वामदेवको सिफारिशसँगै पदमुक्त हुन लागेकै हुन् अर्थमन्त्री खतिवडा?
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि सिफारिश गर्ने निर्णय गरेको छ।
सचिवालयको निर्णयसँगै अब गौतमलाई मन्त्रिपरिषद बैठकबाट राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिलाई सिफारिश गरिनेछ। नेकपाभित्र विवाद भएकाले ६ महीनादेखि उक्त पद रिक्त थियो।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत अर्थमन्त्री युवराज खतिवडाको दुईवर्षे कार्यकाल गएको २० फागुनमा सकिएको हो। खतिवडाको ठाउँमा उपाध्यक्ष गौतमलाई सिफारिश गर्ने निर्णय गएको १४ फागुनको नेकपा सचिवालय बैठकले गरेको थियो।
तर, प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले खतिवडालाई नै निरन्तरता दिने अडान लिएपछि उक्त पद रिक्त थियो। ओलीको यही अडानपछि नेकपामा विवाद र शक्ति संघर्ष चुलिएको थियो। त्यो अवस्था तन्किंदै गएर नेकपालाई विभाजनकै सँघारमा पुर्याएको थियो।
संघीय संसदको सदस्य नभए पनि ६ महीना मन्त्री रहन सक्ने संवैधानिक प्रावधानका कारण खतिवडाले त्यसपछि पनि अर्थमन्त्रीमा निरन्तरता पाएका थिए। त्यसपछि उनले अर्थसँगै सञ्चार तथा सूचनाप्रविधि मन्त्रीका रुपमा सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाएका थिए।
तर, बिहीबारको निर्णयसँगै खतिवडा २० भदौदेखि मन्त्री पदबाट स्वतः मुक्त हुनेछन्।
एक सचिवालय सदस्यका अनुसार, बिहीबार गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय मात्र भएको छ। खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने प्रधानमन्त्री ओलीको चाहनाअनुसार नेकपाका मनोनीत कुनै राष्ट्रिय सभा सदस्यलाई फिर्ता बोलाएर त्यो ठाउँमा खतिवडालाई नै मनोनीत गर्ने तयारी भइरहेको चर्चा पनि चलेको थियो।
तर, बिहीबारको बैठकमा यस विषयमा कुनै छलफल भएन।
“आज यसबारेमा कुनै छलफल पनि नभएकाले हामीले चाहिं अर्थमन्त्री खतिवडा अब पदमुक्त हुनुहुन्छ भन्ने बुझेका छौं”, ती सचिवालय सदस्यले भने।
अर्थात् प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका तर्फबाट राष्ट्रिय सभामा रहेका कुनै सदस्यलाई फिर्ता बोलाउन सकेनन् भने अर्थमन्त्री खतिवडा २० भदौमा स्वतः पदमुक्त हुनेछन्।