यति धेरै प्रहरीमा कसरी भयो कोरोना संक्रमण ?
अहिलेसम्म करीब दुई हजार प्रहरीमा कोरोना संक्रमण भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार, भीड नियन्त्रणमा खटिएका, विपद्को उद्धार कार्यमा जुटेका र सडकमा ट्राफिक व्यवस्था मिलाउन खटिएका प्रहरीमा संक्रमण धेरै देखिएको छ।
देशभर कोरोनाभाइरस संक्रमितको संख्या दैनिक उकालो लागिरहेको छ। एक हजार भन्दा धेरै संक्रमित रहेका जिल्ला नै ११ पुगेका छन्। संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले झण्डै चार महीना बन्दाबन्दी गर्यो। त्यसपछि करीब चार साता बन्दाबन्दी खोल्यो। तर, संक्रमण रोकिनुको साटो झन् बढ्यो। त्यसपछि सरकारले आवश्यकताका आधारमा बन्दाबन्दी र निषेधाज्ञा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरूलाई सुम्पेपछि अहिले अधिकांश जिल्लामा निषेधाज्ञा जारी छ।
काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा २४ भदौसम्म लम्ब्याइएको छ। १८ भदौसम्मको तथ्यांक अनुसार, देशभर संक्रमितको संख्या ४२ हजार नाघ्दा नेपाल प्रहरीका मात्र एक हजार ९६० जना संक्रमित भएका छन्। यीमध्ये एक हजार १४७ जनाको उपचार भइरहेको छ भने ८१३ जना निको भएर फर्किएका छन्।
“भीड नियन्त्रणमा खटिने, विपद्का वेला उद्धारमा जुट्ने, साथै अपराध अनुसन्धान र नियन्त्रणमा खटिएका प्रहरीमा संक्रमण देखियो। प्रहरी सबैतिरबाट संक्रमणको जोखिममा पर्ने अवस्था आएको देखिन्छ।” - कुवेर कडायत, प्रवक्ता, नेपाल प्रहरी
नेपाल प्रहरीमा अहिलेसम्म कोरोना संक्रमण हुने उच्च अधिकारीमा एकजना प्रहरी नायव महानिरीक्षक (डीआईजी) छन्। उनी अहिले निको भइसकेका छन्।
सडक नै असुरक्षित
कोरोनाभाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि गरिएको बन्दाबन्दी र निषेधाज्ञामा फ्रन्टलाइनमा खटिएका यति धेरै प्रहरी कसरी संक्रमित भए ? प्रहरी प्रधान कार्यालयले संकलन गरेको विस्तृत विवरणले यसका थुप्रै कारण देखाउँछ। नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेर कडायत भन्छन्, “भीड नियन्त्रणमा खटिने, विपद्का वेला उद्धारमा जुट्ने, साथै अपराध अनुसन्धान र नियन्त्रणमा खटिएका प्रहरीमा संक्रमण देखियो। प्रहरी सबैतिरबाट संक्रमणको जोखिममा पर्ने अवस्था आएको देखिन्छ।”
हुन पनि यति भयावह महामारीको वेला समेत प्रहरी भीड नियन्त्रण, जुलुश प्रदर्शन आदि रोक्ने काममा केन्द्रित हुनुपरेको छ। बिहीबार मात्र ललितपुरको पुल्चोकमा निषेधाज्ञाकै बीच रातो मत्स्येन्द्रनाथको रथ यात्रा निकाल्न खोज्दा प्रहरीले रोक्यो। सयौंको भीड सामेल रथ यात्रालाई रोक्न खोज्दा प्रहरीसँग झडप भयो। त्यस क्रममा सयौंको भीडमा प्रहरी मिसिनुपर्ने अवस्था आयो। त्यो भीडमा कोही कोरोना संक्रमित भएमा धेरै प्रहरी एकसाथ संक्रमणको जोखिममा पर्नेछन्।
यसबीचमा काठमाडौं उपत्यकामै प्रहरीले माइतीघर मण्डल, बालुवाटार लगायत ठाउँमा भएका भीडभाडयुक्त प्रदर्शन नियन्त्रण गर्नुपर्यो।
प्रहरी प्रवक्ता कडायत नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्नुपर्ने निकाय भएकाले प्रहरीमा कोरोना संक्रमणको जोखिम झन् बढेको बताउँछन्। कडायतका अनुसार, सडकमा यातायात व्यवस्थाका लागि खटिने ट्राफिक प्रहरीदेखि फिल्डमा खटिएका प्रहरीमा अरुभन्दा धेरै संक्रमण देखिएको छ।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण अनुसार, अहिले उपचाररत संक्रमित प्रहरीमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ४७८ जना छन्। यसमा महानगरीय प्रहरी वृत्तहरुमा कार्यरत प्रहरी र ट्राफिक प्रहरी बढी छन्। यी दुवै नागरिकको प्रत्यक्ष सम्पर्कमा रहने जिम्मेवारी हुन्।
