काठमाडौं उपत्यकामा संक्रमित पत्ता लगाउन यसरी हुँदैछ ‘कन्ट्याक्ट ट्रेसिङ’
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा मार्फत ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम गरिरहेका एक विज्ञ पहिलेको तुलनामा कन्ट्याक्ट ट्रेसिङको काममा केही सुधार भएको र यसकै कारण पछिल्ला दिनहरुमा धेरै संक्रमितभेटिएको बताउँछन्।
कोरोनाभाइरस संक्रमित पत्ता लगाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ विधि उपयोग गर्ने गरिएको छ। यो तरिकाबाट संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरू पहिचान गरी क्वारेन्टिनमा राख्नुका साथै परीक्षणको दायरामा ल्याइन्छ। जुन महामारी नियन्त्रणको प्रभावकारी उपाय हो।
अमेरिकाको सेन्टर फर डिजिज् कन्ट्रोल (सीडीसी) का अनुसार, रोग नियन्त्रणको मुख्य रणनीति अन्तर्गत स्थानीय र प्रदेश स्तरका स्वास्थ्यका कर्मचारीहरु परिचालन गर्नु आवश्यक हुन्छ। सीडीसीका अनुसार, यो काम गर्न समुदाय स्तरमा निजी र सरकारी निकायको सहकार्यमा स्वास्थ्यका कर्मचारीलाई तालिम दिएर क्षमता अभिवृद्धि गर्नुपर्छ।
कन्ट्याक्ट ट्रेसिङमा स्वास्थ्यकर्मी परिचालन गरेर संक्रमितलाई संक्रमण भएको अवधिभर को–को व्यक्तिसँग सम्पर्कमा पुगेको भनेर सम्झाउन सहयोग गर्न सकिन्छ। जसका आधारमा शंकास्पद बिरामी खोज्न सहज हुन्छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. वासुदेव पाण्डे साउनयता काठमाडौं उपत्यकामा भेटिएका कुल कोरोना संक्रमितमध्ये ५.६ प्रतिशत कन्ट्याक्ट ट्रेसिङबाट फेला परेको बताउँछन्। डा. पाण्डे मुलुकभर भेटिएका कोरोना संक्रमितमध्ये कति कन्ट्याक्ट ट्रेसिङबाट फेला परे भन्नेबारेको तथ्यांक भने आफूहरुसँग नभएको बताउँछन्। “सबै स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङ गरिरहेकाले त्यहाँबाट एकीकृत विवरण हामीकहाँ आएको छैन”, उनी भन्छन्।
डा. पाण्डेका अनुुसार, अहिलेसम्म सबैभन्दा धेरै सुरक्षाकर्मी र त्यसपछि फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। उनले पछिल्ला दिनहरुमा ब्यांक तथा वित्तीय संस्थाका कर्मचारी, व्यवसायी, जनप्रतिनिधि र स्थानीय तहका कर्मचारी लगायत व्यक्तिमा कोरोना संक्रमण देखिएको बताए।
प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार, १७ भदौसम्ममा देशभर कुल एक हजार ८७७ प्रहरी संक्रमित भएका छन्। यीमध्ये ८०५ जना संक्रमणमुक्त भइसकेका छन् भने १ हजार ७२ जनाको उपचार भइरहेको छ। उपचाररतमध्ये ४०० भन्दा बढी प्रहरी काठमाडौं उपत्यकाका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरमणि अधिकारी एउटै समूहमा बस्ने, आवतजावत गर्दा एउटै गाडीमा कोचिएर यात्रा गर्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने भएकाले सुरक्षाकर्मी बढी संक्रमित भएको बताउँछन्।
स्वास्थ्य मन्त्रालयका अनुसार, सुरक्षाकर्मीपछि धेरै स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। मन्त्रालयको १७ भदौसम्मको तथ्यांक अनुसार, देशभर ५२३ स्वास्थ्यकर्मी संक्रमित भएका छन्। यीमध्ये ३४२ पुरुष र १८१ महिला छन्।
स्वास्थ्य मन्त्रालयको तथ्यांकले पछिल्ला दिनहरुमा काठमाडौं जिल्ला कोरोना संक्रमणको हटस्पट बन्दै गएको देखाउँछ। १७ भदौसम्मको तथ्यांक अनुसार, काठमाडौंमा ४ हजार ६६२ संक्रमित छन्।
काठमाडौं महानगरपालिकाका कोभिड फोकल पर्सन ज्ञानबहादुर ओलीले कोरोना संक्रमित भएकामध्ये अधिकांश श्रमिक वर्ग रहेको पाइएको बताए। उनका अनुसार, कन्ट्याक्ट ट्रेसिङबाट पछिल्लो एक साताभित्र बागबजारको तरकारी बजारका बिक्रेता, उपभोक्ता र स्थानीय घरधनी गरी एकै पटक २८ व्यक्ति कोरोना संक्रमित भेटिए।
यसैगरी, महानगरपालिकाले एक साताअघि गरेको कन्ट्याक्ट ट्रेसिङका क्रममा व्यापारिक क्षेत्र असनका व्यापारी, घरधनी र मजदूर गरी एकै पटक ३३ जनालाई संक्रमण पुष्टि भयो।
पछिल्ला दिनहरूमा काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढ्दै गएका छन्। १५ भदौ, सोमबार २९८ जनामा संक्रमण पुष्टि भएको उपत्यकामा मंगलबार ४८१ र बुधबार ३८८ जना संक्रमित भेटिएका छन्।
ईडीसीडी मार्फत कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेका एक विज्ञ पहिलेको तुलनामा कन्ट्याक्ट ट्रेसिङको काममा केही सुधार भएको र यो प्रभावकारी भएकै कारण पछिल्ला दिनहरुमा धेरै संक्रमित फेला परेको बताउँछन्।
“हामीले उपत्यकाभित्रका स्थानीय तहसँग मिलेर कन्ट्याक्ट ट्रेसिङको काम गरिरहेका छौं”, उनले भने, “ईडीसीडीले स्थानीय तहका करीब २०० कर्मचारीलाई कन्ट्याक्ट ट्रेसिङबारे तालिम दिइसकेको छ।”
स्थानीय तहसँगको समन्वयमा ट्रेसिङ
ईडीसीडीले उपत्यकाभित्र भएका कोरोना संक्रमितको ठेगाना पत्ता लगाउने र त्यस अनुसारको विवरण स्थानीय तहलाई पठाएर कन्ट्याक्ट ट्रेसिङ गर्न लगाउने गरेको छ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलन मार्फत कोरोना संक्रमितको विवरण सर्वजनिक गरेपछि काठमाडौं उपत्यकामा भेटिएका व्यक्तिको विवरण ईडीसीडीमा पठाउँछ। तर, मन्त्रालयबाट आउने तथ्यांकमा संक्रमित भएको स्थान पहिचान भएको हुँदैन। उनीहरुको ठेगाना वागमती, काठमाडौं भनेर आउने भएकाले प्रत्येक संक्रमितलाई फोन गर्दै ठेगाना सोध्नुपर्ने बाध्यता रहेको ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले बताए। “ठेगाना सोध्ने काम राति ११ बजेसम्म गर्नुपरेको छ”, उनले भने।
कहिलेकाहीं त ईडीसीडीका अधिकारीहरु मन्त्रालयबाट विवरण आएको भोलिपल्टसम्म पनि संक्रमितको ठेगाना सोध्नमै व्यस्त हुने गरेका छन्।
संक्रमितको ठेगाना पहिचान भएपछि ईडीसीडीले उपत्यकाका तीन जिल्लाका जिल्ला जनस्वास्थ्य कार्यालयहरुलाई कन्ट्याक्ट ट्रेसिङ गर्न संक्रमित व्यक्तिको विवरण पठाउँछन्। जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत उक्त विवरण उपत्यकाका स्थानीय तहका स्वास्थ्य संयोजकहरुलाई पठाइन्छ।
काठमाडौं महानगरले मात्र कन्ट्याक्ट ट्रेसिङ गर्न १० वटा समूह बनाएको छ। यिनै समूहले स्थानीय तहबाट पाएको विवरण अनुसार संक्रमितलाई फोन गर्ने र उनीहरुको सम्पर्कमा रहेका व्यक्ति पत्ता लगाउने काम गर्छन्।
कन्ट्याक्ट ट्रेसिङ गर्ने एउटा समूहमा एक जना जनस्वास्थ्य अधिकृत, एक नर्स र एक प्रयोगशालाका कर्मचारी हुन्छन्।
“त्यो समूहले फोन मार्फत संक्रमितको सम्पर्कमा पुगेका व्यक्तिलाई सुरक्षित रुपमा क्वारेन्टिनमा बस्न र पाँच दिनपछि पीसीआर परीक्षण गर्न भन्ने गरेको छ”, ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीले भने।