अहिलेसम्मकै सर्वाधिक संख्यामा थपिए संक्रमित, एकैदिन १२२८ जनामा संक्रमण, ९१७ निको भए
पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सर्वाधिक संख्यामा कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, ३९४ महिला र ८३४ पुरुष गरी एक हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ।
राजधानी उपत्यकामा मात्रै ४४५ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ। राजधानी उपत्यका बाहेक सर्लाहीमा १०९ जनामा संक्रमण पुष्टि भएको छ।
प्रदेश–२ का अन्य जिल्लाहरु धनुषामा ६४, पर्सामा ६५ र बारामा ७१ जनामा संक्रमण पुष्टि भएको छ। बिहीबार थपिएको सहित संक्रमित संख्या ४२ हजार ८७७ पुगेको छ। पछिल्लो २४ घण्टामा ९१७ जना संक्रमित निको भएका छन्।
अहिलेसम्म २४ हजार २०७ जना निको भएका छन्। अर्थात्, संक्रमित मध्ये ५६ प्रतिशत निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
देशभरका संस्थागत र होम आइसोलेसन गरी १८ हजार ४१३ जना संक्रमित उपचारत छन्। संस्थागत तर्फ प्रदेश १ मा ९९०, प्रदेश २ मा ८५२, बागमती प्रदेशमा पाँच हजार ७०६, गण्डकी प्रदेशमा ६८०, प्रदेश ५ मा एक हजार १३२, कर्णाली प्रदेशमा ३६८ र सुदूरपश्चिम प्रदेशमा ९४३ जनामा उपचारत छन्।
घरमै उपचार गराउनेमा प्रदेश १ मा ७१५, प्रदेश २ मा चार हजार तीन सय, बागमती प्रदेशमा दुई हजार ५०, गण्डकी प्रदेशमा ४३, प्रदेश ५ मा ४१८, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा १२९ जना छन्।
कोरोना संक्रमणबाट बिहीबार थप ६ जनाको मृत्यु भएको छ। यो सहित संक्रमणबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ।