भलिबल संघको नयाँ नेतृत्वमा मास्केको दाबी
नेपाल भलिबल संघको आसन्न निर्वाचनमा निरोज मास्केले नयाँ नेतृत्वका लागि उम्मेदवारी दिने भएकी छन्। संघको वर्तमान उपाध्यक्ष रहेकी मास्केले आसन्न साधारण सभामा नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने बताएकी हुन्।
“लामो समयको भलिबलको अनुभव र जिल्लाका साथीहरूको सुझावका आधारमा संघको आगामी नेतृत्वका लागि उम्मेदवारी दिने निर्णय लिएकी छु”, मास्केले भनिन्।
संघको वर्तमान कार्यसमितिको चार बर्षे कार्यकाल गत १ जेठमा सकिएको थियो। कोरोना महामारीका कारण सम्पूर्ण खेलकुद गतिविधि बन्द रहँदा संघले चुनावी साधारण सभाको मिति तय गरेको छैन।
राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै नयाँ नियमअनुसार संघहरूको साधारण सभा गराउने राखेपको तयारी छ। संघको साधारण सभाको औपचारिक घोषणा नभएपनि भलिबल संघको नयाँ कार्य समितिका लागि आन्तरिक गृहकार्य शुरू भइसकेको छ।
भलिबललाई अहिलेको अवस्थासम्म ल्याईपुर्याउन वर्तमान र विगतका नेतृत्वको ठूलो योगदान गरेको उल्लेख गर्दै उपाध्यक्ष मास्केले राष्ट्रिय खेललाई नयाँ उचाईमा लैजान आफूले अध्यक्षमा उम्मेदवारी दिन लागेको बताइन्।
मास्के सञ्जय स्मृति प्रतिष्ठान गठन गरेर खेलकुद तथा सामाजिक कार्यमा सक्रिय रहँदै आएकी छन्। प्रतिष्ठानले भलिबल खेलमा योगदान गर्ने दुईजना भलिबल खेलाडीलाई हरेक बर्ष ‘सञ्जय स्मृति प्रतिष्ठान सम्मान’बाट नगदसहित पुरस्कृत गर्दै आएको छ।