महामारीको असरः व्यवसाय नै छाड्दैछन् ब्युटी पार्लर व्यवसायी
कोरोनाभाइरस संक्रमण जोखिमको कारण ब्युटी पार्लरहरु लामो समयदेखि खोल्न नपाउँदा स्थायी रुपमा नै बन्द हुन थालेका छन्।
ललितपुरको सानेपामा पाँच वर्षदेखि ब्युटी पार्लर चलाइरहेकी शर्मिला कार्कीले व्यवसाय नै छाडेकी छिन्। महामारीका कारण लामो समय बन्द गर्नुपरेको कारण महँगो भाडा तिर्न नसकेपछि व्यवसाय नै छाडेको उनी बताउँछिन्।
दुई कर्मचारी पनि राखेकी उनले बन्दाबन्दीअघि ‘होम सर्भिस’ पनि दिने गरेकी थिइन्। तर, बन्दाबन्दीमा समस्या हुन थालेपछि तीन महीनाअघि कर्मचारीलाई बिदा दिइन्। कहिले खुल्ने अनिश्चित भएको र महँगो भाडा तिर्नु परेकाले अहिले पार्लर स्थायी रुपमै बन्द गरिसकेकी छिन्।
यही व्यवसायबाट जीविका चलाइरहेकी उनी आर्थिक रुपमा समस्यामा पर्न थालेकी छिन्। अहिले पार्लरका सबै सामान आफू बस्ने कोठामा राखेकी उनले अवस्था सामान्य भएपछि फेरि खोल्ने/नखोल्ने विचार गर्ने बताइन्। उनी भन्छिन्, “पाँच महीनासम्म महँगो भाडा तिरेर राखेँ। जेठसम्म त कर्मचारीलाई पनि तलब दिएकी थिएँ। अब निषेधाज्ञा नै खुले पनि मेरो व्यवसाय चल्दैन।”
सौन्दर्य व्यवसायी संघका अनुसार, नेपालभर करीब चार लाख सौन्दर्य व्यवसायी छन्। बन्दाबन्दीपछि करीब ३० प्रतिशतले व्यवसाय नै छाडेका छन्।
कर्मचारीलाई तलब दिन तथा घरभाडा तिर्न नसकेकै कारण ब्युटी पार्लरहरु स्थायी रुपमै बन्द भइरहेको सौन्दर्य व्यवसायी संघले जनाएको छ। भौतिक रुपमा नजिक भएर काम गर्नुपर्ने हुनाले अवस्था सामान्य भइसकेपछि पनि सञ्चालन गर्न कठिन हुने संघकी अध्यक्ष तथा सौन्दर्यविद् कमला श्रेष्ठले बताइन्।
संघका अनुसार, नेपालभर करीब चार लाख सौन्दर्य व्यवसायी छन्। बन्दाबन्दीपछि करीब ३० प्रतिशतले व्यवसाय नै छाडेको श्रेष्ठ बताउँछिन्। उनी भन्छिन्, “यही क्षेत्रबाट परिवार पालिरहेका दिदीबहिनीहरु पनि छन्। पछिल्लो समय साह्रै अप्ठ्यारो अवस्था सिर्जना भएको छ। न बेच्न सकिन्छ, न चलाउन।”
बन्दाबन्दी खुलेपछि पनि सरकारले सञ्चालनको अनुमति नदिएपछि सौन्दर्यकला व्यवसायीहरुले स्वास्थ्य सुरक्षाको मापदन्ड पुर्याएर खोल्न पाउनुपर्ने माग गरेका थिए। त्यसको सम्पूर्ण जिम्मेवारी संघले लिने भन्दै रक्षामन्त्री ईश्वर पोख्रेललाई ज्ञापनपत्र पनि बुझाएका थिए। त्यसबारे कुनै जानकारी नआउँदै निषेधाज्ञा जारी भएपछि अब तत्काल खोल्न सकिने अवस्था नरहेको संघकी अध्यक्ष श्रेष्ठले बताइन्।
अधिकांशले बिदा गरिसके कर्मचारी
काठमाडौंको शंखमूलमा पार्लर संचालन गरिरहेकी गीता कुँवरले बन्दाबन्दीअघि दैनिक रु.३ हजारसम्म आम्दानी गर्थिन्। तर, अहिले पार्लर बेच्ने मनसाय बनाएको बताउँछिन्।
पार्लर ६ महीनादेखि बन्द छ। तलब दिन नसकेपछि कर्मचारी पनि बिदा गरिसकेकी छिन्। कोठा भाडा तिर्न पनि मुश्किल परिरहेकाले बेच्ने मनसाय बनाएको उनको भनाइ छ। “हाम्रो त दूरी राखेर काम गर्ने सम्भावना हुँदैन। अब पार्लर बेच्ने त भनेको तर, किन्ने पो कसले होला र?” उनी भन्छिन्।
नैकापकी रामदेवी डंगोलले पार्लर सञ्चालन गरेको १५ वर्ष भयो। उनको आफ्नै घरमा पार्लर छ। बन्दाबन्दी खुलेसँगै पार्लर सञ्चालन गर्न थालेकी थिइन्। तर, सरकारले फेरि निषेधाज्ञा जारी गरेपछि बन्द गरिन्।
पार्लरमा नियमित काम गर्ने एक कर्मचारी राखेकी छिन्। बिहे, तीज, दशैंको सिजनमा चार जनासम्म कर्मचारी राख्थिन्। यो वर्ष भने कोरोनाभाइरसले पार्लर खोल्नै नपाउँदा एक जना कर्मचारीलाई पनि बिदा गरेकी छिन्।
उनको घर वरपरकै व्यक्ति संक्रमित छन्। त्यसैले निषेधाज्ञा खुले पनि पार्लर खोल्न सकिने अवस्था नभएको उनी बताउँछिन्। पार्लरबाटै जीविका चलाइरहेकी डंगोल व्यवसाय ठप्प हुँदा अब के गर्ने भन्ने चिन्ता बढेको बताउँछिन्।
जमलस्थित सौम्या ब्युटी पार्लर एन्ड नेल आर्ट ट्रेनिङ सेन्टर पनि चैतदेखि बन्द छ। ६ जना कर्मचारी रहेको पार्लरले बन्दाबन्दीपछि एक महीनाको मात्रै भाडा बुझाउन सकेको पार्लर संचालक तथा ब्युटिसियन शारदा थापाले बताइन्। कर्मचारीलाई पनि चैतको आधा तलब मात्र दिइएको छ।
बन्दाबन्दीअघि नै ‘ब्राइडल मेकअप’ (बेहुली मेकअप) को लागि बुकिङ भएको थियो। बन्दाबन्दीले सबै रद्द भयो। उनी भन्छिन्, “बन्द भएको ६ महीना हुनै लागिसक्यो। अब के खाने भन्ने अवस्था आउन लाग्यो।”
बन्दाबन्दीअघि २५ जना प्रशिक्षार्थी थिए। उनीहरुको कक्षा पनि पूरा हुन पाएको छैन। बन्दाबन्दी खुलेसँगै पार्लर खुलेको थियो। भाडा तिर्न सहज होस् भनेर आफन्तहरु नै आइदिएपछि काम पनि पाएकी थिइन्। तर, निषेधाज्ञाले फेरि बन्द गर्नु परेको उनी बताउँछिन्।