बागलुङको ढोरपाटनमा बाढीले बस्ती बगाउँदा एकको मृत्यु, १२ जना बेपत्ता
बागलुङ जिल्लास्थित ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा मध्यराति आएको बाढीमा परी एक जनाको मृत्यु भएको छ भने करीब १२ जना बेपत्ता छन्। बाढीले कम्तिमा १० घर बगाएको छ।
सुकुर्दुङ खोलाको बाढीले बोबाङ, सुकुर्दुङ र शेरावाङ गाउँका घर बगाएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए। “रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन”, भण्डारीले भने।
अहिले उद्दार भइरहेको उनले जानकारी दिए। बस्ती सानो भएका कारण बेपत्ता भएकाहरुलाई खोलाले नै बगाएको हुनसक्ने उनको भनाइ छ।
अहिलेसम्म एक जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। राति नै घटना स्थलमा प्रहरी परिचालन गरिएको र बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थल पठाइएको उनले बताए।
घटनास्थलको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारीको टोली अहिले बिहान ढोरपाटन जान लागेको छ।