘काउण्टर वेटेज’ निर्माण गर्न सकिरहेका थिएनन्।
दाहालको आत्मकेन्द्रित रवैया र सत्ता राजनीतिको ढुलमुले स्वभावका कारण उनका समवयी नेताहरू बाबुराम भट्टराई, मोहन वैद्य, सीपी गजुरेल उनीदेखि पार्टीगत रूपमै टाढिए भने माओवादीको र्याडिकल पंक्तिको नेतृत्व नेत्रविक्रम चन्दले लिए। समयक्रममा दाहाल नेतृत्वको माओवादीको सत्ता राजनीतिको दाउपेच कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भन्दा तात्विक रूपले केही पनि भिन्न देखिएन। राजनीतिक पूँजी गुमाउँदै क्षयोन्मुख रहेका दाहाल २०७४ सालको आम निर्वाचनसम्म आइपुग्दा अस्तित्वकै लागि तत्कालीन एकीकृत माक्र्सवादी लेनिनवादी (एमाले) सँग चुनावी गठबन्धन बनाउनैपर्ने बाध्यतामा पुगे।
विडम्बना कस्तो भने, दोस्रो जनआन्दोलनका मूल हस्ती एवं विस्तृत शान्ति सम्झौताका अर्का हस्ताक्षरी दाहाल नेकपाका तिनै नेतासँग सम्झौता गर्न गइरहेका थिए, जसको २०६२/६३ सालको आन्दोलनमा कुनै ‘स्टेक’ थिएन। तत्कालीन एमालेका वरिष्ठ नेता खड्गप्रसाद शर्मा ओली दोस्रो जनआन्दोलनप्रति निरपेक्ष थिए नै, गणतन्त्रको मागलाई ‘बयलगाढा चढेर अमेरिका पुग्ने’ व्यर्थको प्रयाससँग तुलना गर्दथे। तर, महाधिवेशनमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पराजित गरेर अध्यक्ष बनेका ओली २०७२ सालको संविधान निर्माणको रस्साकस्सीसँगै नेपाली राजनीतिको केन्द्रमा पुगिसकेका थिए। अझ, संविधान जारीसँगै उनको प्रधानमन्त्रीमा सत्तारोहण र भारतको नाकाबन्दी विरुद्धको अडानले ओलीलाई प्रखर राष्ट्रवादी नेताको पगरी गुताइदिएको थियो।
२०७४ सालको आमनिर्वाचनमा वाम गठबन्धनको सफलता पश्चात् एमाले र माओवादीबीच एकीकरण भइरहँदा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दुई अध्यक्षको व्यवस्थालाई बोइङ जेटको ‘को–पाइलट’ सँग तुलना गरेका थिए। ओलीको परिभाषामा पूर्व माओवादीको नेतृत्वकर्ता दाहाल र पूर्व एमालेको नेतृत्वकर्ता ओलीको पार्टीभित्रको हैसियत समान सुनिन्थ्यो। तर, यथार्थ भने बोइङको नभएर बसको जस्तो थियो। ओली बसका चालक र दाहाल चाहिं सह–चालक। किनकि, ‘समान’ हैसियतले एकीकरणमा प्रवेश गरे पनि दाहालले पार्टीभित्र ओलीलाई टक्कर दिन ‘काउण्टर वेटेज’ निर्माण गर्न सकिरहेका थिएनन्। आफ्नै पूर्व माओवादी खेमा भन्दा पनि माधवकुमार नेपाल गुटको आडभरोसाका कारण उनले एकहदसम्म ‘काउण्टर वेटेज’ बनाउन सकेका त थिए, तर कहिले नेपालतिरको ढुलमुल त कहिले ओलीसँगको ‘चोचोमोचो’ का कारण उनी दुवै पक्षका लागि भरोसाका पात्र भने बन्न सकेनन्।
नेकपामा ‘काउण्टर वेटेज’ निर्माण गर्न नसकेकै कारण दाहालले पार्टी एकीकरणताका, २ जेठ २०७५ मा भएको ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ समझदारी उपर दाबी गर्न सकेनन्। सरकारको नेतृत्व छाड्न ओली अनिच्छुक रहेपछि दाहालले ओलीलाई संसदीय दलमा चुनौती दिने आँट गर्न सकेनन्। बरू कार्यकारी अध्यक्ष सम्बन्धी ओलीको ३ मंसीर २०७६ को आश्वासनद्वारा २ जेठ २०७५ को त्यस लिखतलाई प्रतिस्थापन गर्न मञ्जुर गरे।
चुँडिएको चङ्गा
