कर्मचारी समायोजन सकियो, साउनसम्म १५ देखि २० हजार कर्मचारी भर्ना
सरकारले आजदेखि कर्मचारी समायोजनको कार्य टुंग्याएको छ ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको काम सकिएको घोषणा गरे ।
“संविधानले दिएको अधिकार अनुसार नयाँ ऐन बनाई कर्मचारी समायोजनको काम आज सम्पन्न भएको घोषणा गरिन्छ” मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पण्डितले भने, “पत्र दिनेकाम जारी छ ।”
संसारका कतिपय मुलुकमा लामो समय कर्मचारी समायोजन हुन नसकेको अवस्थामा नेपालमा भने आफूले मन्त्रालय सम्हालेको एक वर्ष १२ दिनमा कर्मचारी समायोजनको काम टुंग्याएको उनले बताए ।
मन्त्रालयका अनुसार संघमा ३९ हजार ९६०, प्रदेशमा १३ हजार ८२१ र स्थानीय तहमा ४३ हजार ८०७ कर्मचारी समायोजन भएका छन् ।
समायोजनको काम सरकारको एक वर्ष नपुग्दै टुंग्याउने गरि काम गरेको भएपनि कतिपय तथ्य तथ्याङ्कका कारण अनलाइन फारम भर्ने क्रममा कर्मचारीले ढिलाई गरेकोले समायोजन ढिला भएको बताए ।
मन्त्री पण्डितले कामलाई असर नपुग्नेगरि कर्मचारी व्यवस्थापनमा निरन्तर लागिरहेको बताए । समायोजनका विषयमा कर्मचारीका जायज गुनासोहरुलाई सम्बोधन गरिने उनको उनको भनाइ छ । “राष्ट्रसेवकलाई प्रोत्साहन गर्न उत्साहित भएर काममा पठाउन लागिरहेका छौँ”, उनले भने “आवस्यकता र औचित्यको आधारमा यो घटबढ हुनसक्छ ।”
समायोजनको क्रममा संघमा धेरै पदहरु राखेको विषयमा प्रष्ट पार्दै मन्त्री पण्डितले अवकास हुन एक वर्ष बाँकी रहेका र विशेष अवस्थाका कतिपय पदहरु संघमा राखेको बताए । “अहिलेको आवस्यकतालाई हेरेर तल पठाउन नसकिने र विदावारी पनि गर्न नसकिने भएकोले संघमा राखेको हो”, उनले भने “उनीहरु विदावारी भएर जाँदा पद पनि जान्छ ।”
उनले आगामी आर्थिकवर्षदेखि कुनै पनि सरकारी निकायमा कर्मचारीको अभाव हुन नदिनेगरि ब्यवस्था गर्न लागिएको पनि बताए । त्यसका लागि संविधानले दिएको अधिकार प्रयोग गरेर छोटो प्रकृया पु¥याएर यहि आर्थिकवर्षभित्र सबै कर्मचारी नियुक्त गरिसक्ने उनको भनाइ छ ।
“संविधानले नै प्रदेश लोकसेवा आयोग गठन नगर्दासम्म संघले नै प्रदेशका लागि राष्ट्रसेवक भर्ना गर्नै अधिकार दिएकोले स्थानीय र प्रदेशको आवस्यकता हेरीकन छोटो प्रकृया पु¥याएर यहि आर्थिकवर्षभित्र नियुक्त गर्नेगरी व्यवस्था गर्न लागेका छौँ”, मन्त्री पण्डितले भने “साउनदेखि कुनैपनि राष्ट्रसेवकको अभाव भयो भन्ने अवस्था आउन नदिने गरी त्यो व्यवस्था हुन्छ ।”
त्यसका लागि अव तत्कालै लोकसेवाले घटिमा पनि १५/२० हजारको रोजगारी खोल्न लागेको बताए ।