प्रहरी प्रधान कार्यालयमै कार्यरत ८४ जना संक्रमित प्रहरी उपचाररत छन्। प्रहरी प्रधान कार्यालयमा गाडी चलाउने चालकहरू धेरै संक्रमित छन्, जो नियमित रूपमा बाहिर निस्किरहन्छन्।
प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको विवरण अनुसार, अहिले उपचाररत संक्रमित प्रहरीमध्ये सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ४७८ जना छन्। यसमा महानगरीय प्रहरी वृत्तहरुमा कार्यरत प्रहरी र ट्राफिक प्रहरी बढी छन्।
त्यसैगरी, प्रदेश १ मा १९८, प्रदेश २ मा ११५, बागमती प्रदेशमा (प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका बाहेक) ५५, गण्डकी प्रदेशमा ८७, प्रदेश ५ मा ७८, कर्णाली प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा १५ जना प्रहरी उपचाररत छन्।
प्रहरी प्रवक्ता कडायत दैनिक रुपमा फिल्डमा खटिने र नागरिकसँग प्रत्यक्ष सम्बन्ध राख्ने इकाईका प्रहरीमा बढी संक्रमण देखिएको बताउँछन्। "अपराध नियन्त्रण, विपद्को उद्धार, भीड नियन्त्रणमा खटिँदा त्यहाँ रहेको कोही व्यक्ति संक्रमित छ कि छैन भनेर विवरण खोज्न सम्भव हुने कुरा भएन”, एसएसपी कडायतले भने, “त्यस्तो वेला शान्ति-सुरक्षा कायम गराउने र नागरिकको जीउज्यान जोगाउने नै प्रहरीको पहिलो दायित्व हुने भएकाले सुरक्षाका उपाय अपनाउने, सजग हुने, तयारी गर्ने समय नै नहुँदो रहेछ।”
समय नपाउने मात्र होइन, सुरक्षितसाथ ड्युटीमा खट्न प्रहरीसँग पर्याप्त सुरक्षा सामग्री पनि छैनन्। बन्दाबन्दीका वेला समेत कैयौं प्रहरी कपडाको सामान्य मास्कका भरमा सडकमा खटिएका थिए। सरकारले महामारीसँग जुध्न फ्रन्टलाइनमा खटिने प्रहरी लगायत सुरक्षाकर्मीलाई प्रोत्साहन भत्ता दिने भने पनि करीब ६ महीनासम्म त्यो भत्ता उपलब्ध गराइएको छैन। यसले प्रहरीको मनोबलमै असर गरेको छ।
सुरक्षा व्यवस्थाकै चिन्ता
सबैतिर प्रहरीमा संक्रमण बढ्दै जानुले देशमा कानून व्यवस्था र शान्ति सुरक्षा बहालीमै गम्भीर असर पर्ने बताउँछन्, पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) केशव अधिकारी। कोरोना संक्रमणको महामारीको असरसँगै प्रहरीमा जागिरप्रतिको मोह भंग हुनसक्ने पनि उनी देख्छन्।
“ब्यारेकको एउटै कोठामा २० /२५ जना बस्नुपर्छ, सामान्य अवस्थामा नै समस्या हुन्थ्यो भने अहिले त झन् जोखिम छ। एउटालाई लागे सिंगो ब्यारेकमै संक्रमण फैलिन सक्छ।” - केशव अधिकारी, पूर्व डीआईजी
“एकातिर प्रहरीमा माग अनुसारको जनशक्ति व्यवस्था हुन सकेको छैन, अर्कोतिर भएको जनशक्ति पनि संक्रमित भएर ब्यारेकमै थन्किनुपर्ने अवस्था आए बाहिरको प्रतिकूल अवस्थालाई थेग्न को आउँछ?”, अधिकारी भन्छन्, “ब्यारेकको एउटै कोठामा २० /२५ जना बस्नुपर्छ, सामान्य अवस्थामा नै समस्या हुन्थ्यो भने अहिले त झन् जोखिम छ। एउटालाई लागे सिंगो ब्यारेकमै संक्रमण फैलिन सक्छ।”
तर, प्रहरी प्रवक्ता कडायत अहिलेसम्म प्रहरीको नियमित काममा कुनै असर नपरेको दाबी गर्छन्। संक्रमित भएकामध्ये आधाभन्दा बढी निको भएर काममा फर्किसकेको कडायत बताउँछन्। “हामीसँग रिजर्भ फोर्स हुन्छ। हरेक प्रदेशमा यसको व्यवस्था गरिएको हुन्छ। अहिलेसम्म काममा कुनै बाधा परेको छैन”, कडायतले हिमालखबरसँग भने।
