कोरोनाबाट हुने मृत्युको जोखिम कम गर्न स्टेरोइड प्रभावकारी: अध्ययन
एक अन्तर्राष्ट्रिय अध्ययनले कोभिड—१९ का गम्भीर बिरामीको जीवन बचाउन सस्तो र सहजै उपलब्ध स्टेरोइड उपयोगी हुनसक्ने निष्कर्ष निकालेको छ ।
द न्यूयोर्क टाइम्सका अनुसार तेस्रो चरणको क्लिनिकल परीक्षणबाट यस्तो नतिजा हासिल भएको बताइएको छ ।
अन्तर्राष्ट्रिय रुपमा गरिएको स्टेरोइड समुहका औषधिको क्लिनिकल परिक्षण बारे बुधबार यस्तो नतिजा सार्वजनिक भएसँगै विश्व स्वास्थ्य संगठनले स्टेरोइड प्रयोगको निर्देशिका पनि जारी गरेको छ ।
निर्देशिकामा यो स्टेरोइडले कोरोनाका सामान्य लक्षण देखिएकामा नभइ गम्भीर बिरामीको उपचारमा निकै उपयोगी हुनसक्ने बताइएको छ ।
नयाँ अध्ययनले तीन वटा स्टेरोइड समूहका औषधी बारे सात वटा क्लिनिकल परीक्षण गरेको थियो ।
यी तीन स्टेरोइड औषधी १७ सय बिरामीमा परिक्षण गरिएको थियो। वैज्ञानिकले सुझाएका यी स्टेरोइडमा डेक्सामेथासोन, हाइड्रोकोर्टिसोन र मिथाइलप्रेड्निसोलोन रहेका छन् ।
द जर्नल अफ दि अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित उक्त प्रतिवेदन र यससँग सम्बन्धित अन्य तीन अध्ययनहरुले कोरोनाका गम्भीर बिरामीमा फर्स्ट लाइन औषधिका रुपमा यी स्टेरोइड्स प्रयोग गर्न सकिने जनाएको छ ।
“यसले कोरोना संक्रमित बिरामीको उपचारमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ”, अध्ययनलाई व्याख्या गर्दै जर्नलको सम्पादकीयमा लेखिएको छ।
अध्ययनले स्टारोइड औषधिले कारोनाका बिरामीकोे मृत्युलाई एक तिहाईले घटाउने दाबी पनि गरेको छ ।
कोरोना उपचारमा डेक्सामेथासोन औषधिले अहिलेसम्मकै सबैभन्दा राम्रो नतिजा निकालेको छ ।
यो स्टेरोइड प्रयोगबाट तीन फरक परीक्षणमा १२८२ कोरोना संक्रमित बिरामीको उपचार गरिएकोमा ३६ प्रतिशतले मृत्युदर घटाएको अध्ययनले जनाएको छ।