ढोरपाटनको बाढी र पहिरोमा एकको मृत्यु, कम्तीमा १७ जना बेपत्ता (अपडेट)
अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा एक जनाको मृत्यु भएको छ भने कम्तीमा १७ जना बेपत्ता भएका छन्।
ढोरपाटन नगरपालिकाकी उपमेयर करमती पुन का अनुसार भुजीखोलाको मुहानबाट झरेको पहिरोले वडा नं. ९ र ८ मा ठूलो क्षति पु¥याएको छ। के कति क्षति पुग्यो त्यसको पूर्ण विवरण आइनसकेको पुनले बताइन्।
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने एक जनाको मृत्यु भएको जानकारी आएको बताए। पहिरो र बाढीले बोबाङ, सुकुर्दुङ र शेरावाङ गाउँका घर बगाएको इलाका प्रहरी कार्यालय बुर्तिवाङले जनाएको छ।
बागलुङको ढोरपाटन दैनिकका अनुसार वडा नं ८ र ९ बोबाङमा पहिरोमा परी कम्तीमा १७ जना सम्पर्कविहीन छन्। ढोरपाटन उपत्यका प्रवेश गर्ने भुजीखोलाको मुहान देउराली पहाडबाट ठूलो पहिरो खसेर गाउँमा क्षती पु¥याएको उक्त दैनिकले स्थानीय जीवन पुन मगरलाई उद्दृत गर्दै समाचार लेखेको छ।
भुजीको मुहानमा पहिरो झरेपछि खोला थुनिएको र त्यसपछि बाढी र पहिरो सँगसँगै बगेको अनुमान छ। ढोरपाटनको वडा नं. ९ बाट बग्न थालेको पहिरोले वडा नं. ८ मा रहेको तल्लो तटीय क्षेत्रमा पनि क्षति पु¥याएको हो। त्यसभन्दा तल वडा नं. ७ मा पर्ने बस्ती पनि जोखिममा परेको बताइएको छ।
उपमेयर पुनका अनुसार घटनास्थल नगरपालिका कार्यालयभन्दा करीब २५ किलोमिटर टाढा छ। प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको र आफूहरु पनि जाने तयारीमा रहेको पुनले जानकारी दिइन्।