यद्यपि, संक्रमणको जोखिम बढ्दै गए समस्या हुन सक्ने उनी बताउँछन्। कडायतका अनुसार, स्वास्थ्यकर्मीहरू संक्रमणको उच्च जोखिममा रहे पनि प्रहरी त्योभन्दा झन् बढी जोखिममा छन्। किनभने प्रहरीले स्वास्थ्यकर्मी जस्तो सुरक्षाको तयारी पनि गर्न पाउँदैनन्।
"प्रहरीभित्र संक्रमण बढ्दै गए आन्तरिक सुरक्षादेखि अपराध नियन्यत्रणसम्मै असर पर्छ। यसले प्रहरीका अन्य दैनिक जिम्मेवारीमा ‘ग्याप’ गराउँछ। एउटा युनिट नै लकडाउन गर्नुपर्ने अवस्थामा त्यसले धेरैतिर असर पुर्याउँछ।" - हेमन्त मल्ल, पूर्वडीआईजी
स्वास्थ्य सुरक्षाका न्यूनतम सामग्रीबिना नै प्रहरी ड्यूटीमा खटिनुपर्ने बाध्यता रहेको पूर्वडीआईजी अधिकारी बताउँछन्। “गुणस्तरीय मास्कबिना प्रहरीले भीडसँग ‘डिफेन्स’ गरिरहनुपरेको छ। पञ्जा समेत मागेर काम चलाउनुपरेको छ”, उनी भन्छन्, “राज्यले यसमा ध्यान दिनुपर्छ। सघन प्राथमिकतामा राखेन भने ठूलो समस्या निम्तिन्छ। चिकित्सकले निश्चित समूहसँग ‘फेस’ गर्नुपर्छ। प्रहरीलाई त्यो सुविधा नभएकाले उनीहरु बढी जोखिममा छन्।”
पूर्वडीआईजी हेमन्त मल्ल ठकूरी पनि प्रहरीभित्र संक्रमण बढ्दै गए आन्तरिक सुरक्षादेखि अपराध नियन्यत्रणसम्मै असर पर्ने बताउँछन्। “यसले प्रहरीका अन्य दैनिक जिम्मेवारीमा ‘ग्याप’ गराउँछ। एउटा युनिट नै लकडाउन गर्नुपर्ने अवस्थामा त्यसले धेरैतिर असर पुर्याउँछ”, मल्लले भने। संक्रमण फैलिन नदिन ब्यारेकको बसाइ परिवर्तन गर्ने, सानो ठाउँमा धेरै जना नबस्ने, सिफ्ट मिलाएर ड्यूटी गर्ने, बाहिरको ड्यूटीमा खटिनेको संख्या घटाउने जस्ता काम गर्नुपर्ने मल्लको सुझाव छ।
“दैनिक ड्यूटी गर्नुपर्ने प्रहरीको बाध्यता छ, त्यही बाध्यता संक्रमण जोखिमको कारण पनि बनेको छ। तर, ड्यूटी त गर्नपर्यो। अर्को, सहकर्मी र आफन्तसँग बस्दा सर्दैन भन्ने भ्रमले पनि जोखिम निम्त्याउँछ”, पूर्वडीआईजी मल्लले भने।
सुरक्षा निकायमा प्रहरी नै बढी संक्रमित
तथ्यांक अनुसार तीन वटा प्रमुख सुरक्षा निकायमा प्रहरीमै सबभन्दा धेरै संक्रमित भेटिएका छन्। सशस्त्र प्रहरीमा ६२२ जना संक्रमित भएकामा ३०५ जना निको भइसकेका छन्। नेपाली सेनाका ५०८ जनामा संक्रमण पुष्टि भएकोमा १२६ जना निको भइसकेका छन्।
नागरिकसँग प्रत्यक्ष सम्बन्ध कमै हुने सशस्त्र प्रहरी र नेपाली सेनामा कसरी भित्रियो त संक्रमण ? नेपाली सेनाका प्रवक्ता, सहायकरथी सन्तोषवल्लभ पौडेल भन्छन्, “क्वारेन्टिन र आइसोलेसनको सुरक्षामा सेना खटिएको छ। सबैभन्दा मुख्य कुरा, कोभिड–१९ बाट मृत्यु भएकाको शव व्यवस्थापन र उद्धार गरेर ल्याइएकालाई होल्डिङ सेन्टरसम्म लैजाने जिम्मेवारीमा पनि सेना नै खटिएको छ। यसले संक्रमणको जोखिम बढेको हो”, प्रवक्ता पौडेलले भने।
सेनाभित्र पहिलो केस ३ जेठमा देखिएको थियो। कारागारको जिम्मा पनि सेनालाई हुँदा संक्रमणको जोखिम बढेको उनको भनाइ छ।
सशस्त्र प्रहरीका प्रवक्ता, डीआईजी राजु अर्याल पनि बन्दाबन्दी कार्यान्वयन र भीड नियन्त्रण गराउने क्रममा खटिएका सशस्त्र प्रहरीमा संक्रमण देखिएको छ। यस्तै, स्वास्थ्यकर्मीको सहयोगमा खटिएका, क्वारेन्टिनको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमा पनि संक्रमण देखिएको उनले बताए।