कोरोना अपडेट: यी ११ जिल्लामा छन् १००० भन्दा बढी संक्रमित, काठमाडौंमा पाँच हजार नाघे (इन्फोग्राफिक्स)
एक हजार भन्दा बढी कोभिड-१९ संक्रमित भएको जिल्ला ११ पुगेका छन्। काठमाडौंमा पाँच हजार भन्दा बढी संक्रमित भएका छन्।
तराईका १० जिल्ला र उपत्यकाको काठमाडौं गरी देशभरका ११ जिल्लामा कोरोना भाइरसबाट संक्रमितको संख्या एक हजार नाघेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार काठमाडौंमा पाँच हजार २६५ जना संक्रमित भएका छन्, जसको एकतिहाइ महिला छन्।
एकै जिल्लामा एक हजार भन्दा बढी संक्रमित भएका बाँकी १० जिल्ला सबै तराईका जिल्ला हुन्। पश्चिम कैलालीदेखि पूर्व मोरङसम्मका विभिन्न १० जिल्लामा प्रतिजिल्ला एक हजार भन्दा बढी संक्रमित भेटिएका हुन्।
स्वास्थ्य मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली (सूदुरपश्चिम प्रदेश), बाँके, कपिलवस्तु र रूपन्देही (प्रदेश ५) तथा मोरङ (प्रदेश १) मा एक हजार भन्दा बढी संक्रमित छन्।
बाँकी हजार भन्दा बढी संक्रमित भएका पाँच वटा जिल्लाहरू प्रदेश २ मा पर्छन्। त्यहाँका ८ जिल्लामध्ये पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा एक हजार भन्दा बढी संक्रमित छन्।
देशैभरमध्ये सबैभन्दा बढी संक्रमित काठमाडौंमा छन्। त्यसपछि क्रमश: पर्सा (२३५९) र सर्लाही (१८८०) मा छन्। रौतहटमा सर्लाहीमा भन्दा एक जना कम अर्थात् एक हजार ८७९ जना संक्रमित छन्। एक हजार भन्दा बढी संक्रमित हुने सबै जिल्लामा महिला भन्दा धेरै पुरूष संक्रमित छन्।
आज एक हजार १२० जना संक्रमित थपिएसँगै देशभर संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १८ हजार १०८ जना छन्। आज देशभर १२ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ। यससँगै मृतकको संख्या २५१ पुगेको छ।