बृहत् शान्ति सम्झौता मार्फत बुलेटबाट ब्यालेटमा आइपुगेका माओवादीलाई तत्कालीन मूलधारका सबै राजनीतिक दल र नेतृत्व सम्मानजनक स्पेस दिन तयार भए पनि ओली माओवादीप्रति द्वन्द्वोत्तर समयमा समेत अत्यन्त निर्मम देखिन्थे। राजनीतिको मूलधार समाउँदै गरेको माओवादीको अवस्थालाई उनी चुँडिएको चङ्गासँग तुलना गर्दथे। ‘त्यो चङ्गा चुँडिइसकेको छ’ ओली अन्तर्वार्ताहरूमा भन्ने गर्दथे, ‘कुरा अब त्यो धागोबाट छुट्टिएको चङ्गा कहाँ खस्छ भन्ने मात्र हो।’
माओवादीसँग निषेधको राजनीति र खिसिटिउरीको व्यवहार गर्ने ओली २०७४ सालको आमनिर्वाचनको पूर्वसन्ध्यामा उसैसँग चुनावी तालमेल गर्न तयार भए। दुई ठूला वामपन्थी दलको गठबन्धनको परिणाम एकीकृत वामशक्तिले संघीय संसदको चुनावमा लगभग दुईतिहाइ बहुमत पायो पनि। तर, चुनाव र पार्टी एकीकरणसम्मको ओली–दाहाल ‘केमेष्ट्री’ ओली नेतृत्वको सरकार गठनको दुई वर्ष पनि पुग्दा नपुग्दै तिक्त बन्न पुग्यो।
स्थिति कतिसम्म तिक्ततापूर्ण बन्यो भने २०७६ फागुनमा ओलीको मिर्गौलाको दोस्रो प्रत्यारोपणपछि गएको १७ वैशाखमा बसेको पार्टीको सचिवालय बैठकमा दाहालले ओलीको प्रधानमन्त्रीबाट राजीनामा नै मागे। ओलीको कार्यशैलीलाई लिएर शृंखलाबद्ध सचिवालय बैठकमा दाहालसहित बहुसंख्यक सदस्य कठोर आलोचनामा उत्रिएपछि अन्ततः ‘पार्टी एकताका खातिर’ २० वैशाखको सचिवालय बैठकमा ओली र दाहालले आत्मालोचना गर्दै विवाद निरुपण निम्ति २५ वैशाखमा स्थायी समिति सदस्यहरूको माग अनुरूप स्थायी समिति बैठक आह्वान गर्ने निर्णयमा पुगे।
तर सचिवालयमा सल्किएको आगोलाई स्थायी समिति बैठकले शमन गर्न सकेन, बरू उल्टै घिउ थपिदियो। आफ्नो राजीनामा छिमेकीको इशारामा मागिएको र त्यसनिम्ति (भारतीय) दूतावास समेत क्रियाशील रहेको भन्ने ओलीको आरोपले दाहालसँगै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समेतलाई क्रूद्ध बनायो। स्थिति कतिसम्म बिग्रियो भने १६ असारको स्थायी समिति बैठकमा दाहालले २ जेठ २०७५ मा पार्टी एकीकरणको पूर्वसन्ध्यामा ‘समानता र समान अवधिका आधारमा आवश्यकता अनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ भन्ने ओलीसँगको सहमतिबाट पछि हट्दै ३ मंसीर २०७६ को कार्यकारी अध्यक्षको ओलीको प्रस्ताव स्वीकार्नु आफ्नो भूल भएको बताउँदै ओलीको प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा मागे।
दाहालको तेजोबधको पछिल्लो ‘स्ट्राटेजिक असल्ट’ चाहिं ओली–दाहाल सहमतिमा गएको ३० साउनमा ‘पार्टीभित्रको गतिरोध अन्त्यका लागि’ कार्यदलको गठन थियो। ६ सदस्यीय कार्यदलको गठनको मूल उद्देश्य ओलीका निम्ति बाँकी साढे दुई वर्षको प्रधानमन्त्रीको कार्यकाल सुनिश्चित गर्नुथियो। भयो पनि त्यस्तै। कार्यदलको सुझावसँगै अब ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने दाहालको माग स्वतः अमान्य भएको छ।
