पुल्चोकमा रथ तान्नेहरूबाट कुटिएका ट्राफिक प्रहरीको अल्का अस्पतालमा उपचार हुँदै
ललितपुरको पुल्चोक नजिकै प्रदर्शनकारीबाट एक प्रहरी जवान कुटिएका छन्। प्रदर्शनकारीको कुटाइबाट घाइते भएका ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेको जावलाखेलस्थित अल्का अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको, हातखुट्टा, ढाडमा चोट लागेको प्रहरीले बताएको छ।
रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीले अवरोध गरेपछि आक्रोशित भीडले ट्राफिक प्रहरी जवानको मोटरसाइलकमाथि प्रहार गर्दै उनलाई लछारपछार पारेका थिए। त्यसअघि प्रहरी र रथ तान्ने समूह बीच झडप भएको थियो। भीडलाई नियन्त्रणमा लिन प्रहरीले पानीकाे फोहरा प्रहार गरेको थियो।
स्थिति तनावपूर्ण बनेपछि जावलाखेल, पुल्चोक र मंगलबजारबाट आउने सवारी साधनलाई ‘डाइभर्ट’ गर्ने भनिएको थियो। मंगलबजारबाट आउने सवारीलाई रोक्न अघि बढेका ट्राफिक प्रहरी जवान घिमिरेलाई प्रदर्शनकारीले आक्रमण गरेकाे प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले आक्रमणमा संलग्नलाई पहिचान गरेर कानूनी कारबाही गरिने बताए। ललितपुर प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले अहिलेसम्म कसैलाई नियन्त्रणमा लिइ नसकिएको बताए।
रामेछापको चोप्राङमा दरबन्दी भएका प्रहरी जवान घिमिरे हाल महागनरीय ट्राफिक प्रहरी प्रभाग मंगलबजारमा कार्यरत छन्।