नेकपा सचिवालय बैठक शुरु
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ। केहीबेर अगाडि बैठक शुरु भएको हो।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टी विवाद समाधानका लागि सुझाव प्रस्तुत गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ। महासचिव विष्णुप्रसाद पौडेल संयोजकत्वको कार्यदलले पार्टी विवाद हल गर्न १६ बुँदे सुझाव बुझाएको छ।
६ भदौमा नै कार्यदलले प्रतिवेदनमाथि छलफल गर्न १३ भदौमा सचिवालय बैठक बोलाइएको थियो। तर, सचिवालय सदस्यहरू ईश्वर पोखरेल र रामबहादुर थापा कोरोना संक्रमितको सम्पर्कमा देखिएपछि आज सचिवालय बोलाइएको हो।
कार्यदलको प्रतिवेदनसँगै, राष्ट्रिय सभा सदस्यमा कसलाई मनोनित गर्ने भन्नेमा पनि छलफल हुनेछ। युवराज खतिवडाको दुई वर्षे कार्यकाल गएको २० फागुनमा नै सकिएको थियो। खतिवडालाई २० भदौसम्म राष्ट्रिय सभामा पुनःमनोनित नगरिए स्वतः पदमुक्त हुँदैछन्।
खतिवडा अहिले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारीमा छन्। तर, खतिवडाको ठाउँमा आफू जान तयार भएको नेकपा उपाध्यक्ष वामदेव गौतमले बताएका छन्।