दाहाल, नेपाल र खनालसँगै बहुसंख्यक स्थायी समिति सदस्यहरूले राजीनामा मागेपछि बिच्किएका ओली त्यसयताका बैठकमा अनुपस्थित रहँदै आएकाले स्थायी समितिको बैठक अझै निष्कर्षसम्म पुग्न सकेको छैन। अनिर्णयको यस समयलाई बरू ओलीले भने रणनीतिक रूपमा उपयोग गर्दै आएका छन्। दाहाललाई छलफलका नाममा झुलाउँदै ओलीले यसबीच दाहाल–नेपाल क्याम्पभित्र अनेकौं रणनीतिक धावा (स्ट्राटेजिक असल्ट) बोलिसकेका छन्। दाहाल पक्षीय पूर्व माओवादी खेमाका स्थायी समिति सदस्यहरूदेखि वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउँदै अनि दाहाल र नेपाल–खनाल गुटबीच अविश्वासको खाडल बढाउँदै ओलीले दाहाललाई अहिले गलित मात्र होइन, हतप्रभ बनाएका छन्।
आफ्नै खेमाका महत्वपूर्ण नेताहरू समेत ‘पार्टी एकता निम्ति ओलीसँग सहकार्य जरूरी रहेको’ भन्दै घुमाउरो गरी ओलीकै समर्थनमा देखिएपछि दाहाल अहिले विखलबन्दमा परेका छन्। त्यसो त १८ भदौमा वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने निर्णयमा पनि दाहाल निर्णायक देखिएनन् बरु ओली–वामदेव संकथनमा साक्षी किनाराका रूपमा मात्र रहन सके। जबकि राष्ट्रिय सभा सदस्यका लागि गौतम प्रम ओलीको पहिलो ‘च्वाइस’ थिएनन्।
दाहालको अहिलेको अवस्था त्यस्तो सेनापतिको जस्तो छ, ऊ युद्धको मैदानमा विपक्षीसँग लड्नका लागि सबैभन्दा अगाडि छ, तर उसका पछाडि आफ्नै सैनिक भने छैनन्। सरकारमा रहेका माओवादी खेमाका मन्त्रीहरू दाहाललाई साथ दिएर आफ्नो पद दाउमा लगाउन चाहँदैनन् भने सरकारमा नरहेकाहरू चाहिं ओलीको विश्वास आर्जन गर्दै आगामी पुनर्गठनमा मन्त्री पद सुरक्षित गर्न लालायित देखिन्छन्। हिजोसम्म दाहालका पक्षमा आवाज निकाल्नेहरूले आज अकस्मात ‘यू टर्न’ लिएका छन्।
दाहालको तेजोबधको पछिल्लो ‘स्ट्राटेजिक असल्ट’ चाहिं ओली–दाहाल सहमतिमा गएको ३० साउनमा ‘पार्टीभित्रको गतिरोध अन्त्यका लागि’ कार्यदलको गठन थियो। ओली, दाहाल र नेपाल गुटका दुई–दुई गरी ६ सदस्यीय कार्यदलको गठनको मूल उद्देश्य ओलीका निम्ति बाँकी साढे दुई वर्षको प्रधानमन्त्रीको कार्यकाल सुनिश्चित गर्नु थियो। अनुमान गरिए जस्तै कार्यदलले ओलीलाई बाँकी समयका लागि पनि प्रधानमन्त्रीमा निरन्तरता दिने र दाहालको कार्यकारी अध्यक्ष थप व्यवस्थित गर्दै आगामी चैतको पार्टी महाधिवेशन पछि पार्टीको एकल अध्यक्षमा उठाउने सुझाव दिएको छ।
आफ्नै सहमतिको कार्यदलको सुझावसँगै अब दाहालको ओलीबाट दुवै पदबाट राजीनामा दिनुपर्ने माग स्वतः अमान्य भएको छ। २ जेठ २०७५ को आधा कार्यकालको सहीछापको लिखतलाई ठेंगा देखाउने र ३ मंसीर २०७६ को कार्यकारी अध्यक्षको सहमतिलाई लोप्पा खुवाउने ओलीले दाहाललाई आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि समर्थन गर्नेछन् भनेर कसैले विश्वास गर्दछ भने त्यो स्वैरकल्पना भन्दा बढी हुने छैन।
संयोग कस्तो भने, सिङ्गो माओवादी दललाई नै ओली चुँडिएको चङ्गासँग तुलना गर्दथे। अहिले त्यसै दलका नेतृत्वकर्ता पुष्पकमल दाहाल ओलीसँगको लामो समयसम्मको टकराव पछि चुँडिएको चङ्गा सरी भएका छन्। चङ्गाको विम्बमा भन्नुपर्दा, गएको १७ वैशाखमा राजीनामाको मुद्दालाई लिएर जुधेका ओली र दाहाल नामका दुई चङ्गामध्ये दाहाल अहिले चेट् भएका छन्। र, त्यो चुँडिएको चङ्गा अब कहाँनेर खस्नेछ भन्ने चाहिं चुँडाल्ने अर्थात् ओलीकै उर्दू भाषामा भनिए जस्तो ‘रहम–ओ–करम’ (दया) मा निर्भर रहनेछ।