ढोरपाटन बाढी–पहिरो अपडेट: १० जनाको शव भेटियो, ४१ बेपत्ता
बागलुङको ढोरपाटन नगरपालिकामा गएराति गएको बाढी–पहिरोमा बेपत्ता भएकामध्ये १० जनाको शव फेला परेको छ।
ढोरपाटनको ७, ८ र ९ वडाको तटीय बस्तीमा भूजी खोलाको बाढी पस्दा ४१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। बेपत्ताको संख्या अझ बढ्न सक्ने प्रहरीको अनुमान छ। बाढीमा परेर ढोरपाटन नगरपालिका–४ दुनेपोखराका १५ वर्षीय महेन्द्र पुन, २८ वर्षीया सरीता घर्ती, ४२ वर्षीय धर्मेन्द्र पुन र ५४ वर्षीया बेलमती पुन घाइते भएका छन्।
फेला परेको शवको पहिचान भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले बताए। बाढीले ३१ घरमा पूर्ण क्षति पुर्याएको छ। “हालसम्म ४१ जना बेपत्ता भएको सूचना स्थानीयवासीबाट प्रहरीलाई प्राप्त भएको छ”, उनले भने।
घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरिरहेको छ। वर्षासँगै गएराति १२ बजे आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख, प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए।