नेकपा सचिवालय बैठक दिउँसो ३ बजेलाई सर्यो
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज दिउँसो ३ बजेका लागि सरेको छ। बिहान ११ बजेका लागि तय भएको बैठक ३ बजेलाई सरेको नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।
नेकपा वरिष्ठ नेता एवं सचिवालय सदस्य झलनाथ खनालले पनि बैठक सरेको पुष्टि गरे। “बैठक ३ बजेलाई सरेको खबर पाएँ। किन सर्यो भन्ने जानकारी छैन”, नेता खनालले हिमालखबरसँग भने।
नेकपा सचिवालय बैठकमा राष्ट्रिय सभामा मनोनित गर्न बाँकी एक सदस्यका विषयमा छलफल गर्ने तयारी छ। राष्ट्रिय सभामा कसलाई लैजाने भन्ने विषयमा नेकपा नेताहरूबीच सहमति जुटेको छैन।
पछिल्लो समय नेकपा उपाध्यक्ष बामदेव गौतमले राष्ट्रिय सभामा जाने इच्छा देखाएका छन्। यसअघि उनलाई उपनिर्वाचनमार्फत प्रतिनिधि सभामा लैजानेबारे पनि छलफल भएको थियो। तर, उनले आफू उपनिर्वाचन नलड्ने बताइसकेका छन्।
प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा मनोनित नगरी प्रतिनिधि सभाको कुनै क्षेत्र खाली गराउने र उपनिर्वाचनमार्फत् निर्वाचित गराउने बताए पनि गौतमले त्यसलाई अस्वीकार गरेका हुन्। उनले आफूलाई जसरी पनि राष्ट्रिय सभा लैजान भनेका छन्। राष्ट्रिय सभा सदस्य बनेर उपप्रधानमन्त्रीसहित अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्ने गौतमको चाहना छ।
सचिवालय बैठकले राष्ट्रिय सभामा लैजाने यसअघि नै निर्णय गरिसकेको भन्दै गौतमले त्यसलाई कार्यान्वय गर्नुपर्नेमा जोड दिएको नेकपा नेताहरू बताउँछन्। गएको पुसमा बसेको सचिवालय बैठकमा गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय भए पनि उनले त्यति बेला उक्त प्रस्ताव अस्वीकार गरेका थिए।
राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनेगरी संविधान संशोधन गर्ने भए मात्र आफू राष्ट्रिय सभामा जाने उनको मत थियो। तर, उनले अहिले राष्ट्रिय सभामा जाने इच्छा देखाएका छन्।
राष्ट्रिय सभामा कसलाई लैजाने भन्ने विषयमा हिजो नेकपा अध्यक्षद्व ओली र पुष्पकमल दाहालबीच छलफल भए पनि सहमति जुटेन। अध्यक्ष दाहालसँगको भेटपछि प्रधानन्त्री ओलीले राति बालुवाटारमा उपाध्यक्ष गौतमसँग करीब एकघण्टा छलफल गरेका थिए। भेटमा गौतमले राष्ट्रि सभा जाने इच्छा दोहोर्याएका थिए।
प्रधानमन्त्री ओली भने युवराज खतिवडालाई नै पुन: राष्ट्रिय सभामा लैजाने सोचमा छन्। अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका युवराज खतिवडाको राष्ट्रिय सभा सदस्यको पदावधि २० फागुन २०७६ मै सकिए पनि कसैलाई मनोनित गरिएको छैन।
संघीय संसद्को सदस्य नरहेको व्यक्ति समेत ६ महीनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार खतिवडालाई प्रधानमन्त्री ओलीले गएको २१ फागुनमा पुनः मन्त्रीमा नियुक्त गरेका थिए। संवैधानिक व्यवस्था अनुसार उनको पदावधि २० भदौमा सकिँदैछ। उनलाई २० भदौभित्र राष्ट्रिय सभामा मनोनित नगरिए सोही दिनदेखि उनको मन्त्री पद समाप्त हुनेछ।