नेवानिले सार्वजनिक गर्यो नियमित उडानको भाडादर, कुन गन्तव्यमा कति ?
वायुसेवा निगमले नियमित व्यवासिक उडान गर्ने अनुमति पाएको युएई, मलेसिया, हङकङ र जापान गन्तव्यको उडानमा लाग्ने भाडादर तय गरेर सार्वजनिक गरेको छ। यस्तो भाडादरमा सबैभन्दा महंगो भने जापानको लागि एकतर्फी भाडादर नै रु.*८४१७० रहेको छ।
नेपाल वायुसेवा निगमले १७ भदौ देखि शुरू गरेको नियमित उडानको एकतर्फी हवाइ भाडादर सार्वजनिक गरेको छ। निगमको हवाइ भाडा पनि महँगो भएको गुनासो बढेपछि सरकारले खुला गरेका उडान गन्तव्य अनुसारको भाडादर सार्वजनिक गरेको निगमको भनाइ छ।
निगमले नियमित उडानका लागि हवाइ भाडा निर्धारण गर्दा विभिन्न चारवटा वर्गमा वर्गीकरण गरेको छ। निगमले सोही बमोजिम विभिन्न क्षेत्रका लागि नियमित उडानको भाडदरको दायरा गन्तव्य अनुसार फरक भएको पनि उल्लेख गरेको छ।
निगमले करसहित तय गरेको यस्तो भाडादरमा काठमाडौंलाई आधार बनाएर मलेसियाबाट आउँदा र युएईको दुबईबाट आउँदा चार प्रकारले भाडादर तय गरेको छ। हङकङ र जापानबाट आउँदा भने एउटा दरको मात्रै भाडा तय गरेको छ ।
यस्तो भाडामा क्वालालम्पुरबाट आउँदा मलेसियन रिंगिट अनुसार न्युनतम १४५८ (रु.४०२९८), १६२८ (रु.४८५३८), १८०३ (रु.५०८८१), २००३ (रु.५६५२५) तय गरेको छ ।
यस्तै दुबइको लागि युएई दिराम अनुसार न्युनतम १४४० (रु.४५८२१), १७२० (रु.५४७३०), १८२० (रु.५७९१२) र २१२० (रु.६७४५८) रहेको छ । यस्तै हङकङको लागि हङकङ डलर ४१९८ (रु.६३३०६) र जापानको लागि जापानी येन ७६३०० (रु.८४१७०) भाडा तय भएको वायुसेवा निगमले जानकारी दिएको छ ।
निगमले तय गरेको यस्तो हवाई भाडामा सम्पूर्ण करसमेत समावेश भएको पनि उल्लेख छ। निगमले निर्धारण गरेको भाडादर भन्दा बढी रकम तिरेर कसैले पनि टिकट खरीद नगर्न पनि यसले सम्बन्धित यात्रुलाई अनुरोध पनि गरेको छ।
उडान संख्या, यात्रु तथा वर्गीकृत क्लासमा तोकिएको सीट संख्याको उपलब्धताको अनुपातमा उल्लेखित भाडादर भने परिवर्तन हुन सक्ने निगमको भनाइ छ।
*सच्याइएको